कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ।
शनिबारको तुलनामा आइतबार सुधार भए पनि संक्रमणको जोखिम भने कायमै रहेको अस्पतालकी प्रवक्ता निजिना ताम्राकारले जानकारी दिइन्।
‘उहाँहरू दुवैजनाको अवस्था सामान्य छ। शनिबारको तुलनामा अवस्थामा सुधार पनि छ। तर संक्रमणको जोखिम भएकाले हामीले भेटघाट बन्द गराएका छौं,’ उनले भनिन्।
अहिले दुवै जनाको आइसियूमा उपचार भइरहेको छ। शनिबार पोखरा महोत्सवको उद्घाटनका क्रममा बलून पड्कँदा दुवै जना जलनमा परेका थिए। अर्थमन्त्री पौडेलको हात, अनुहार र गर्धनमा जलन भएको थियो। मेयर आचार्यको पनि गाला, हात तथा टाउका पछाडिको भागमा असर पुगेको थियो।
अर्थमन्त्री पौडेलको तुलनामा मेयर आचार्यलाई बढी जलन भएको हो कि भन्ने जिज्ञासमा प्रवक्ता ताम्राकारले दुवै जनालाई ५–६ प्रतिशत जलन भएको बताइन्।
‘जलनको पहिलो दिन नै कति असर पुर्यायो भन्ने थाहा हुँदैन। पछि बढ्ने पनि हुनसक्छ। अहिले दुवै जनाको ५ देखि ६ प्रतिशत जलन भएको देखिएको छ। संक्रमण भयो भने घाउ अझ बढ्नसक्छ,’ ताम्राकारले भनिन्।
मेडिकल टिमले घाउको अवस्था पनि सुधारोन्मुख रहेको बताएको ताम्राकारले जानकारी दिइन्। अस्पतालले दुवै जनालाई थप २४ घन्टा आइसियूमै राखेर निगरानी गर्नुपर्ने बताएको छ।
अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचारमा प्राडा बिडी झा, डा प्रविण गिरी लगायत सघन उपचार कक्षको टोली खटिएको छ।
त्यस्तै प्राडा शंकरमान राई, डा विशाल कार्की, डा मनिष यादव लगायतको जलन विशेषज्ञहरूको टोली संलग्न रहेको अस्पतालले बताएको छ।
त्यस्तै प्रयुस अर्याल लगायतका आकस्मिक उपचारको टोली, रीना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ टोली रहेको अस्पतालले बताएको छ।