प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कमलादीमा रहेको स्वाईवाक टावरको अवलोकन भ्रमण गरेका छन्।
प्रजातन्त्र दिवसका अवसरमा टावरको टुप्पामा नेपालको राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले बालकदेखि वृद्धसम्म सबैका लागि सहज हुने आकर्षक गन्तव्य स्काईवाक टावर रहेको प्रतिक्रिया दिएका छन्।
पत्नी राधिका शाक्य र आफ्ना सचिवालय सदस्यसहित सार्वजनिक बिदाको अवसर पारेर प्रधानमन्त्रीको भ्रमणले पर्यटन व्यवसाय क्षेत्रमा हौसला मिलेको स्काईवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए।
कुल ७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काईवाक गरिन्छ। सिसामाथि हिँडेर साहसिक मज्जा लिनका लागि काठमाडौंमा यो एक मात्र गन्तव्य हो। परियोजनाका लागि करिब २ अर्ब रुपैयाँ लगानी भएको छ।
स्काईवाकमार्फत् हेर्दा रानीपोखरी र घण्टाघर टावरको आँगनमै रहेको जस्तो भान हुन्छ। २५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चडेर र बाँकी तीन तलामा सिँढीमार्फत् माथि जान सकिन्छ।
दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ।
टावरको २५ औं तला साहसिक तला हो। त्यहाँ पुगेपछि सिसा ओच्छाइएको भुइँमा हिँड्न पाइन्छ। त्यहाँ हिँड्दा खुला आकाशमा हिँडेजस्तो अनुभव हुन्छ।