माघ २७ गते एक्टिभिस्ट संगठन 'कास्ट वाच नेटवर्क' (सिडब्लुएन) ले माइतीघर मण्डलमा विरोध सभा गरेको छ। संगठनले गृहमन्त्री रमेश लेखक र आइजिपी बसन्त बहादुर कुँवरमाथि छानबिन होस् भन्ने माग राखी विरोध सभा गरेको सिडब्लुएनका राष्ट्रिय अध्यक्ष डा. मित्र परियारले जानकारी दिए।
उनका अनुसार अन्तरजातीय विवाह गर्ने सत्येन्द्र राम (चमार) माथि गृहमन्त्रीले सत्ताको दुरूपयोग गरेको र आइजिपीलाई समेत प्रभावमा ल्याएर ज्यादती गरेको खबर र आरोपको विरोधमा उक्त सभा आयोजना गरिएको थियो।
परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रम चेतबहादुर विकले सञ्चालन गरेका थिए। संगठनका काठमाडौं उपत्यका इन्चार्ज जनक परियार लगायत विभिन्न अतिथिहरूले सरकारको दलित विरोधी हर्कत र राज्य संयन्त्रको दुरूपयोग हुनु आपत्तिजनक रहेको भन्दै आक्रोश व्यक्त गरेका थिए।
सभामा बोल्दै सामाजिक अभियन्ता आङकाजी शेर्पाले राज्यले नै राज्यस्रोत नै दुरूपयोग गरी दलितमाथिको परम्परागत विभेद र अत्याचार कायम राख्नु खेदपूर्ण भएको बताए।
त्यस्तै, पूर्वमन्त्री गोपाल किराती, पूर्वराजदूत तथा सामाजिक अभियन्ता डा. निर्मल विश्वकर्मा, आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्ष डलमर्दन कामी लगायत वक्ताहरूले तुरून्तै सरकारले आरोपित गृहमन्त्री र आइजिपीमाथि छानबिन गरी, दोषी ठहरिए कारबाही अगाडि बढाउनुपर्ने जोडदार माग राखेका थिए।
यो पनि पढ्नुस्ः