जीवनको ऊर्जावान उमेर कमैया भएर बिताएका आमाबुवाकी छोरी हुन् निर्मला चौधरी। उनले आफ्ना आमाबुवाले अर्काको घरमा रातदिन खटेर काम गरेको देखिन्। आमाले अरूका घरमा भाँडा माझेको, लुगा धोएको, गाईवस्तुको स्याहार गरेको र यस्तै अनेक काम गरेको देखिन्।
कमैया भएर जमिनदारको काम गर्नु त छँदै थियो, थोरै फुर्सद भए आमाबुबा जंगलबाट दाउरा ल्याएर बजारमा बेच्थे। पैसाका लागि ढिकी कुट्थे, भारी बोक्थे।
निर्मलाकी आमा कुइरीदेवी ८१ वर्ष उमेरकी छन्। उनले १४ जना छोराछोरी जन्माइन्। तीमध्ये पाँच जना हुर्किन पाएनन्, बिमारले लग्यो। पाँच छोरी र चार छोरा हुर्के, बढे। श्रीमान बितेको १० वर्ष भयो। जेठा छोरा घरजम गरेपछि बिते।
कुइरी र उनका श्रीमानले कमैया भएर दुःखले आफ्नो ज्यान पाले, छोराछोरी हुर्काए। रातदिन काम गरेबापत पेटभरि खाना प्राप्त हुन्थ्यो। काम गर्न नसक्ने साना छोराछोरीले पनि दुई छाक खान पाउँथे। साह्रै जरूरी परेका बेला थोरैतिनो पैसा पनि प्राप्त हुन्थ्यो।
कमैया भएर छोराछोरी हुर्काउँदैमा ठिक भयो, पढाउन सकेनन्। मुस्किलले खान दिन सके। छोरा जति आमाबाबुसँगै कमैया भएर हुर्के। छोरी जति कम्लहरी भए।
कुइरीका अनुसार उनका ससुराको नाममा थोरै जग्गा थियो तर पछि खोइ के कारणले हो, त्यो पनि आफ्नो रहेन। सरकारले कमैयामुक्ति घोषणा गरेपछि उनीहरू सबै साहुको अधीनबाट मुक्त भए।
कुइरीले भनिन्, ‘कमैया भएर बस्दा सन्तानलाई खाना दिन मात्र सकेँ, पढाउन सकिनँ।’
नौ जना छोराछोरीमा निर्मला सबभन्दा कान्छी हुन्।
उनका दाजुदिदी कसैले पनि पढेनन्। खासमा उनीहरूले पढ्न पाएनन्। पढाइका लागि अवसर नै जुरेन। निर्मला स्कुलमा पढ्दा उनका दाजुका छोराछोरी पनि पढ्ने उमेरका भएका थिए। उनका साथ दाजुका छोराछोरी पनि स्कुल जान्थे।
निर्मलाले धनगढीको त्रिभुवन माध्यमिक विद्यालयबाट कक्षा १२ सम्मको पढाइ पूरा गरिन्। कैलाली बहुमुखी क्याम्पसबाट समाजशास्त्र र ग्रामीण विकास विषयमा स्नातक तह पढिन्।
त्यसपछि समाजशास्त्र विषयमा यही २०८१ सालमा स्नातकोत्तर तह पूरा गरिन्।
निर्मला कमैया आमाबाबुकी छोरी थिइन्, उनको पढाइ चलिरहेका बेला बुबाको मृत्यु भएको थियो। यस्तो परिस्थितिमा लगातार स्नातकोत्तरसम्मको पढाइ पूरा गर्नु उनका लागि सजिलो काम थिएन।
पाँच कक्षासम्म स्कुलबाट निःशुल्क किताब पाइन् तर कापी, कलम, झोला, पोसाक र अन्य खर्च आमाबुबाले नै पुर्याउनुपर्थ्यो।
निर्मला चाडवाडमा जम्मा भएको पैसा जोगाएर पनि कापीकलम किन्थिन्।
कक्षा ६ मा पुगेपछि किताब पनि किन्नुपर्ने भयो। स्कुलको खर्च बढ्दै जाने भयो। उनको पढाइ रोकिने लक्षण देखियो। निर्मलाले पनि पढाइ माया मार्ने नै भइन्।
उनका एक जना दाजुले उपाय खोजेछन्। एक दिन दाजुले ‘ग्रामीण स्वास्थ्य, शिक्षा, सेवा गुठी’ नामको स्थानीय एक गैरसरकारी संस्थाका मान्छेसँग कुरा गरेछन्, बहिनीको पढाइका लागि सहयोग गर्न आग्रह गरेछन्।
त्यही संस्थाले १२ कक्षासम्मको सबै पढाइ खर्च बेहोरिदिने भयो। त्यसैअनुसार उनले सहयोग पाइन्। रोकिनै लागेको पढाइ अघि बढ्यो।
संस्थाले विद्यालयको शुल्क तिरिदियो। कपीकिताब, झोला, छाता, पोसाक, जुत्ता सबै किनिदियो।
‘पैसा नभएर पढाइ माया मारिसकेकी थिएँ। गाउँको संस्था अभिभावक बनेर आयो,’ उनले भनिन्, ‘संस्थाकै सहयोगमा ७ देखि १२ कक्षासम्म पढेँ। सबै खर्च संस्थाले नै बेहोर्यो।’
स्नातक तहमा भर्ना हुने समय आयो तर पैसा भएन। उनी जसरी पनि पढ्न चाहन्थिन्। आमा सरकारबाट सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) पाउँथिन्। त्यसबाट आमाले थोरैतिनो जोगाएकी पनि थिइन्। भत्ता त निरन्तर आइरहने हो।
निर्मलाले एक दिन भत्ताको पैसा दिएर आफ्नो पढाइमा सहयोग गर्न आमासँग आग्रह गरिन्।
आमाको मन न हो, कसरी नाइँ भन्थ्यो र! आमा सहमत भइन्। आफूले बचाएको पैसा दिइन्। भत्ता आउँदैपिच्छे चाहिएको जति दिने वचन पनि दिइन्।
निर्मलाको खुसीको सीमा रहेन। उनी स्नातक तहमा भर्ना भइन्। क्याम्पसमा प्राप्त हुन सक्ने छात्रवृत्तिका लागि निवेदन दिइन्। त्यो पनि प्राप्त भयो। आखिर आमाको पैसा सधैं चलाउन परेन।
‘आमाको वृद्धभत्ताले ब्याचलर (स्नातक तह) मा भर्ना भएकी थिएँ। त्यसपछि खुरूखुरू पढ्न पाएँ,’ निर्माला भन्छिन्, ‘दाजु र आमाको सहयोगले म मास्टर्स (स्नातकोत्तर) पास गर्ने घरको पहिलो सन्तान भएकी छु।’
स्नातकोत्तर तहमा भर्ना हुनुअघि फुर्सदको समयमा निर्मलाले स्थानीय एक कम्पनीमा धुपबत्ती बनाउने काम गरिन्। त्यस कामबाट ४० हजार रूपैयाँ बचाइन्।
आफूले बचाएको पैसा र आमाको केही सहयोगले स्नातक तहको पढाइ सुरू गरिन्। पढ्दै गर्दा बिदाको समयमा फाटफुट मजदुरी गरेर पनि खर्च जुटाइन्।
स्नातकोत्तर तहको पढाइ पूरा भएको छ। हाल उनी योग्यताअनकूल रोजगारीको खोजीमा छिन्।
भन्छिन्, ‘आमाको भत्ताले मास्टर्स गरेँ। अहिले जागिरको खोजीमा छु।’
हाल उनी आसपासका स्कुले विद्यार्थीहरूलाई समूहमा ट्युसन पढाउँछिन्। विद्यार्थीहरू उनको घरमै आउँछन्। विद्यार्थीले तिर्ने शुल्क नै थोरै भए पनि उनको आम्दानीको स्रोत भएको छ। उनी एक जनासँग मासिक पाँच सय रूपैयाँ लिन्छिन्।
निर्मलाले मोबाइल फोन चलाउन थालेको तीन वर्ष भयो। घरमा इन्टरनेट सुविधा छैन। डाटा किनेर कहिलेकाहीँ इन्टरनेटमा चल्छिन्। घरधुरी सर्वेक्षणसम्बन्धी एउटा कामबाट आएको पैसाले स्मार्ट फोनसेट किनेकी हुन्, मोबाइल फोन।
उनी मोबाइलमा थोरै समय फेसबुक चलाउँछिन्। बढीजसो समाचार र लोक सेवा आयोगका पुराना प्रश्नहरू हेर्छिन्, त्यसैसम्बन्धी पढ्छिन्।
उनको रूचि सरकारी जागिरमा छ। यस निमित्त लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्नुपर्छ भन्ने उनलाई जानकारी छ। दुई पटक परीक्षामा सहभागी भइसकिन् तर सफल भइनन्।
‘लोक सेवामा नाम निकाल्न सामान्य पढाइले हुँदैन। किताब पनि महँगो हुँदो रहेछ। कक्षा (तयारी कक्षा) लिन पनि निकै महँगो हुँदो रहेछ। मसँग पैसा छैन,’ उनले भनिन्, ‘दुई पटक खरिदारको परीक्षा दिएँ, नाम निस्किएन।’
एक वर्षअघि उनले लोक सेवा आयोगको निःशुल्क तयारी कक्षामा सहभागी हुने अवसर पाइन्। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले एक महिना अधिकृत छैटौं तहको निःशुल्क तयारी कक्षा चलाएको थियो।
दुई पटक असफल भए पनि उनले हिम्मत हारेकी छैनन्।
‘लोक सेवातिर नाम निकालेरै छोड्ने लक्ष्य छ। मेहनत गर्दैछु,' उनले भनिन्।
निर्मला साहिँला दाजुका परिवारका साथ बस्छिन्। आमा पनि सँगै छिन्। बसाइ धनगढी उपमहानगरपालिका–३, फास्लामा छ। आफ्नो जमिन छैन। अधियाँमा खेती गरेका छन्। दाजुले त्यही जमिनमा तीन कोठाको घर बनाएका छन्।