त्रिशूली नदीमा खसेका युवकको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित नं. ३ पुलमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा खसेका मोटरसाइकल चालकको खोजी गर्न गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल नारायणघाटबाट मुग्लिनतर्फ आउँदै थियो। बिहान करिब ११ः४० बजे दुर्घटना भएको थियो।
दुर्घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमाण्डमा ६ जना गोताखोर सहितको सुरक्षा फौज परिचालन भएको हो।
दुर्घटनास्थलबाट प्रहरीले भारतीय सेनाको कार्ड र नागरिकता फेला पारेको छ।
लमजुङ चन्देश्वर घर भई चितवन भरतपुर महानगरपालिका-१ रामनगरका २७ वर्षीय भारतीय सेनामा काम गर्ने रोहित रानाको परिचय पत्र फेला परेको थियो।
प्रहरीले दुर्घटनामा परेको मोटरसाइकलका चालक उनी नै हो वा होइन भन्नेबारे यकिन गरिसकेको छैन।