काठमाडौंको न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मका घरलाई सेतो रङ लगाइएको छ।
काठमाडौंको न्यूरोड क्षेत्रस्थित शुक्रपथका सडक आसपासका घरहरू आजभोलि एकैनासे देखिन्छन्। घरका भित्तामा सेतो रङ लगाइएको छ भने झ्यालमा हरियो रङ लगाइएको छ।
धेरैलाई न्यूरोडका घरमा किन सेतो रङ लगाइएको होला भन्ने कौतुहल छ। तर काठमाडौं महानगरका वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीका अनुसार फुटपाथ फराकिलो पार्नुका साथै बिजुलीका तारहरू हटाइएपछि उक्त क्षेत्रलाई जुद्ध शमशेर राणाको पालामा बनेका घरको झलक ल्याउने इच्छा थियो।
'जुद्ध शमशेरका पालामा बनेका घरका भित्तामा सेतो र झ्यालमा हरियो रङ लगाइन्थ्यो, त्यसैको झलक अहिले दिन सकिन्छ कि सकिँदैन भन्ने थियो,' उनले भने, 'तर एकदिन पहिलेकै शैलीमा फर्काउन सकिन्छ कि भन्ने प्रस्ताव वडा कार्यालयमा राखेँ। सबैले सहमति जनाउनुभयो।'
वडाध्यक्ष राजभण्डारीका अनुसार न्यूरोडमा हुर्किंदा उनले जुद्ध शमशेरको पालामा बनेका घरहरू सेतो रंगको देखेका थिए।
वडामा सबैले सहमति जनाएपछि उनले घरधनी र व्यापारीहरूलाई बोलाएर प्रस्ताव गरे। उनीहरूले पनि सहजै स्वीकार गरेको उनी बताउँछन्।
वडा कार्यालयको पहलमा सम्बन्धित घरधनीहरूले आफ्नै खर्चमा सेतो रङ लगाएका हुन्। विशाल बजार पनि रङ लगाएर सेताम्मे पारिएको छ। यहाँका सबै घरमा रङ लगाउन करिब ३० देखि ४० लाख रूपैयाँ लाग्ने अनुमान छ।
राणा प्रधानमन्त्री जुद्धशमशेरले १९९० सालको भुइँचालोपछि यो सडक बनाएका हुन्। त्यसैले यसलाई जुद्ध सडक पनि भनिन्छ। उनले त्यति बेलै सडक आसपासका घरमा सेतो रङ लगाएका थिए। अहिले वडा कार्यालयले त्यसैको झलक दिन खोजेको हो।
'यो काम न्यूरोड सिँगार्न गरिएको र यसले कुनै न कुनै किसिमबाट व्यापार प्रवर्द्धनमा पनि मद्दत गर्नेछ,' उनले भने।