तपाईं बुटवल घुम्न नआएको कति भयो?
रूपन्देहीको बुटवलले अहिले पूर्वाधार विकासमा यति ठूलो फड्को मारेको छ, लामो समयको अन्तरालमा आउनेहरूले त चिन्न पनि सक्दैनन्!
उत्तरतर्फ बुटवलका शिर मानिने वसन्तपुर र नुवाकोटमा दुइटा केबलकार यात्रु बोकेर ओहोरदोहोर गरिरहेका हुन्छन्। सहरका मुख्य सडक दायाँबायाँ फुटपाथ र हरियाली बगैंचा सहितको सर्भिस लेन छ। फराकिलो सडक पार गर्न ठाउँठाउँमा अपांगता भएका व्यक्तिका लागि अनुकूल आकाशेपुल छन्।
सडकमा झिलिमिली बत्ती जडान गरिएका छन्। टाउकोमा सिउँदो कोरिएझैं मुख्य बजार बीचको ६ लेन सडकमा थरीथरीका गाडीको लस्कर हुन्छ।
बुटवल-नारायणगढ सडक ६ लेनमा चौडा बनाउने काम पनि चालू छ। त्यस्तै, पश्चिमतर्फ बुटवल-गोरूसिंगे सडकखण्ड विस्तार हुँदैछ भने रामनगरको सडक किनारमै अन्तर्राष्ट्रिय स्तरका सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र बनेका छन्।
बजारको मध्यभागमा ११५ वर्ष पुरानो लुम्बिनी अस्पतालको मुहार फेर्न करिब २५० कर्मचारी र दर्जनौं उपकरण दिनरात काममा व्यस्त देखिन्छन्।
यी सबै दृश्यले बुटवल विकासको तीव्र गतिमा अघि बढ्दै गरेको देखाउँछन्।
यसरी विकासमा फड्को मार्दै गरेको बुटवलको इतिहास करिब ६०० वर्ष पुरानो छ। अहिलेको मुख्य बुटवल बजार 'खस्यौली' नामले पुकारिन्थ्यो। मानव बस्ती थिएन। हालको बिपी चोक र अमरपथ क्षेत्रतिर केही टहरा थिए। ती टहरामा पहाडबाट भारततर्फ ओहोरदोहोर गर्ने लाहुरेहरू बास बस्थे।
हालको बुटवल उपमहनगरपालिका, वडा नम्बर १ र २ क्षेत्र नै त्यस बेलाको बटौली बजार हो। बटौलीलाई पश्चिम नेपालको व्यापारिक केन्द्र मानिन्थ्यो। पहाडी जिल्लामा उत्पादित घिउ, तम्बाकु लगायत सामान बेच्न बटौली ल्याइन्थ्यो। पश्चिमतर्फका मानिस वर्षभरिलाई पुग्ने नुनतेल, लत्ताकपडा किन्न बटौली आउँथे।
अहिले बुटवल बजार रहेको ठाउँ त्यति बेला ठुल्ठूला ढुंगा र बालुवाले भरिएको थियो। तिनाउ नदी किनारको समथर जमिन र चुरे पहाडको काखमा बस्ती विस्तार हुँदै अहिलेको बुटवल बनेको जानकारहरू बताउँछन्।

बटौली बजार बन्न थालेको विक्रम सम्बत् १७६२/६३ सालतिर हो। त्यसयता २०२६/२७ सालसम्म उत्तिकै चहलपहल रह्यो। पूर्व-पश्चिम महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्ग बनेपछि भने बटौली बजार सुस्ताउँदै गयो र खस्यौली विस्तार हुन थाल्यो।
बुटवलको इतिहासका जानकार रवीन्द्रगोपाल लाकौलका अनुसार १७६२/६३ सालतिर भारतको कस्मीरबाट कसौधन परिवारका मानिस आएर बटौलीमा व्यापार सुरू गरेका थिए। उनीहरू बटौलीको कदमचोक र निमचोकमा अस्थायी छाप्रा बनाएर बसेका थिए। गर्मी याममा औल (मलेरिया) लाग्ने डरले चैतदेखि कात्तिकसम्म पहाडबाट ढाक्रेहरू आउन डराउँथे। हिउँदका चार-पाँच महिना थेगिनसक्नु भिड हुन्थ्यो। सुस्त गतिमा बस्ती पनि बढ्दै थियो।
बटौली संरक्षण तथा सम्वर्द्धन समितिका पूर्वअध्यक्षसमेत रहेका रवीद्रगोपालका अनुसार पहाडबाट आएको घिउ बटौलीबाट भारतको बनारस, कलकत्ता लगायत सहरमा पुग्थ्यो। घिउ र नुनतेलको कारोबारकै कारण चीनको कोराला नाकादेखि पश्चिमको सुर्खेत आसपासका मानिसको मुख्य व्यापारिक नाका नै बटौली थियो।
मानिसहरू पहाडबाट जडिबुटी, घिउ, काम्लो लिएर बटौली आउँथे र नुन, मट्टीतेल, कपडा, साबुन, चिनी जस्ता सामान लिएर फर्किन्थे।
बटौली बजारमा जस्ताले छाएका टहरामा नुनतेल खरिद-बिक्री हुन्थ्यो। तिनाउ नदीको पश्चिमतर्फ गणेश मन्दिरबाट जितगढीसम्म बटौली बजार थियो। त्यहाँ कात्तिकदेखि फागुनसम्म ढाक्रेहरूको मेला नै लाग्थ्यो। सामान लिएर आएका गोरूगाडा, गधा र खच्चरका ताँती हुन्थे। अहिले राति १० नबज्दै निदाउने बटौली उति बेला मध्यरात पनि जागै हुन्थ्यो। कालिका मन्दिरमा तीन दिनसम्म मेला लाग्थ्यो। निकै टाढाबाट मानिसहरू मेला हेर्न आउँथे। निकै ठूलो भिडभाड हुन्थ्यो। हिउँदमा घोडा-खच्चड हिँडेको आवाज राति अबेरसम्म सुनिन्थ्यो।
त्यस बेला हालको बुटवल-सुनौली सडक थिएन। व्यापारीहरू भारतबाट बेथरीको बाटो हुँदै लडिया र खच्चरमा सामान ल्याउँथे।
१९९५ सालतिर मुस्ताङबाट केही थकाली परिवारले बटौली आएर व्यापार सुरू गरे। पहाडबाट ल्याएको घिउ प्रशोधन गरेर भारतसहितका विभिन्न मुलुकमा पठाउन थाले। ल्हासाको नुन, सुन, पहाडको जडिबुटी, घिउ, तेलजस्ता सामग्रीको व्यापार बढ्यो।
२००४ सालमा पाल्पामा जन्मिएका रवीन्द्रगोपाल पहिलोपटक पाँच वर्ष उमेरमा बुबा रामगोपालका साथ घोडा चढेर बुटवल आएका थिए। स्थायी बसोबास पाल्पामा थियो। रूपन्देहीमा जग्गा-जमिन भएकाले बुबा घोडा चढेर बुटवल झर्थे।
रवीन्द्रगोपालका जिजुबुबा छत्रसिंह १८६६ सालमा भक्तपुरबाट बसाइँ सरेर पाल्पा पुगेका हुन्। बटौली र सियारीमा जग्गा-जमिन भएकाले खेतीको कामका लागि छत्रसिंह पाल्पाबाट आउजाउ गर्थे। १९६५ सालमा सियारी र बटौलीमा उनको साढे सात सय बिघा मौजा थियो।
'बर्खामा हजुरबुबा र बुबा घोडा चढेर करिब ३५ किलोमिटर यात्रा गर्नुहुन्थ्यो। हिउँदमा आमाहरू हिँडेर आउनुहुन्थ्यो,' रवीन्द्रगोपालले भने, 'बर्खामा महिला र केटाकेटी पाल्पामै बस्थ्यौं, बुबाहरू मात्र बुटवल आउनुहुन्थ्यो। फर्किंदा भुजा, चना, जुलेबी, हलुवा लगिदिनुहुन्थ्यो।'
पाल्पाबाट पैदल आउँदा डुम्रेमा र दोभानमा बास बसेर तेस्रो दिन बुटवल पुगिन्थ्यो। दोभानबाट उकालो चढेर नुवाकोट पुगेपछि त्यहाँबाट बटौली झर्नुपर्थ्यो।
'बुटवल हाम्रो लागि बास बस्ने ठाउँ मात्र थियो। बुबाहरू पाल्पाबाट धान, तोरी गहुँ बटौली ल्याएर बेच्नुहुन्थ्यो र पैसा लिएर फर्किनुहुन्थ्यो। कागजको नोट थिएन, सिक्का हुन्थ्यो,' रवीन्द्रगोपालले त्यो समय स्मरण गरे, 'तीन हजारको सिक्कालाई तोडा भन्थे। बुबाहरू तोडा बोकेर गाउँ जानुहुन्थ्यो। २०१३ सालमा कागजका नोट बनेपछि सजिलो भयो।'


लाकौल परिवार २०२१ सालबाट बटौलीमै स्थायी बसोबास गर्न थाल्यो। बटौलीमा उनीहरूको काठको घर थियो। त्यहाँबाट चौराहसम्मका सबै घर लाकौल परिवारका थिए। त्यस बेलाका कतिपय घर अहिले पनि छन्। ती घरमा स-साना पसल पनि छन्।
रवीन्द्रगोपालले फलाम र पित्तलका भाँडा बनाउने, डल्ले साबुन बनाउने र छितको कपडा बुन्ने उद्योग पनि देखे।
त्यो समय तिनाउ खोला वारपार गर्न पुल थिएन। हिउँदको समय ठाउँठाउँमा बाँसको फड्के हालिएको हुन्थ्यो। १९८० सालमा पहिलोपटक झोलुंगे पुल बन्यो।
पछि निर्मल सिंह र प्रितम सिंह भन्ने भारतीय सरदारहरू बगर र जंगलको छेउ हुँदै हातले मिल 'स्टार्ट' गरेसरी 'स्टार्ट' गर्नुपर्ने गाडी लिएर आए। रवीन्द्रगोपालले त्यो गाडी चढ्न पनि पाए।
'मैले त्यस्तो गाडी देखेको २०२२/२३ सालतिर होला। हामी कहिलेकाहीँ त्यसैमा चढेर भैरहवा जान्थ्यौं,' उनले भने, 'राम्रो बाटो थिएन, जंगल र बगरको बाटो गाडीले उफार्दै लैजान्थ्यो। भैरहवा पुग्दा त गाडीमा ठोक्किएर टाउकोमा टुटुल्का उठेका हुन्थे।'
बटौलीमा २००८ सालमा हाईस्कुल खुलेको थियो। रवीन्द्रगोपालले त्यही स्कुलमा पढे। हाल बुटवलमा रहेको बुटवल मावि रूपन्देहीको पहिलो र लुम्बिनी प्रदेशको दोस्रो पुरानो विद्यालय हो। पहिलो विद्यालय गुल्मीको रूरूमा थियो।
२००४ सालमा महावीर कनौडियाको अगुवाइमा महावीर पुस्तकालय र परोपकार केन्द्र खुले। पुस्तकालय नजिकै वनस्पति अड्डा र हुलाक कार्यालय थिए।
युद्धमा अंग्रेज सेनालाई हराएको जितगढी किल्लामाथि पनि बाक्लो बस्ती थियो। पछि त्यहाँको बस्ती खाली गराइयो। त्यति बेला यहाँ परीक्षितप्रसाद लाकौलको बिँडी कारखाना र तमाखु कारखाना थियो।
त्यति चल्तीको बटौली बजार कसरी सुनसान भयो त? भाँडा बनाउने, कपडा बुन्ने, साबुन बनाउने सबै फ्याक्ट्री कहाँ गए? बटौलीबाट अहिलेको बुटवल बजारमा बस्ती कसरी बन्यो?
रवीन्द्रगोपालका अनुसार सडक र तिनाउ नदीमा पुल बनेपछि बटौली बजार खस्यौलीतर्फ विस्तार हुन थालेको हो। त्यति बेलाको जग्गा भोग्ने अनौठो तरिका पनि उनले सुनाए।
'तिनाउ खोलापारिबाट मानिसहरू खस्यौलीतिर ढुंगा फाल्थे। ढुंगा जहाँसम्म पुग्थ्यो, त्यहाँसम्मको जग्गा आफ्नो भयो भन्थे,' उनले भने, 'त्यसरी ढुंगा हान्दा नगरपालिकालाई एक रूपैयाँ कर तिरे पुग्थ्यो। हाम्रो यहीँ (बटौलीमा) प्रशस्त जग्गा भएकाले पारि (खस्यौली) जान मन लागेन।'
अहिलेको बुटवल र त्यति बेलाको खस्यौलीमा कदमचोकबाट निमचोकसम्म पाँचवटा मात्र घर थिए। व्यापारीहरू खाली जमिनमा अस्थायी छाप्रा बनाएर नुनतेल, पहाडको घिउ, जडिबुटी र ल्हासाको सुन बेच्थे। मालमत्ताको भारीसहित पाल्पा, स्याङ्जा, गुल्मी, पर्वतबाट आउने मानिसहरू नुवाकोटको डाँडो हुँदै कदमचोक झर्थे। टिनका भाँडामा बोकेर ल्याएको पहाडको घिउ कसौधन र मारवाडीले किन्थे।
सुका पैसामा दुई माना घिउ पाइन्थ्यो । एक टिनमा १० मानासम्म हुन्थ्यो। घिउ बेच्न भरियासहित दैनिक १५० जनासम्म पहाडिया साहुहरू आउँथे।
त्यो घिउ किनेर बटौलीका व्यापारी ठूला कराहीमा तताउँथे अनि भारतको कोलकाता र बनारससम्म पुर्याएर बेच्थे। भारततर्फ पस्ने मुख्य नाम बेथरी थियो। अहिले नेपाली सेनाले अमरपथमा बनाएको व्यापारिक भवन रहेको स्थानमा हुलाक र पैसा छाप्ने टक्सार थियो।


समयक्रममा बिस्तारै खस्यौलीतर्फ बस्ती बढ्दै गयो। बटौली बजार सुनसान हुन थाल्यो। बटौलीका व्यापारी खस्यौलीतिरै सरे।
'चीन र भारत दुवैतर्फको नजिक र सिल्क रोडको सबभन्दा नजिकको बाटो नै बटौली मानिन्थ्यो,' रवीन्द्रगोपालले भने।
उनले बटौली बजारमा करिब सात दशक बिताए। खस्यौली फैलिएर अहिलेको आधुनिक बुटवल बनेको आँखैले देखे।
बुटवलको इतिहासका अर्का जानकार तथा पूर्वनगर उपप्रमुख विमलबहादुर शाक्य बुद्धभूमिकै अर्थमा 'बुद्धवली' र 'बुटवली' हुँदै बुटवल भएको हुनसक्ने बताउँछन्।
उनका अनुसार पाल्पा राज्यका राजा मुकुन्दसेनले १८८५ सालमा लेखेको एउटा पत्रमा 'बुटवली' उल्लेख छ।
'बुद्ध धर्मको प्रचार क्रममा बुटवल क्षेत्रमा कोलीय राज्य र शाक्यवंशको राज्य रहेको भेटिएको छ। सेन राजाहरूले बुद्धभूमिकै अर्थमा 'बुद्धवली' शब्दलाई 'बुटवली' भनेको हुन सक्छ,' विमलले भने, 'बुटवल नामको आधिकारिक प्रमाण नभए पनि बुद्धवल्ली, बुटवली हुँदै बुटवल बनेको मान्न सकिन्छ।'
नेपालका धेरै प्राचीन सहर राजाहरूले बसालेका भए पनि बुटवल व्यापारीले बसाएको विमलको भनाइ छ।
उनका अनुसार खस्यौली अर्थात् बुटवलको विकास अघि बढेपछि बटौली बजार सुस्ताउँदै अन्ततः सुनसान भयो। सिंगो बुटवल नै बटौली हो भन्ने अवधारणाअनुसार बटौली बजारको नाम अहिले 'पुरानो बटौली' भएको छ।
व्यापारका लागि २०१० सालमा पाल्पाबाट बटौली आएका गणेशप्रसाद सैंजुले २०२० मा खस्यौलीमा दुई हजार रूपैयाँमा जग्गा किनेका थिए। उनको परिवार २०२५ सालमा खस्यौली सर्यो। नेवार समुदायका अरू व्यापारी पनि थपिए। त्यति बेला सुनौलीबाट खस्यौलीसम्म नियमित दुइटा बस चल्थे। हेर्दाहेर्दै खस्यौली फैलिँदै गयो।
विक्रम सम्बत् बीसको दशकमा सिद्धार्थ राजमार्ग बन्न थालेपछि तिनाउवारि (पूर्वतर्फ) खस्यौलीमा पसलहरू थपिन थाले। बजार अझ बढ्दै गयो।
२०१६ सालमा बुटवल-खस्यौली नगरपालिकाको कार्यालय पनि बटौलीमै थियो। बटौलीतर्फ चार र खस्यौलीतर्फ पाँच गरी नौवटा वडा थिए।
खस्यौलीतर्फ बजार विस्तार हुँदै गएपछि २०३५ सालमा नगरपालिका कार्यालय भवन बन्यो र प्रशासनिक काम खस्यौलीबाटै हुन थाल्यो। बटौलीमा रहेको नगरपालिका कार्यालय भवनमा केही समय इलाका प्रशासन कार्यालय राखिएको थियो।
२०१६ फागुन ३ गते बुटवल-खस्यौली नगर पञ्चायत नामकरण भएको थियो। पहिलो प्रधानपञ्च मुन्निलाल शाक्य थिए।
प्रजातन्त्र पुनर्स्थापना हुँदासम्म बुटवल-खस्यौली नगर पञ्चायतले सात जना प्रधानपञ्च पायो। तीमध्ये दुई जना एक-एकपटक दोहोरिए।
बटौलीमा अहिले पनि सय वर्ष पुराना घर छन्। काठले बनेका ती सबैजसो घर व्यापारिक शैलीका छन् तर व्यापार छैन। धेरैजसो घरमालिक बुटवलतिरै बस्छन्।
सिद्धार्थ राजमार्ग बनेपछि पनि २०३७ सालसम्म बटौलीतर्फ व्यापार चल्थ्यो। २०३७/३८ सालमा पाल्पाबाट रिडीसम्म जनो मोटरबाटो खुलेपछि पाल्पा र रिडीमा व्यापार बढ्न थाल्यो। त्यसपछि भने बटौली बजार ठप्पै भयो। नुनतेल र कपडा किन्न बटौली जाने कुरा 'एकादेशको कथा' जस्तो भयो। यता बुटवल सहर आधुनिक बन्दै अघि बढ्यो।
आधुनिक बुटवल औद्योगिक, व्यापारिक र शैक्षिक केन्द्रका रूपमा स्थापित भएको छ। तिनाउ र दानवमा पुलैपुल बनेका छन्। बुटवल एक्लै आर्थिक केन्द्र बनेको छैन, भैरहवा हुँदै मर्चवारसम्मका बासिन्दालाई जोडेको छ।


प्रजातन्त्र पुनर्स्थापनापछि बुटवल-खस्यौली नगरपञ्चायत बुटवल नगरपपालिका भयो। २०४९ सालमा भएको पहिलो निर्वाचनबाट सूर्यप्रसाद प्रधान नगरप्रमुख निर्वाचित भए। २०५४ सालमा भएको निर्वाचनबाट भोजप्रसाद श्रेष्ठ नगरप्रमुख चुनिए। २०६० सालमा राजा ज्ञानेन्द्र शाहले पुनाराम पोखरेललाई नगरप्रमुख पदमा नियुक्त गरे। त्यसपछि राजाकै शासनमा भएको निर्वाचनमा रूपसिंह थापा चुनिए।
बुटवल नगरपालिका २०७१ सालमा उपमहानगरपालिकामा स्तरोन्नत्ति भयो। संविधानसभाले जारी गरेको नयाँ संविधानअन्तर्गत २०७४ सालमा भएको निर्वाचनमा शिवराज सुवेदी नगरप्रमुख निर्वाचित भए। त्यसपछि २०७९ सालमा भएको निर्वाचनबाट खेलराज पाण्डेय नगरको नेतृत्वमा छन्।
बुटवललाई आधुनिक सहर बनाउन यहाँका बासिन्दा, सामाजिक संघ-संस्था र जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण छ।
बुटवलबाट पटकपटक निर्वाचित एमाले नेता विष्णु पौडेल अर्थमन्त्री हुनुको राम्रो लाभ बुटवलले पाएको छ। अर्थमन्त्रीका रूपमा आफ्नो निर्वाचन क्षेत्रमा र जिल्लामा बढी बजेट दिएको भन्ने आरोप उनीमाथि लाग्ने गरेको छ।
यसबीच २०४६ सालको राजनीतिक परिवर्तनपछि बुटवलमा बसाइँसराइ भएर आउने क्रम बढ्यो। पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङ्जा, बागलुङ, प्यूठान लगायतका जिल्लाका बासिन्दा आए।
२०४८ सालको जनगणनामा बुटवलको जनसंख्या ५२ हजार हाराहारी थियो। २०६८ मा एक लाख ३८ हजार नाघ्यो। २०७८ को जनगणनाले एक लाख ९६ हजार देखाएको छ। साविक सेमलार गाविस र मोतिपुर गाविस बुटवलमै गाभिएका छन्। बसाइँ सरेर आउने क्रम पनि उत्तिकै छ।
उपमहानगर प्रमुख पाण्डेय भन्छन्, 'देशको मध्यभागमा पर्ने र सहज पहुँच भएकाले बुटवल सबैतिरको रोजाइमा परेको छ। बुटवललाई समानता, स्वाभिमान र अवसरसहित बस्नयोग्य सहर बनाउने उपमहानगरको योजना छ।'
बुटवल पर्यटकीय दृष्टिले पनि उत्तिकै महत्त्वपूर्ण थलो हो। बर्दघाटबाट दाङसम्मको क्षेत्रमा बुटवलको प्रभाव छ।
पाण्डेय भन्छन्, 'विकासका दृष्टिले काठमाडौं उपत्यका बाहिरका अग्रणी सहरहरूमध्ये बुटवल एक हो। भौतिक पूर्वाधार र मानव संशाधन विकासमा पनि बुटवल राष्ट्रिय रूपमै नेतृत्व गर्ने क्षमता राख्छ।'
राजमार्ग चौराहा हुँदै कालिकानगर, देवीनगर, नयाँगाउँ, तामनगर र योगिकुटीसम्म सहर फैलिएको छ।
करिब १० वर्ष अघिसम्म बुटवलको व्यवसायमा तिनाउ नदी र दानव नदी अवरोधका रूपमा थिए। खासगरी बर्खा याममा बुटवलकै एकतर्फका बासिन्दालाई तिनाउ नदीले समस्यामा पारेको थियो। हाल बुटवल आउजाउकै लागि तिनाउ नदीमाथि पाँचवटा पुल छन्।
आधुनिक बुटवल शिक्षा, स्वास्थ्य, उद्योग र पर्यटनमा अब्बल साबित हुँदै छ। आर्थिक सहरको पहिचान बनेको छ।
पछिल्लो १५ वर्षमा बुटवलमा स्तरीय अस्पताल बनेका छन्। उत्कृष्ट शैक्षिक संस्था छन्। बुटवलका शैक्षिक संस्थाको नतिजा देशभरमै उत्कृष्ट छ। देशभरमा उत्कृष्ट ठहर भएका १० वटा सामुदायिक विद्यालयमध्ये तीनवटा बुटवलमै छन्।
***