सशस्त्र प्रहरी बल नेपालको फर्म्ड पुलिस युनिट (एफपियु) मा पठाइदिने भन्दै ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरीका सात जना कर्मचारीलाई ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ बतासे घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने २७ वर्षीय दिनेश सापकोटालाई पक्राउ गरेको हो।
उनलाई प्रहरीले आइतबार दक्षिणकालीस्थित फर्पिङबाट पक्राउ गरेको हो।
उनले सशस्त्र प्रहरीका सात जना कर्मचारीहरूबाट प्रतिव्यक्ति एक लाख रुपैयाँ लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको हो।
सापकोटाले पनि रकम अर्कै व्यक्तिलाई बुझाउनुपर्नेबारे बयान दिएका छन्। ती अर्का व्यक्तिको आधिकारिकताबारे अनुसन्धान भइरहेको एसपी काजीकुमार आचार्यले बताए।
पक्राउ परेका सापकोटाको आपराधिक पृष्ठभूमि हेर्दा पहिले पनि पक्राउ परिसकेका व्यक्ति हुन्।
चोरी तथा डाँकासम्बन्धी कसुर, ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) लगायतका कसुरमा पक्राउ परेको कार्यालयले जनाएको छ।
उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएका छन्।