जाडोमा रक्सी खायो भने शरीर तात्तिन्छ र चिसोबाट बच्न सकिन्छ भन्ने धेरैलाई लाग्छ। तर मुटुरोग विशेषज्ञ डा. स्मृति शाक्य यो भ्रम भएको बताउँछिन्।
'जाडोमा रक्सीले तातोपना ल्याउँछ, चिसो भगाउँछ भन्नु भ्रम मात्र हो,' डा. शाक्यले सेतोपाटीसँगको कुराकानीमा भनिन्, 'रक्सीले हाम्रो शरीरको कुनै पनि अंगलाई राम्रो गर्दैन। यो विज्ञानले समेत प्रमाणित गरिसकेको छ।'
उनका अनुसार पहिला थोरै रक्सी खाँदा शरीरलाई फाइदा हुन्छ भनिन्थ्यो, तर त्यो पनि गलत हो भन्ने पुष्टि भइसकेको छ। थोरै मात्रामा रक्सी खानु पनि विषालु पदार्थ सेवन गरेजस्तै हो भनेर बुझ्नुपर्ने उनी बताउँछिन्।
उनले जाडोमा मुटसँग सम्बन्धित समस्या बढ्नुका कारण पनि बताइन्।
जाडोमा मुटुको समस्या, उच्च रक्तचाप, कोलस्ट्रोल जस्ता समस्या अलि धेरै देखिन्छन्। जाडोमा हाम्रो शरीरले तातोपना जोगाएर राख्ने भएकाले नसाहरू खुम्चिन्छन्। यसरी नसाहरू खुम्चिँदा रक्तचाप बढ्ने र मुटुलाई दबाब पर्ने उनको भनाइ छ।
त्यस्तै, जाडोमा हाम्रो खानपिनमा समेत परिवर्तन आउँछ। हामीले अलि धेरै चिल्लो खानेकुरा खान्छौं। एकै ठाउँमा न्यानो गरी बस्ने, बाहिर धेरै नजाने, शारीरिक गतिविधि नगर्ने, व्यायाम नगर्ने लगायत कारणले क्यालोरी सञ्चित हुन्छ। यसले मुटुरोगको जोखिम बढाउने उनी बताउँछिन्।
'जाडोमा रक्सीको सेवन पनि धेरै गर्ने चलन हुन्छ। त्योसँगै धूमपानको सेवन पनि हुन्छ। जाडोमा तनावको मात्रा पनि धेरै हुन्छ। यी सबै कारणले रक्तचाप, कोलस्ट्रोल बढ्छ,' उनले भनिन्।
डा. शाक्यका अनुसार रक्तचाप, कोलस्ट्रोल लगायत रोगको कारणलाई तीन भागमा बाँड्न सकिन्छ — खानपिन, वंशाणुगत र थाइराइड, डाइबिटिज लगायत रोग।
'यस्ता रोग युवालाई हुँदैन, वृद्ध अवस्थामा मात्र हुन्छ भन्ने एउटा बुझाइ छ। त्यसैले युवा अवस्थामा खानपिनमा ध्यान दिइँदैन, अनुशासित भइँदैन। धेरै जंकफुड खाइन्छ। यसले हाम्रो मुटुलाई हानि गरिरहेको हुन्छ। मोबाइल र ल्यापटप प्रयोगले व्यायामको कमी भइरहेको छ भने युवा अवस्थामा धूमपान र मद्यपानलाई फेसनका रूपमा लिइन्छ। अझै युवाहरू हुक्का तानेर बसिरहेका हुन्छन्। इ-सिग्रेट तानिरहेका हुन्छन्। यी सबै कारणले युवा अवस्थामा मुटुको समस्या बढ्दै जान्छ,' उनले भनिन्।
चुरोट, सुर्तीभन्दा हुक्का कम हानिकारक छ भन्नु पनि भ्रम मात्र भएको उनी बताउँछिन्।
'हुक्का झन् हानिकारक हुन्छ। खासमा सुर्तीजन्य पदार्थ र रक्सी सबै हानिकारक हुन्छन्। त्यसैले यस्ता पदार्थबाट टाढा रहनुपर्छ,' उनले भनिन्।
पूरा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्: