भारतको ओडिसास्थित भुवनेश्वरको कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) ले माफी मागेको छ।
मंगलबार एक सूचना जारी गर्दै किटमा भएको घटनाबारे क्षमा मागेको हो।
‘हाम्रा कर्मचारीको व्यवहारबारे, हामी मान्छौं कि आवेगमा आएर केही टिप्पणीहरू भए र त्यसबाट पुग्न गएको समस्याका लागि क्षमा चाहान्छौं। हामी सबै भन्दा माथि विद्यार्थीहरूको सुरक्षा र कल्याणलाई प्राथमिकता दिन्छौं,’ सूचनामा भनिएको छ।
त्यस्तै किटले दुई जना सुरक्षागार्डलाई हटाएको, दुई जना होस्टलका वरिष्ठ अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आइआरओ) का वरिष्ठ प्रशासन अधिकारीलाई निलम्बन गरेको जनाएको छ।
शैक्षिक संस्थाका कर्मचारीहरूले विद्यार्थीहरूलाई छिटो फिर्ता ल्याउन प्रयत्न गरिरहेको पनि उक्त सूचनामा उल्लेख गरेको छ।
किट क्याम्पसले हटलाइन सेवा सुरू गरेको पनि जनाएको छ।
आइतबार साँझ रूपन्देही सिद्धार्थनगर वडा नम्बर ८ कि २० वर्षीया प्रकृति लम्साल कलेजको होस्टलमा मृत भेटिएकी थिइन्। उनी केआइआइटीमा बि-टेक तेस्रो वर्षमा अध्ययनरत थिइन्।
उनको मृत्यु भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले घटना शंकास्पद रहेको भन्दै छानबिन हुनुपर्ने माग गरेर प्रदर्शन गरेका थिए।
उक्त घटनामा प्रहरीले एक जना छात्रलाई पक्राउ गरेको इन्डियन एक्स्प्रेसले जनाएको छ। पक्राउ पर्नेमा प्रकृतिकै सहपाठी उत्तर प्रदेशका एडविक श्रीवास्तव छन्। उनीमाथि अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
पक्राउ परेका युवकविरूद्ध प्रकृतिले यसअघि पनि विश्वविद्यालय प्रशासनलाई उजुरी दिदाँ पनि कलेज प्रशासनले चासो नदिएको नेपाली विद्यार्थीको गुनासो छ। त्यसैले घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका थिए।
त्यसपछि कलेज प्रशासन उनीहरूमाथि थप निर्मम बनेको थियो।
ती सबै विद्यार्थीलाई विश्वविद्यालयले सोमबार बिहान निकालिएको भएको सूचना दिएको थियो।
त्यसपछि उनीहरूलाई कलेज निकाला गरिएको थियो। घटनाको ६ घन्टापछि विद्यार्थीहरूसँग माफी मागेर कलेज फर्किन आग्रह गरेको थियो। विश्वविद्यालयको गाडी उनीहरूलाई लिन छाडिएको स्थानमा पुगेको पनि थियो तर विद्यार्थीहरू फर्किन भने सकेनन्।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार मृतक प्रकृतिको शव ओडिसाको एक हस्पिटलमा राखिएको छ।
उनका बुवा सुनिल लम्साल सोमबार राति नै ओडिसा पुगेकाले मंगलबार शवको पोस्टमर्टम हुनेछ। पक्राउ परेका आरोपी विद्यार्थी एडविक श्रीवास्तवमाथि भुवनेश्वर प्रहरीले आत्महत्या दुरूत्साहनमा छानबिन गरिरहेको भारतीय सञ्चार माध्यहरूले जनाएका छन्।
आत्महत्या दुरूत्साहन पुष्टि भए भारतीय कानुनअनुसार ती विद्यार्थीलाई १० वर्षसम्म कैद हुनेछ।
यो पनि:
नेपाली विद्यार्थीलाई कलेज प्रवेश गराउन दिल्ली दूतावासबाट दुई अधिकारी जाँदै