घट्दो जनसंख्याको कारण चिन्तित चीनमा गत वर्ष विवाहको संख्या २० प्रतिशतले घटेको छ।
चीनको नागरिक मामिला मन्त्रालयले भर्खरै सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष विवाह दर्ता संख्या ६१ लाखमा झरेको छ। सो संख्या चीनले सन् १९८६ मा विवाह दर्ताको सार्वजनिक अभिलेख राख्न थालेपछिकै सबभन्दा कम रहेको ब्लुमबर्गले जनाएको छ। यो सन् २०१३ मा पुगेको उच्चतम संख्याको आधा भन्दा पनि कम हो।
कोभिड महामारी अन्त्य भएपछि सन् २०२३ मा वृद्धि भएर विवाहको संख्या बढेर ७७ लाख नजिक पुगे पनि सन् २०२४ मा फेरि घटेको छ।
चीन सरकारले घट्दो जनसंख्यालाई सम्बोधन गर्न युवालाई विवाह गर्न र विवाहित दम्पतीलाई बच्चा जन्माउन प्रोत्साहन गरिरहे पनि सफल हुन सकेको छैन।
चिनियाँले सन् २०२४ लाई ‘विधुवा वर्ष’ भनेर अशुभ मान्ने भएकाले विवाह दर्ता केही घटेको हुन सक्छ। तर पनि समग्रमा चीनमा पछिल्ला वर्ष विवाह र जन्मदर दुवै घटिरहेको छ।
चीनको जनसंख्या सन् २०२४ मा लगातार तेस्रो वर्ष घटेको थियो। चिनियाँ ज्योतिषशास्त्रमा ड्रेगन वर्ष बच्चा जन्माउनका लागि शुभ मानिने भएकाले गत वर्ष अघिल्लो वर्षको तुलनामा पाँच लाख २० हजार बढी बच्चा जन्मिए पनि जनसंख्या भने घटेको थियो। सन् २०२४ मा चीनको कुल जनसंख्या १३ लाख ९० हजारभन्दा धेरैले घटेर एक अर्ब ४० करोड आठ लाखमा झरेको थियो।
ड्रेगन वर्ष बच्चा जन्माउनका शुभ मानिने भएकाले जन्म संख्या बढेर ९५ लाख ४० हजार जति पुगेको थियो। तर पनि सो संख्या सन् १९४९ मा कम्युनिष्ट शासन स्थापना भएपछि दोस्रो सबभन्दा कम थियो। चीनमा सबभन्दा कम बच्चा सन् २०२३ मा जन्मेका थिए।
चीनले यो शताब्दीको अन्त्यसम्ममा कुनै पनि देशले इतिहासमा भोगेको सबभन्दा ठूलो जनसंख्या गिरावट भोग्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिइसकेको छ।
संयुक्त राष्ट्रसंघले गत वर्ष सार्वजनिक गरेको 'वर्ल्ड पपुलेसन प्रस्पेक्ट्स २०२४' का अनुसार सन् २१०० सम्ममा चीनको जनसंख्या आधा भन्दा बढीले घटेर सन् १९५० को दशकको अन्त्यतिरको आकारमा फर्किने सम्भावना ५० प्रतिशत रहेको छ।
सन् २१०० सम्ममा, चीनको जनसंख्या ७८ करोड ६० लाखले घटेर सन् १९५० को दशकको उत्तरार्धको हाराहारी पुग्ने छ।
त्यस्तै संख्याका हिसाबले चीनले अबका तीन दशकमा सबभन्दा धेरै जनसंख्यामा गिरावट खेप्ने छ। सन् २०५४ सम्ममा चीनको जनसंख्या २० करोडभन्दा बढीले घट्ने छ।
जनसंख्याको आधा हिस्सा ओगट्ने पुरूषले बच्चा नजन्माउने भएकाले जनसंख्यालाई घट्न नदिन जनसंख्याको अर्को आधा हिस्सा ओगट्ने महिलाले आफ्नो जीवनकालमा कम्तीमा दुई बच्चा जन्माउनु पर्छ। केही बच्चाको सानैमा मृत्यु हुने भएकाले जनसंख्या सन्तुलनमा राख्न (रिप्लेसमेन्ट रेट) का लागि एक महिलाले आफ्नो जीवनकालमा २.१ बच्चा जन्माउनुपर्ने विज्ञहरू बताउँछन्।
सन्तान जन्माउने उमेरका महिला थोरै भएको, बिहे ढिला गर्न थालेको र बच्चै नजन्माउने प्रचलन बढ्न थालेको लगायत कारणले चीनमा जनसंख्या त्यसरी घट्ने भनेर सो प्रतिवेदनले भनेको छ।
जन्मदर घट्दै गयो भने काम गर्न सक्ने नागरिकको संख्या पनि विस्तारै घट्दै गएर आर्थिक विकासमा नकारात्मक असर पर्ने अर्थविदहरूको भनाइ छ।
स्वास्थ्य विज्ञान र स्वास्थ्य सेवाको विकासले मान्छेको आयु पनि बढ्दै जाँदा न्यून जन्मदर भएको देशमा काम गरेर कर तिर्नेको तुलनामा पेन्सन खाएर बस्नेहरूको अनुपात बढेर राज्यलाई झन् धेरै भार पर्छ।
पछिल्ला वर्षमा अमेरिकासँग प्रतिस्पर्धामा उत्रिएको चीनको जन्मदर र जनसंख्या घट्दै गइरहेको छ। चीनको कम्युनिष्ट सरकारले जनसंख्या नियन्त्रण गर्न सन् १९७९ देखि एक बच्चामात्रै जन्माउन पाउने नीति ल्याएर कडाइका साथ लागू गरेको थियो।
साढे तीन दशकपछि सन् २०१५ मा सरकारले एक बच्चाको नीति हटाए पनि चीनमा जन्मदर बढ्न सकेको छैन। एक बच्चाको नीति हटाए पनि जन्मदर नबढेपछि चीन सरकारले दुई वर्षअघि तीन बच्चा जन्माउन दम्पतीलाई प्रोत्साहन गर्ने निर्णय गरेको थियो।
तेस्रो बच्चा जन्माउन प्रोत्साहनस्वरूप रिटायर्ड हुने समय सार्ने, युवाहरूलाई विवाह र परिवारबारे शिक्षा दिने, चाइल्ड केयर सेवा सुधार्ने र सुत्केरी बिदा बढाउने लगायत निर्णय गरिएको थियो। तर पनि चीनको जनसंख्या र जन्मदर घटिरहेको छ। अहिले चीनको जन्मदर झरेर १.१५ पुगेको बताइन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)