‘५६ गढवा’ जम्मा २३ वर्षीया थिइन्। उनका ४ वर्षे छोरा सँगै उनी घोराही बजारमा कोठा भाडमा लिएर बस्दै आएकी थिइन्। ‘५६ गढवा’ को घर घोराहीको केही पहाडी भू-भागमा पर्छ।
छोरालाई राम्रो शिक्षा दिने उद्देश्यका साथ घर परिवारका सल्लाहमा उनी बजारमा बस्दै आएकी थिइन्।
‘५६ गढवा’ का श्रीमान् रोजगारीको सिलसिलामा खाडी मुलुकमा छन्।
घोराहीकै पहाडी भूभाग आएकी ‘५६ गढवा’ अलि सोझी, अरूको कुरा छिट्टै विश्वास गर्ने, कसैको सानो प्रलोभनमा पर्ने सरल स्वभावकी थिइन् । उनको स्वभाव अलि सुस्त प्रकृतिको छ।
ती ‘५६ गढवा’ सँग दाङको तुलसीपुर उपमहानगरपालिका–१६ घर भई हाल घोराही उपमहानगरपालिका–१५ डिके पेट्रोलपम्प नजिकै डेरा गरी बस्ने ३० वर्षीय राजेश नेपालीकी कान्छी श्रीमती राधा पाण्डेयसँग हिमचिम बढ्छ। राजेशकै सल्लाहमा राधाले ‘५६ गढवा’ सँग मित्रताको सम्बन्ध गाँस्दै बलियो बनाउँदै लगेकी हुन्छिन्।
उमेरमा राम्रो लाउने र मिठो खाने रहर कसलाई हुँदैन? ‘५६ गढवा’ मा पनि त्यो चाहना हुने नै भयो। ‘५६ गढवा’ को चाहना बुझेरै राजेशको निर्देशनमा राधाले नेपाल–भारतको नाका कृष्णनगरमा घुम्न जाने र त्यहाँबाट सस्तोमा लत्ता कपडा र सामान किनेर ल्याउने कुरा गर्छिन्।
‘५६ गढवा’ सँग खाडी मुलुकबाट श्रीमानले पठाइदिएको केही पैसा छँदै थियो।
गाडी आफ्नै रहेको हुँदा कृष्णनगर घुमेर आउने र सस्तो सुलभ मूल्यमा कपडा लत्ता लगायतका सामान पनि किनेर ल्याउने राधाको कुराले ‘५६ गढवा’ को मनमा खुसी छायो।
राधाका श्रीमान राजेशको योजना मुताविक सबै काम भइरहेको थियो। सरसल्लाह गरी ‘५६ गढवा’ माघ ४ गते ४ वर्षे आफ्नो छोरासहित कृष्णनगर जान भनेर राजेश र राधा सँगै जान्छिन्। गाडीमा यति चार जना मात्रै सवार थिए। ‘५६ गढवा’ पहाडी भूभागमा जन्मे हुर्किएकी हुँदा छलकपट नजान्ने सिधासाधा थिइन्।
त्यही सोझोपन माथि राजेशको बक्रदृष्टि थियो। राजेशको मनमा पाप जागेको थियो। उनी ‘५६ गढवा’ लाई भारतमा लगेर बेच्ने योजनाका साथ काम गरिरहेका थिए। त्यही मुताबिक उनीहरूले ५६ गढवालाई भारतको जिल्ला बलरामपुर इमिलिया (मकुनहवा) पुर्याउँछन्।
जहाँ राजेशका आफन्तहरू पनि बस्दै आएका थिए। त्यहाँ पुर्याएपछि आफन्तको सम्पर्कबाट राजेशले ‘५६ गढवा’ र उनका छोरालाई भारत उत्तर प्रदेश जिल्ला बलरामपुरका एक ब्यक्तिलाई ३५ हजार भारूमा बिक्री गर्छन्।
‘५६ गढवा’ र उनका छोरालाई तीन वटा श्रीमती बिहे गरेका, तर कोही साथमा नभएका बलरामपुर इमिलिया (मकुनहवा) भन्ने गाउँका एक जना वृद्धको घरमा बिक्री गरेपछि राजेश र राधा 'बस्दै गर्नु, थोरै काम पर्यो, एकै छिनमा फर्किन्छौं' भन्दै त्यहाँबाट निस्कन्छन्। पूरै दुर्गम बस्ती र खण्डहर जस्तो ठाउँमा ‘५६ गढवा’ र उनका छोरा बन्धक भइसकेका थिए। तै पनि ‘५६ गढवा’ राजेश र राधा फर्केर आउने र आफूहरूलाई साथमै घर फर्काएर लैजाने आशामा बस्छिन्।
घरमा वृद्ध भए पनि उनका छोरा इमिलिया (मकुनहवा) ४९ वर्षीय रामनिवास मौर्यले ‘५६ गढवा’ लाई आफूले खरिद गरेको हुँदा आफूले जे भन्यो त्यही मान्नुपर्ने कुरा गर्न थाल्छन्। भनेको नमान्दा ‘५६ गढवा’ माथि हातपात र कुटपिट हुन थाल्छ। यौन हिसाको प्रयासका साथै कुटपिट पनि हुन थालेपछि ‘५६ गढवा’ निकै आत्तिन्छिन्।
त्योभन्दा पहिला माघ ७ गते घोराही बजारमा कोठा भाडामा बस्दै आएका छोरी र नाति बेपत्ता भएपछि माइती घरका आमा बुवाले छोरीको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका हुन्छन्। सोही दिनमै प्रहरीले ‘५६ गढवा’ र उनका ४ वर्षे नाबालक छोराको खोजीका लागि हुलिया कटाइ आन्तरिक रूपमा देशभर सर्कुलेसन जारी गरिसकेको हुन्छ।
तर, ‘५६ गढवा’ र उनका ४ वर्षे नाबालक छोराको कतै अत्तोपत्तो लाग्दैन।
त्यसको केही दिनमै ‘५६ गढवा’ ले दाङको घोराहीमा बस्ने आफ्नी आमालाई फोन गरी आफूलाई राजेश र राधाले भारतमा ल्याई ३५ हजार भारूमा बेचेर फर्किएको हुँदा प्रहरीलाई भनेर जसरी हुन्छ आफ्नो उद्धार गर्न रूँदै आग्रह गर्छिन्। जुन घरमा उनी बेचिएकी थिइन्, इमिलिया (मकुनहवा) (मौर्य परिवार) काम विशेषले बाहिर गएको समयमा ‘५६ गढवा’ले मौका छोपेर आमालाई फोन सम्पर्क गरेकी थिइन्। भारतीय नम्बरबाट।
छोरीको फोनको आधारमा ‘५६ गढवा’ का आमा बुवा जिल्ला प्रहरी कार्यालय घोराहीमा पुग्छन्। छोरीले भनेका सबै कुराहरू जिल्ला प्रहरी कार्यालयमा पुगेर जिल्ला प्रहरी प्रमुख अर्जुन तिमिल्सिना र डिएसपी चक्रबहादुर शाहलाई अवगत गराउँछन्।
त्यसपछि प्रहरीले थप अनुसन्धान सुरू गर्छ। मिसन ‘५६ गढवा’ को उद्धारका लागि योजनाहरू बताउँछ।
माघ १५ गते नेपाल – भारत सीमा नाका कोइलाबास नाकासँग सिमाना जोडिएको प्रहरी इकाई, इलाका प्रहरी कार्यालय गढुवाकी प्रमुख प्रहरी निरीक्षक कालिका कार्की नेतृत्वमा ‘५६ गढवा’को उद्धारका लागि ३ सदस्य टोली बन्छ। उनीहरूलाई उद्धारका लागि खटाउँछ। साथमा ‘५६ गढवा’ का बुवा–आमा र शान्ति पुनर्स्थापना गृह कोइलावासको टोली पनि जान्छ।
प्रहरी निरीक्षक कालिका जुन नम्बरबाट ‘५६ गढवा’ले एक पटक आफ्नी आमालाई फोन सम्पर्क गरेकी हुन्छिन्, त्यही नम्बर खोज्दै र पछ्याउँदै अगाडि बढ्छिन्। भारतीय प्रहरीसँग सहयोग माग्छिन्।
भारत उत्तर प्रदेश जिल्ला बलरामपुरको प्रहरीलाई आफूहरू आउनुको कारण र उद्देश्य स्पष्ट पार्छिन्। त्यसपछि भारतीय प्रहरी पनि सहयोगका लागि तयार हुन्छ। ‘५६ गढवा’ ले नेपालमा आमालाई सम्पर्क गरेको फोन नम्बर भारतीय प्रहरीसँगै उनीहरू पनि पछ्याउँदै अगाडि बढ्छन्।
बल्ल प्रहरी निरीक्षक कालिका सहितको साधा पोशाकका प्रहरी भारतको जिल्ला बलरामपुर इमिलिया (मकुनहवा) बस्ने महराजदिन मौर्याको ४९ वर्षीय छोरा रामनिवास मौर्यको घरमा पुग्छन्।
बुवा – आमा आएको देखेर ‘५६ गढवा’ दौडिएर आइपुग्छिन्। त्यसपछि उनका नाबालक छोराको पनि उद्धार हुन्छ। प्रहरीसँग भारतीय नागरिक रामनिवास मौर्यले आफूले ‘५६ गढवा’ लाई ३५ हजार भारूमा खरिद गरेको हुँदा नदिने दाबी गर्छन्। तर, प्रहरी र कानुनको अगाडि उनी झुक्न बाध्य हुन्छन्।
मौर्यका अनुसार राजेशले त्यहाँ बस्ने आफन्तमार्फत नेपाली महिला ६० हजार भारूमा बिक्रीका लागि आएको भनेर इमिलिया (मकुनहवा) ले गुपचुप सूचना फैलाएका थिए। त्यो थाहा पाएपछि मोलमोलाई हुँदै जाँदा आफूले ३५ हजारमा खरिद गरेको मौर्यले तत्काल प्रहरी समक्ष बयान गरेको प्रहरी निरीक्षक कालिका कार्कीले बताइन्।
‘५६ गढवा’ र उनका ४ वर्षे छोराको उद्धार गरी आफूहरू माघ १७ गते कार्यालय फर्किएको कालिकाले बताइन्। त्यो बीचमा ‘५६ गढवा’ र उनका अवोध ४ वर्षे छोराको सिधासाधापनले आफूलाई मर्माहत तुल्याएको पनि उनले बताइन्। धेरे सोझो हुनु, धेरैको विश्वास, कसैले सानो आशा देखाउँदा मख्ख पर्नु जस्ता सहज व्यवहारका कारण ‘५६ गढवा’ले दुःख पाएको कालिका ठान्छिन्।
‘५६ गढवा’ र उनका नाबालक छोरालाई उद्धार गरी ल्याइसकेपछि उनीहरूको जाहेरीका आधारमा प्रहरीले आरोपितहरूको खोजी सुरू गरेको थियो।
प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१७ गुलरियाबाट माघ २२ गते राजेश र राधाका दम्पतीलाई पक्राउ गरेको थियो भने माघ २६ गते भारतीय प्रहरीको सहयोगमा गढवा गाउँपालिका – ८ कोइलावासबाट ‘५६ गढवा’ लाई खरिद गर्ने मौर्यलाई पक्राउ गरेको थियो।
राजेश र राधा दम्पतीका साथै भारतीय नागरिक मौर्य तीनै जनाका विरूद्ध मानव बेचविखन शिर्षकमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।