उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी पोखरा भ्रमण वर्ष २०२५ घोषणा सभामा तीन तरिकाले कार्यक्रमको उद्घाटन गरिँदै थियो।
पहिलो स्विच अन गरेर डिजिटल पानसमा बत्ती बाल्ने। दोस्रो, स्पार्किङ मेसिनबाट आगोको झिल्को निकाल्ने र तेस्रो बेलुनमा ब्यानर उडाउने।
पहिलो र दोस्रो तरिकाले उद्घाटन कार्यक्रम सकिएको थियो। तेस्रो तरिकाले उद्घाटन गर्न हाइड्रोजन ग्यास भरिएका बेलुनका झुप्पा तयार अवस्थामा थियो।
पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाका अनुसार तेस्रो चरणको उद्घाटन गर्न बेलुनको एउटा झुप्पा अर्थमन्त्री विष्णु पौडेलले समातेका थिए। अर्को झुप्पा पोखराका मेयर धनराज आचार्यले समातेका थिए।
तिम्सिानाका अनुसार एउटा झुप्पामा ३० वटा जति हाइड्रोजन भरिएका बेलुन थियो। दुइटा झुप्पामा गरेर ६० वटा जति बेलुनमा बाँधेर पोखरा भ्रमण वर्षको व्यानर उडाउने तयारी थियो।
बेलुनमा ब्यानर बाँधेर उडाउने बेलासम्म दोस्रो तरिका अनुसारको उद्घाटन गर्दा आगोको झिल्का आउन छाडेकै थिएन। जन्मदिन मनाउन प्रयोग गरिने आगो झिरझिर जस्तै स्पार्किङ मेसिनबाट निरन्तर आगोको झिल्का माथि उडिरहेको थियो।
हाइड्रोजन भरिएका बेलुन उडाउन ठिक्क पारिएका बेला आगोको उक्त झिल्का बेलुनमा पुग्यो। दुइटै बेलुनका झुप्पा अचानक बम पड्किए जसरी पड्किन पुग्यो। त्यसरी पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य जलनको शिकार बन्न पुगे।
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रममा हाइड्रोजन भरिएका बेलुन पड्किँदा जलनमा परेका अर्थमन्त्री पौडेललाई गण्डकी अस्पताल र मेयर आचार्यलाई फिष्टेल अस्पताल लगियो। अस्पतालले थप उपचार गर्न कीर्तिपुर अस्पताल रिफर गरेको छ।
कीर्तिपुर अस्पतालका अनुसार उनीहरू दुबैको सघन उपचार कक्षमा उपचार भइरहेको छ।
अस्पतालका चिकित्सकहरूले गरेको प्रारम्भिक मूल्याङ्कन अनुसार उनीहरूको ५ देखि ६ प्रतिशत जलेको र अनुहारमा जलन भएकाले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना भएकाले उच्च निगरानीमा उपचार भइरहेको छ।
आगोले जल्दा अर्थमन्त्री पौडेलको हात र मेयर आचार्यको अनुहार जलेको पोखरा महानगरका प्रवक्ता तिम्सिनाले बताएका छन्। उनीहरू अहिले खतरामुक्त रहेको पनि उनले जानकारी दिएका छन्।
हाइड्रोजन भरिएका बेलुन पड्किएर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका विषयमा अनुसन्धान थालेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले बताए।
‘कसरी बेलुनमा हाइड्रोजन भरिएछ, यसको कानुनी पाटो के छ भनेर हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘गैरकानुनी देखिए कारबाही गर्छौं।’
हाइड्रोजन भरिएका बेलुन कसरी पड्किन पुग्यो त?
रसायन शास्त्रका वैज्ञानिकहरूका अनुसार हाइड्रोजन ग्यास ब्रमाण्डमा पाइने सबभन्दा हलुका र सबभन्दा प्रज्वलनशील ग्यास हो।
पोखरा महानगरले ब्यानर उडाउन बेलुनमा हाइड्रोजन ग्यास भरेको थियो। बेलुन आकाशमा माथिमाथि जाओस् र बेलुनको २ वटा झुप्पाको दुईतिर बाँधिएको ब्यानर पनि माथि जाओस् भनेर बेलुनमा हाइड्रोजन भरिएको थियो।
अमेरिकाबाट केमिकल इञ्जिनियरिङमा विद्यावारिधी गरेका वैज्ञानिक सन्तोष कोइरालाले पोखरामा शनिबार भएको दुर्घटना हाइड्रोजन ग्यासकै कारण भएको बताउँछन्।
विदेशमा यसरी हाइड्रोजन ग्यासको प्रयोग गर्न निषेध गरिएको भन्दै उनले उक्त ग्यास अन्य ग्यासभन्दा प्रतिक्रियात्मक हुने पनि बताए।
‘हाइड्रोजन सबभन्दा प्रज्वलनशील ग्यास हो, यसलाई इन्धनको रूपमा पनि प्रयोग गर्न थालिएको छ,’ उनले भने, ‘विदेशमा जथाभावी हाइड्रोजन ग्यास प्रयोग गर्न पाइँदैन, नेपालमा पनि यसरी प्रयोग गर्न नहुने हो।’
वायुमण्डलमा रहेका एक नम्बर हलुका ग्यास हाइड्रोजन भए पनि यसरी बेलुनमा भरेर उडाउनै पर्ने भए दुई नम्बर हलुका ग्यास हिलियम प्रयोग गर्नुपर्ने उनको सुझाव छ। हिलियम ग्यास हाइड्रोजन जस्तो अति प्रज्वलनशील पनि नरहेको उनले बताए।
पोखरामा शनिबार बेलुन उडाउन वायुमण्डलमा पाइने सामान्य ग्यास नै प्रयोग गरे पनि हुने अवस्थामा हाइड्रोजन प्रयोग भएको पनि उनले बताए।
गण्डकी विज्ञान तथा प्रविधि प्रतिष्ठानमा वैज्ञानिकका रूपमा कार्यरत कोइरालाले यस्ता खालका कार्यक्रम र डेकोरेसनमा कहिल्यै पनि हाइड्रोजन प्रयोग गर्न नहुने उनले बताए।
आगोको सामान्य फिलिङ्गोसँग पनि हाइड्रोजनले रियाक्सन गर्ने भएकाले यसलाई प्रयोग गर्दा उच्च सतर्कता अपनाउनुपर्ने उनले बताए। हाइड्रोजन ग्यास वायुमण्डलमा अत्यन्त न्यून मात्रामा रहेको भन्दै उनले सूर्य लगायत ताराहरू बल्नुका मुख्य कारण नै हाइड्रोजन ग्यास भएको बताए।
‘सूर्य लगायत ताराहरूमा अत्यधिक हाइड्रोजन ग्यास छ। हाइड्रोजन फ्युजन रियाक्सन गरेर बलिरहेको छ,’ उनले भने, ‘ताराहरूमा हाइड्रोजन ग्यास बलेर सकिएपछि ब्ल्याक होलमा परिणत हुन्छ।’
हाइड्रोजन ग्यास बम लगायत अत्याधुनिक हतियार बनाउन पनि प्रयोग भइरहेको भन्दै उनले न्युक्लियर प्लान्टमा बनाइने हाइड्रोजन बम पनि सूर्यमा भइरहेको रियाक्सन जस्तै फ्युजन गराएर बनाउने गरेको उनले बताए।
सुरक्षाका दृष्टिले हाइड्रोजन अत्यन्त महत्वपूर्ण भएकाले यसको प्रयोगबारे सरकारले काम गर्न जरूरी रहेको कोइरालाले बताए।
‘जसको कारण सूर्य बलिरहेको छ, त्यो ग्यासलाई बेलुनमा भर्न दिनुहुँदैन,’ उनले भने, ‘यो ग्यासको दुरूपयोग गर्दा ठूलो अनिष्ट हुन सक्छ।’
हाइड्रोजनको २ वटा अणु र अक्सिजनको एउटा अणु मिलेर पानी बन्ने गरेको भन्दै उनले पानीबाट अक्सिजन निकालेर हाइड्रोजन उत्पादन गर्न सकिने बताए। इन्धनका रूपमा यस्तो प्रयोग भइरहेको भन्दै उनले सबभन्दा प्रज्वलनशील ग्यास भएकाले सचेतना पनि सोही अनुसार हुनुपर्नेमा उनको जोड छ।
गण्डकी विश्वविद्यालयका रसायन शास्त्रका प्राध्यापक डा. कपिल अधिकारीले हाइड्रोजन ग्यासका विषयमा ८, ९ कक्षा पढ्ने विद्यार्थीलाई पनि थाहा हुने बताए।
विद्यार्थीले स्कुलकै प्रयोगशालामा यस ग्यास कति प्रज्वलनशील छ भनेर प्रयोग गरेर हेर्ने र शिक्षकले सबभन्दा हलुका तर सबभन्दा प्रज्वलनशील ग्यास भएकाले यसको प्रयोगमा सचेत हुन सिकाउने उनले बताए।
‘८/९ कक्षाका विद्यार्थीले यसका बारेमा पढेका हुन्छन्। सचेत हुन सिकेका हुन्छन्। पोखरामा शनिबार भएको दुर्घटना सचेतना नपुगेर जस्तो देखिन्छ। हाइड्रोजनलाई यसरी मानिस धेरै भएका ठाउँमा प्रयोग गर्न हुँदैन।’
बजारमा हाइड्रोजन जहाँ पनि जस्ले पनि बेलुनमा भर्ने गरेको भन्दै उनले बालबालिकाका खेलौना बेलुनमा हाइड्रोजन भर्न दिन नहुने उनले बताए।
‘हाइड्रोजन बेलुनमा भर्न दिनै हुँदैन। बच्चाले लिएर हिँड्ने बेलुन पार्टीहरूमा पनि सजावटका रूपमा राख्ने गरेको देखिन्छ,’ उनले भने, ‘आगोको एउटा फिलिङ्गो भेट्यो भने बेलुन बल्ने होइन, पड्किन्छ। जुन शनिबार पोखरामा देखियो।’
यो पनि:
कीर्तिपुर अस्पतालको आइसियुमा अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार