पोखराको नयाँबजारमा चटपटे बेचिरहेकी लक्ष्मी कडुवालको सबै सामान नगर प्रहरीले सोमबार खोस्यो।
लक्ष्मीले मुख्य सडकपेटीमा व्यापार गरेकी थिइनन्। आफू डेरा गरी बस्ने घरको आँगनमा थिइन्। त्यही बेला चारतिरबाट नगर प्रहरीले घेरा हालेर धरपकड गर्यो। भुजा आँगनमा घोप्ट्याइदियो। चाउचाउको पोकासहित अरू सामान लग्यो।
दुई साताअघि पनि नगर प्रहरीले यसरी नै उनले बेच्न राखेको चटपटेका सामान लगेको थियो।
'त्यति बेला नगर प्रहरी सिभिल पोसाकमा आएर घर भित्रबाटै सामान खोसेका थिए,' लक्ष्मीले भनिन्।
उनी पैसा (जरिवाना) तिर्छु, सामान फिर्ता पाऊँ भनेर महानगरपालिका कार्यालय गएकी थिइन्। तर नगर प्रहरीले कहिल्यै पनि फिर्ता पाउँदिनौं भनेर पठाइदिएको उनले बताइन्।
पोखरामा उनले चटपटे बेच्न थालेको दुई महिना मात्र भयो। उनका श्रीमान गाडी चालक हुन्। उनलाई चटपटे बेच्न प्लस-टु पढिरहेकी छोरीले सघाउँछिन्।
'मेरा छोराछोरीकै अगाडि नगर प्रहरीले दुई पटक सामान लुटेको छ,' उनले भनिन्, 'महानगरपालिकाले खर्च जुटाउन दिएको छैन भनेर मेरा छोराछोरीले राम्ररी बुझेका छन्।'
लक्ष्मीका अनुसार उनले सडकपेटी वा सार्वजनिक स्थलमा बसेर चटपटे बेचेकी थिइनन्। उनको डेराघर अगाडि चौतारी छ। चौतारीका आडमा धारा जोडिएको छ। उनी आँगनमा बसेर चटपटे बेचिरहेकी थिइन्। नगर प्रहरीले भने चौतारामा बसेको आरोप लगाएको छ।
नगर प्रहरीले पोखिदिएको भुजा उठाउँदै लक्ष्मी कडुवाल'यो चौतोरी दिनदिनै सफा गर्ने मै हुँ। मैले चौतारीमा बसेर चटपटे बेचेकै छैन,' लक्ष्मीले भनिन्, 'पोखरामा काम गरेर खान नदिने भए!'
नगर प्रहरीको यस्तो व्यवहारको भुक्तमानी उनी मात्र होइनन्। गोरखाबाट स्नातक अध्ययनका लागि पोखरा आएकी जानुका नेपालीको कथा पनि त्यस्तै छ।
उनी फेवाताल किनारमा चिया बेचेर आफ्नो पढाइ खर्च जुटाउँछिन्। नगर प्रहरीले उनको चिया खोसेर लगिदिएको तीतो अनुभव उनीसँग छ।
'मैले चिया बेचेर पढाइ खर्च जुटाइरहेकी छु। तर नगर प्रहरीले चियासहितको थर्मस खोसेर लगिदिएको छ,' उनले भनिन्, 'कि मैले पढ्न छाड्नुपर्छ, कि लुकीछिपी चिया बेच्नुपर्छ।'
पढाइ छाड्नुभन्दा पोखरा महानगरका जनप्रतिनिधि, कर्मचारी र नगर प्रहरी आउँदा भाग्ने गरी चिया बेचिरहेको उनले बताइन्।
यसअघि नगर प्रहरीले चटपटे बेचेको आरोपमा अम्बिका सुनारकी नाबालिग छोरी लोकमायालाई समातेर कुटपिटसमेत गरेको थियो। पोखरा, पामेकी सेतुमाया विश्वकर्मा पनि महानगरले यसरी नै दुःख दिएको बताउँछिन्। उनका श्रीमान घरमै चट्याङमा परेर बितेपछि तीन छोरी र एक छोराको जिम्मा उनकै काँधमा छ।
छोराछोरीलाई लाउन र खान मात्र होइन, पढाउन पनि चटपटे बोकेर हिँड्नुपरेको उनले बताइन्।
'आफूले गरिखान कुनै जग्गाजमिन छैन, छोराछोरी पढाउनुपर्यो,' सेतुमायाले भनिन्, 'तर महानगरपालिकाले हामीलाई चटपटे बेचेर पनि खान दिएको छैन।'
चटपटे मात्र होइन, पोखराको सडकमा तरकारी र फलफूल पनि बोकेर हिँड्न पाइँदैन। जनप्रतिनिधि, कर्मचारी र प्रहरीले उनीहरूमाथि धरपकड गरिहाल्छन्। सामान खोसेर लैजान्छन्।
भौगोलिक हिसाबले देशकै ठूलो पोखरा महानगरमा बजारभन्दा गाउँ धेरै छन्। गाउँमा फलेका अन्न, तरकारी, फलफूल र अरू उत्पादन बेच्न बजार झर्ने यहाँको पुरानो परम्परा नै हो। तर महानगरले गाउँका उत्पादन बजारमा ल्याउन र बेच्न दिइरहेको छैन।
पोखरा महानगरका एक नगर प्रहरीले सोमबार महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीकै अगाडि सुन्तला बोकेर हिँडेका किसानको सामान कब्जा गरेको गौरवसाथ सुनाए।
'हिमालय पेट्रोल पम्प अगाडि सुन्तला खोस्दा दुई, चार दाना भुइँमा खसे। स्थानीयले सफा गर भनेपछि मैले २० रूपैयाँको कुचो किनेर बढारेँ,' उनले भने।
नगर प्रहरीले खोसेर ल्याएका सामान शान्ति वन बाटिका नजिकै दमकलको गोदाममा लगेर थुपारिएको छ। त्यो थुप्रोमा सामान बेच्न प्रयोग गरिने साइकल, रिक्सा, गाडी, टोकरी, डोको लगायतको चुली छ। त्यहीँ फलफूल, तरकारी पनि कुहिएको देखिन्छ।
बेच्न राखिएका सामान खोस्दै नगर प्रहरी
खोसिएका सामानको थुप्रोयसरी सर्वसाधारणको उत्पादन कुहाएर फालेकोमा महानगरकै केही कर्मचारी भने भित्रभित्रै रूष्ट छन्। सर्वसाधारणलाई काम गरेर खाने वातावरण बनाइदिनु स्थानीय सरकारको दायित्व भएको एक कर्मचारीले बताए।
'यस्तो बिजोग बनाएका छन् नि, दयामाया पनि छैन। सर्वसाधारणलाई काम गरेर खाने, आफूले उत्पादन गरेको वस्तु बेच्न पनि नदिने अवस्था सिर्जना गरिएको छ,' ती कर्मचारीले भने, 'ठूलाबडाले जे गरे पनि छुट छ। साधारण मानिस र किसानका पक्षमा कोही पनि देखिएनन्। हामी अहिले पो जागिर खाएकाले परिवार पालेका छौं। नत्र हामी पनि यसरी नै गाउँबाट सुन्तला डोकोमा बोकेर झर्नुपर्थ्यो।'
नगर प्रहरीले सामान खोसेर लगेपछि सर्वसाधारणहरू दमकलको गोदाम र कहिलेकाहीँ महानगर कार्यालय गएर रूवाबासी गर्छन्। सामान फिर्ता माग्दै अनुनय विनय गर्छन्। तर आवाज सुनिदिने कोही हुँदैन।
दुई साताअघि लक्ष्मी पनि महानगर कार्यालय पुगेर, गेटमा बस्ने नगर प्रहरीदेखि कर्मचारीसम्मलाई भेटेर आफ्नो कुरा राखिन्।
'मलाई व्यापारको अनुमति दिनुस् न त, म बरू कर तिर्छु भन्दा पनि कसैले सुनेन। यसै फर्काइदिए,' उनले भनिन्, 'यतिसम्म दुःख दिएका छन्, भनेर साध्य छैन।'
पोखरा महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले स्थानीय सरकार सञ्चालन ऐन र पोखरा महानगरले बनाएको आर्थिक ऐन २०८१ ले फुटपाथमा चटपटे लगायत कुनै पनि कुरा बिक्री गर्न निषेध गरेको बताए। फुटपाथभन्दा बाहिर बसेर बेचेको, फुटपाथमा फलफूल/तरकारी बोकेर हिँडिरहेका लगायतलाई पनि समातेर नगर प्रहरीले सामान खोसेको विषयमा प्रश्न गर्दा उनले आफूले 'हेर्ने' भन्ने प्रतिक्रिया दिए।
'बाटो छेकेर पसल राख्न पाइँदैन। तरकारी, अन्न, फलफूल बोकेर बेच्न हिँड्न पाइँदैन,' उनले भने, 'त्यसो गरेमा कानुन अनुसार कारबाही हुन्छ।'
महानगरको आर्थिक ऐन अनुसार पहिलो र दोस्रो पटक भनेर जरिवाना व्यवस्था गरिएको र पटकेमा पर्यो भने सामान जफत गरिने उनले बताए।
तर नगर प्रहरीले जरिवाना नलगाई सिधै लछारपछार पार्ने र सामान खोस्ने गरेको लक्ष्मी बताउँछिन्। पहिलो पटक आफ्नो सामान जरिवाना तिरेर निकाल्न खोज्दा पनि नपाएको उनले बताइन्।
सूचना अधिकारी तिवारीले भने लक्ष्मी लगायतका विषयमा आफूलाई थाहा नभएको र यसबारे 'बुझ्ने' प्रतिक्रिया दिएका छन्।
![pokhara-street-vendors5-1739808674.jpeg](https://www.setopati.com/uploads/posts/pokhara-street-vendors5-1739808674.jpeg)
![pokhara-street-vendors4-1739808674.jpeg](https://www.setopati.com/uploads/posts/pokhara-street-vendors4-1739808674.jpeg)