ताप्लेजुङको पाथीभरा मन्दिरसम्म तीर्थयात्री र पर्यटकको पहुँच सहज बनाउन निर्माणाधीन केबलकारमा अवरोध गर्न खोजेको भन्दै फुङलिङ बजारमा प्रदर्शन भएको छ।
स्थानीयले केबलकार निर्माणलाई समर्थन गर्दै ताप्लेजुङको विकास रोक्न खोजिएको आरोप लगाएका छन्।
उनीहरूले छिटो केबलकार निर्माण गर्न पाथीभरा देवी केबलकार कम्पनीलाई आग्रह गरेका छन्।
सरकारलाई लगानीमैत्री वातावरण सिर्जना गर्न आग्रह गर्दै उनीहरूले प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका छन्।
ताप्लेजुङको विकास रोक्न बाहिरी र अन्यत्र बसाइँ सरेका व्यक्तिहरूलाई हस्तक्षेप नगर्न चेतावनी समेत दिएका छन्।
ताप्लेजुङ विकास प्रेमी युवा समाजको आयोजनामा भएको प्रदर्शनमा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाज र विभिन्न संघसंस्थाको उपस्थिति थियो।
पाथीभरामा केबलकार बने मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने भन्दै केही स्थानीयसहित छिमेकी जिल्लाका केही व्यक्तिहरूले समूह बनाएर विरोध गरेका छन्।
चार दशकअघि उठेको केबलकार निर्माणको प्रस्तावलाई २०७२ मा पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना गरेर अघि बढाइएको थियो। २०७५ मा नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार केबलकार निर्माण अनुमति प्राप्त भएको थियो।
करिब दुई वर्षअघि आइएमई समूहको प्रवेशसँगै परियोजना अघि बढ्न थालेको हो। नेपाल सरकारबाट आवश्यक कानुनी स्वीकृति प्राप्त भएपछि यसलाई राष्ट्रिय प्राथमिकताको आयोजनामा समावेश गरिएको छ।
आइएमई समूहले सातै प्रदेशमा केबलकारसहितका पर्यटकीय गन्तव्य विकास गर्ने योजनाअन्तर्गत २०७९ मा यस आयोजनामा सेयर लिएर काम अघि बढाएको हो।
कम्पनीले आवश्यक जग्गाको भोगाधिकार प्राप्त गरी नेपाल सरकारलाई सट्टाभर्ना जग्गा हस्तान्तरण गरिसकेको छ। केबलकारको अलाइनमेन्ट क्षेत्रमा पर्ने रूख कटान र डिपीआर स्वीकृत भइसकेको छ। शिलान्यासपछि भौतिक निर्माण कार्य सुरू भइसकेको छ।
यी पनि पढ्नुस्ः