काठमाडौं महानगरपालिकाले बुधबारदेखि काठमाडौं महानगरपालिका वडा नम्बर ५ हाँडीगाउँका केही सडकलाई एकतर्फी (वन वे) बनाएको छ।
यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन बाटो एकतर्फी गरिएको महानगरपालिकाले जानकारी दिएको छ।
महानगरपालिकाको भवन व्यवस्था समितिले पुस ५ गते निर्णय गरेर हाँडीगाउँका विभिन्न सडकलाई एकतर्फी बनाएको हो ।
एकतर्फी बनाइएका सडक
- काठमाडौं महानगरपालिका वडा नम्बर ५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग–हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने ।
- विशालनगर तर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नम्बर ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महाकाल तर्फमात्र प्रवेश गर्न पाउने।
- हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट पठाउने।
- नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनहरू वडा नम्बर ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने।
- ढुंगेधााराबाट हात्ती महांकालतर्फ प्रवेश निषेध।
- वडा नम्बर ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध।
- बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध।