हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।
तराईका थोरै स्थानहरुमा आज पनि हल्का हुस्सु लागेको छ।
महाशाखाले सोमबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा दिउँसो हल्का वर्षा हुने पनि महाशाखाको पूर्वानुमान छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रको केही भूभागमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
सोमबार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा मौसम आंशिक बदली रहने पूर्वानुमान छ।
राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ।
वर्षा हिमपात र बिहानीपख तराईका थोरै भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।