विगत केही दिनदेखि पश्चिमी वायु र न्यूनचापीय प्रणाली सक्रिय रहेको मौमविद्ले बताएका छन्।
मौसमविद्का अनुसार पश्चिमी वायुका कारण यो हप्ताभरि नेपालमा बदलीको अवस्था देखिने छ।
मंगलबार र बुधबार गण्डकी, कोशी, बागमतीका पहाडी र हिमाली भेगमा वर्षा वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए।
बिहीबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा राम्रो वर्षा हुने सम्भावना रहेको उनले बताए।
काठमाडौंमा भने यो प्रणालीको प्रभाव नदेखिने उनको भनाइ छ। ‘काठमाडौंले यो हप्ता पनि बादल हेरेर चित्त बुझाउनु पर्ला जस्तो छ,’ उनले भने।
मौसमविद् शान्ति कँडेलले पनि पश्चिमी वायुको प्रभावका कारण चिसो बढे पनि काठमाडौंमा वर्षाको सम्भावना न्यून रहेको बताएकी छन्। उनले उत्तरी भेगमा हिमपात भइरहेको र पश्चिमी वायु त्यतै भएर बहने हुँदा चिसो बढेको बताइन्।
कँडेलले यो साताभरि नै बदलीको सम्भावना रहेको बताइन्।
हावापानी विश्लेषण शाखाकाअनुसार पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा मध्यम वर्षा भएको छ। माछापुच्छ्रे आधार शिविरमा १५.२ मिलिमिटर वर्षा भएको छ। लमजुङको कुन्छामा ११, गोरखाको बारपाकमा १३ मिलिमिटर वर्षा भएको छ। सिन्धुपाल्चोकको मेलम्ची घ्याङमा ४ मिलिमिटर वर्षा भएको शाखाले जानकारी दिएको छ।
हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
मंगलबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ।