जतिबेला सन् १९९३ मा डा.अन्जना प्रधान राजभण्डारी दन्त चिकित्सक बनेकी थिइन्, त्यो बेला महिलाहरू डाक्टर बन्ने भन्ने बिरलै थियो। आम मानिसको बुझाइमा त कल्पनाभन्दा बाहिरको कुरा थियो। त्यही भएर उनी त्यो बेलाका केही घटना सुनाउँछिन्।
उनले दाँतको उपचार गर्दैगर्दा मान्छेहरू महिला पनि डाक्टर हुन्छ र? भन्दै उपचार गराउन मान्दैनथे। कति पटक त उनीकहाँ आएका बिरामी फर्किएर समेत गएका थिए।
'एक त त्यो समयमा दाँतको पनि अलग्गै डाक्टर हुन्छ भन्ने चलन थियो। अनि महिला डाक्टर हुन्छन् भनेर त सोच्ने चलनसम्म थिएन,' प्रा.डा.अन्जनाले भनिन्, 'हामीले बिरामीलाई बुझाउन निकै गाह्रो हुन्थ्यो। सेतो कोर्ट लगाएर कुनै छोरा मान्छे उभिनसाथ उनीहरूलाई डाक्टर साब भन्थे। हामीलाई सिस्टर भनेर बोलाइन्थ्यो।'
अहिले त प्राध्यापक डा.अन्जना प्रधान राजभण्डारीलाई यो घटना सुनाउँदा रमाइलो लाग्छ। किनकि समय धेरै फेरिएको छ। कति बिरामी उनीबाटै उपचार गराउने भनेर खोज्दै आउँछन्। महिलाले पनि उपचार गराउन सक्छन् र भनेर प्रश्न गर्ने समाज भोगेर आएकी प्रा.डा.अन्जनालाई अहिलेको अवस्था हेर्दा आकाश र जमिनको परिवर्तन भएजस्तो लाग्छ।
प्रा.डा.अन्जना भन्छिन्, 'अहिले त महिला पुरूष डाक्टरहरू नै बराबरीको संख्यामा हुन लागिसकेका छन्। मैले डाक्टरी पढ्दै गर्दा छोरीहरूले पढ्न समेत पाउँथेनन्। तर मलाई बुवाआमाले त्यो बेलामा आफ्नै खर्चमा डेन्टिस्ट पढ्न भारत पठाउनुभयो। त्यस अर्थमा त म धेरै भाग्यमानी हो।'
![WhatsApp-Image-2025-02-12-at-11.36.05-PM-copy-1739534316.jpg](https://www.setopati.com/uploads/posts/WhatsApp-Image-2025-02-12-at-11.36.05-PM-copy-1739534316.jpg)
प्रा.डा.अन्जनाले आफू डाक्टर बनेको सबै श्रेय आफ्नी आमालाई दिन्छिन्।
पाल्पामा जन्मिएकी अन्जनाको बाल्यकाल कहिले कता, कहिले कता गर्दै बित्यो। किनिक उनका बुवा राजेन्द्र प्रधान सरकारी कर्मचारी भएकाले बुवाको सरूवासँगै उनको पनि बसाइ सर्थ्यो।एसएलसी दिने बेलामा भने उनी काठमाडौं आइपुगेकी थिइन्।
धेरैतिर पढ्दै काठमाडौं आइपुगेकाले एसएलसीमा गतिलो नतिजा आउँदैन जस्तो लागेको थियो। तर उनले राम्रो नम्बर ल्याइन्। त्यसपछि पद्मकन्या क्याम्पसमा आइएस्सी पढिन्। आइएस्सी पास गरेपछि उनकी आमा बन्दना प्रधानले डाक्टर बन्नुपर्छ भनेर जोड गरिन्। बिएस्सी भर्ना गर्ने अनि डाक्टरीको पढाइका लागि तयारी एकैपटक भयो। सरकारी कोटामा डाक्टर पढ्न गाह्रो हुने भएपछि उनी डेन्टल पढ्न दक्षिण भारतको दावन गिरी गएकी हुन्।
सन् १९९३ मा ग्र्याजुएट गरेर आइसकेपछि केही समय काम पाउन कठिन भयो। किनिक त्यो बेला डेन्टलको विकास राम्रोसँग भइसकेको थिएन। जम्माजम्मी १४/१५ जना मात्र डेन्टिस्ट थिए। वीर र टिचिङ हस्पिटल बाहेक अन्यत्र डेन्टिस्टको कोटा समेत थिएन। केही समय काठमाडौंको ज्याठामा रहेको डा.मनिकरत्न बज्राचार्यको क्लिनिकमा काम गरेपछि उनी ओम नर्सिङ होममा आबद्ध भइन्। त्यहीबाट हो उनले आफ्नो व्यावसायिक यात्रा सुरू भएको बताइन्।
यही क्रममा नेपालमा डेन्टल कलेज सुरू गर्ने तयारी भयो। त्यसपछि सन् १९९७ मा पिपल्स डेन्टल कलेज सुरू भयो। २० जना विद्यार्थीबाट सुरू भएको यो कलेज नेपालकै पहिलो डेन्टल कलेज समेत हो। अर्थात् त्यो बेलासम्म नेपालमा डेन्टलको पढाइ हुन्थेन।
'२०/२२ जना विद्यार्थीबाट डेन्टल कलेज सुरू गरेका ती दिनहरूको मलाई अहिले पनि याद आउँछ। नेपालमा डेन्टल एजुकेसनको एउटा सुरूआतकर्ता हुन पाएकोमा आफूलाई गौरव लाग्छ,' प्रा.डा.अन्जनाले भनिन्, 'अहिले त नेपालमा १४ वटा डेन्टल कलेज छन्। ७ वटामा स्नातकोत्तर पढाइ हुन्छ। ५ हजार दन्त चिकित्सकमध्ये १४ सय विशेषज्ञ छन्।'
आमाको जोडबल र बुवाको दरिलो साथले उनी दन्त चिकित्सक बन्न सफल भइन्। दन्त चिकित्सक बनेर आइसकेपछि उनको बिहे भयो आमा बनिन्। यस्तो अवस्थामा आफ्नो परिवार, काम र पढाइलाई अगाडि बढाउन निकै चुनौतीपूर्ण हुन्छ। तर उनका श्रीमान अनिल राज भण्डारी (जो होटल व्यवसायी हुन्) को साथले यो सबै सहज बनायो।
![WhatsApp-Image-2025-02-12-at-11.55.37-PM-1739534151.jpeg](https://www.setopati.com/uploads/posts/WhatsApp-Image-2025-02-12-at-11.55.37-PM-1739534151.jpeg)
'जब कलेज स्थापना भयो। मैले एकेडेमिक रूपमा धेरै समय दिएँ। मलाई आफू बाहिर गएर पढेको बाध्यता अरूलाई नपरोस् भन्ने थियो। त्यही भएर बिरामी परीक्षणभन्दा पनि पढाउनमै धेरै समय खर्च भयो,' उनले भनिन्, 'कलेज सकेर साँझ क्लिनिकमा पनि काम गर्थें। त्यसले मानसिक र शारीरिक थकान हुन्थ्यो तर पनि चुनौतीलाई सामान गरेर अघि बढेँ।'
सन् २००४ मा उनी अर्थोडेन्टिक पढ्न फिलिपिन्स गइन्। जतिबेला उनकी ठूली छोरी ३ वर्षकी मात्रै थिइन्। छोरी हेर्ने जिम्मेवारी उनका श्रीमान अनिल राजभण्डारीले लिएपछि पढाइमा सहजता भयो।जब उनी अर्थोडेन्टिस्ट बनेर आइन् त्यसपछि पिपल्स डेन्टल कलेजले पनि मास्टर्सको पढाइ सुरू गर्यो।
उनको समय र अहिले तुलना गर्दा दाँतको उपचारमा समेत धेरै परिवर्तन आइसकेको छ। सबभन्दा ठूलो परिवर्तन भनेको यसको पढाइ, उपचार केन्द्र अनि मानिसको सोचाइमा आएको परिवर्तन हो। यद्यपि सरकारको तर्फबाट दन्त चिकित्सा क्षेत्रमा जुन प्रयास हुनुपर्ने हो त्यो हुन नसकेको उनको बुझाइ छ। जसले गर्दा दक्ष जनशक्ति विदेशिने क्रम बढेको उनले बताइन्।
'डेन्टल उपचार सहरी क्षेत्रमा केन्द्रित भइरहेको छ। सरकारले कम्तीमा प्रत्येक जिल्लामा एक जना डेन्टिस्ट राख्न सके रोजगारीको अवसर समेत हुन्छ,' उनले भनिन्, 'हाम्रो पालामा विदेशमा पढेर नेपालमा सेवा गर्न तयार थियौं। अहिलेका बच्चाहरू यहाँ पढेर विदेशमा सेवा गर्न गइरहेका छन्। यसमा सरकार गम्भीर हुन जरूरी छ जस्तो लाग्छ।'
प्रा.डा अन्जनाको दैनिकी कलेज पढाउने अनि आफैले सुरू गरेको द पर्फेक्ट स्माइल अर्थो डेन्टल क्लिनिकमा बिरामी हेरेर बित्छ।
उनको हकमा एउट संयोग परेको छ। उनलाई जसरी आमाले जोडबल गरेर डाक्टर बनाइन्। उनले पनि आफ्नी जेठी छोरी आस्था राजभण्डारीलाई डाक्टर बनाएकी छन्। पिपल्स डेन्टल कलेजबाट डेन्टिस्टको पढाइ सकेकी डा.आस्था राजभण्डारी अहिले भारतको बैंगलुरूमा अर्थोडेन्टिक पढ्दैछिन्। सानी छोरी आदिश्री राजभण्डारी बेलायतमा कम्प्युटर साइन्स पढ्दैछिन्।
'जेठी छोरीलाई मैले सानैदेखि कलेजमा लैजाने गर्थें। जब उनको स्कुल बिदा हुन्थ्यो। उनी मसँगै डेन्टल कलेजमा जान्थिन्। उनी कलेजमै हुर्केकी हुन् भन्दा पनि फरक पर्दैन,' प्रा.डा अन्जनाले भनिन्, 'मैले विस्तारै उनलाई कन्भिन्स गर्दै गएँ। उनी पनि डेन्टिस्ट बन्न तयार भइन्। मैले विशेषज्ञता गरेकै विषयको उनी विशेषज्ञ बन्दैछिन्।'
समय जति फेरिए पनि महिलाका आफ्नै चुनौती रहेको उनको मूल्यांकन छ। एउटा महत्वकांक्षा लिएर अगाडि बढ्न खोज्ने महिलालाई अझै धेरै चुनौती रहेको उनले बताइन्।
'जतिबेला महिलाहरूले आफ्नो पढाइ सकेर करिअर सुरू गर्छन्। त्यही बेलामा बिहे गर्ने अनि बच्चा जन्माउने समय पनि हुन्छ। घर, परिवार, काम अनि बच्चा एकसाथ अगाडि बढाउनु ठूलो चुनौतीको कुरा हो,' उनले भनिन्, 'सबै महिलाले मैले जस्तै अवसर पाउँछन् भन्ने छैन। मलाई बिहे नभइन्जेल बुवा आमाले र बिहेपछि श्रीमानले पूर्ण रूपमा स्वतन्त्र छोडेकाले मात्रै यो सम्भव भएको हो।'