चाया-पोतोलाई अंग्रेजीमा मेलाज्मा भनिन्छ। अहिले यो समस्या धेरै मानिसमा देखिन थालेको छ।
चाया-पोतो शरीरका विभिन्न अंगमा आउन सक्छ, तर विशेष रूपमा अनुहारमा बढी देखिन्छ। कसैलाई खैरो, कसैलाई कालो धब्बा देखिन्छ। प्रायः गालामा, निधारमा, ओठमाथि—अर्थात् जहाँ जहाँ घाम पर्छ, त्यहाँ देखिन्छ।
चाया-पोतोको लक्षण भनेकै कालो, खैरो धब्बा आउनु हो। पोल्ने वा चिलाउने जस्ता लक्षण हुँदैनन्। यसको कुनै गम्भीर स्वास्थ्य असर हुँदैन, न यो क्यान्सर नै हो। यद्यपि थाइरोइड समस्यासँग सम्बन्धित अवस्थामा भने चाया-पोतो देखिन सक्छ।
चाया-पोतो आउनुको मुख्य कारण छालाको रङ निकाल्ने कोषिका 'मेलेनोसाइट्स' हो। यी कोषिकाहरूले बढी मात्रामा मेलेनिन उत्पादन गर्दा छालामा खैरो वा कालो धब्बा देखिन्छ।
चाया पोतो आउने दुई मुख्य कारण छन्; हर्मोनल र विकिरण।
शरीरले विभिन्न कारणले हर्मोन उत्पादन गर्छ जसले चाया-पोतो निम्त्याउन सक्छ। साथै, विभिन्न प्रकारका अस्थायी साधनहरू, महिनावारी रोक्ने औषधिको प्रयोगले पनि चाया-पोतो आउन सक्छ।
घामको किरण तथा अन्य प्रकारका लाइट (ल्यापटप, मोबाइल आदि) ले पनि चाया-पोतो निम्त्याउन सक्छ।
चाया-पोतो उपचार गर्न कठिन समस्या हो। कहिलेकाहीँ तीन महिनामा आफै हराउन सक्छ।
चाया-पोतोबाट बच्न सनब्लक/सनस्क्रिन क्रिम लगाउन सकिन्छ। तर यसले मात्र समस्या समाधान हुँदैन। त्यसैले घामबाट बच्न टोपी र चस्मा लगाउनुपर्छ। सकेसम्म छाया भएको ठाउँमा हिँड्नुपर्छ।
चाया-पोतो एकपटक आएपछि निको पार्न गाह्रो हुन्छ र दोहोरिने सम्भावना रहन्छ। त्यसैले चाया-पोतो आएको कारण पहिचान गरी त्यसबाट बच्नुपर्छ।
यसको उपचारका लागि कतिपय औषधि उपलब्ध छन् तर ती जथाभावी प्रयोग गर्न हुँदैन। चिकित्सकको सिफारिसबिना औषधि किन्नै हुँदैन। कतिले आफूखुसी औषधि लगाउँदा समस्या झन् बढ्न सक्छ। साइड इफेक्ट हुन सक्छ र शरीरका अन्य भागमा समेत असर गर्न सक्छ।
चाया-पोतोले छालाको बाहिरी भागमा मात्र नभई कतिपय अवस्थामा भित्री भागमा पनि असर गर्छ। त्यसैले कुन चरणमा छ भन्ने आधारमा उपचार गर्नुपर्छ।
चाया-पोतो पूर्ण रूपमा निको हुन सक्दैन भन्ने होइन। सुरूमै उपचार गरेमा पूर्ण रूपमा ठीक हुन सक्छ। कहिलेकाहीँ निको भएर पनि दोहोरिन सक्छ। त्यसैले सतर्कता अपनाउनु जरूरी छ।
(छालारोग विशेषज्ञ सहप्राध्यापक डा. उमा गिरी वीर अस्पतालमा कार्यरत छिन्।)