कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकामा मेयर धनराज आचार्यलाई भेट्न रोक लगाइएको छ। संक्रमणको जोखिम रहेकाले बाह्य मानिसहरूसँग भेटघाट बन्द गरिएको अस्पतालले जानकारी दिएको छ।
पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बलून पड्कँदा अर्थमन्त्री पौडेर मेयर आचार्य घाइते भएका थिए।
अनुहार, हात तथा गर्धनमा जलन भएका उनीहरूको कीर्तिपुर अस्पतालको आइसियूमा उपचार भइरहेको छ। चिकित्सकले थप २४ घन्टा निगरानीमा राख्नुपर्ने बताएका छन्।
उनीहरूको अवस्था शनिबारको तुलनामा सुधारोन्मुख रहेको र संक्रमणको जोखिम भने रहेको अस्पतालले बताएको छ।
‘शनिबार पोखराबाट जलनको घटनामा घाइते भई यस कीर्तिपुर अस्पतालमा दिउँसोको साढे तीन बजे उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य हिजोदेखि सघन उपचार कक्षमा उपचारको लागि भर्ना हुनुभएकोमा रातभरि उहाँहरूको अवस्था सामान्य नै रहेको र हिजोभन्दा आज सुधारोन्मुख रहेको जानकारी गराइन्छ,’ अस्पतालले विज्ञप्तिमार्फत् भनेको छ।
घाउको अवस्था ड्रेसिङ गरेपछि जानकारी गराइने र अवस्था सामान्य भए तापनि संक्रमण हुने भएको हुदाँ हाललाई भेटघाट बन्द गर्नुपरेको अस्पतालले बताएको छ।