काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार विशेष अदालतमा मेयर बस्नेतविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
उनकाअनुसार मेयर बस्नेतले पदमा रहँदा आठ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप छ।
उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने सूचना अख्तियारले पाएको थियो। उक्त सूचनाको आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
अख्तियारले अनुसन्धान गर्दा विभिन्न ठाउँमा गरेको खर्च र लगानी कुल २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ थियो। त्यस्तै १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँ आय आर्जन भएको देखिएको हो।
कुल खर्च तथा लगानी र आयआर्जन घटाउँदा ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँको सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियारले जनाएको छ। उक्त रकम बिगो कायम गरी अख्तियारले आयआर्जन गरेको सम्पत्तिको बिगोअनुसार दुई वर्षसम्म कैद र बिगो बमोजिमको जरिवाना तिराएर उक्त सम्पत्ति पनि जफत गर्न माग गरेको छ।
त्यस्तै उनले झुट्टा विवरण दिएको भन्दै एक महिनादेखि तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न माग गरेको छ।
नगर प्रमुख सार्वजनिक पदमा बसेर कार्य गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ अनुसार थप तीन वर्षसम्म कैद सजाय माग गरेको छ। दफा ४७ अनुसार सम्पत्ति जफत गर्न पनि माग गरेको छ।
सम्पत्ति जफतकै लागि उनकी श्रीमती उर्मिला बस्नेतलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ।
अख्तियारले यसअघि पनि पुस १४ गते मेयर बस्नेतविरूद्ध मुद्दा दायर गरेको छ। यसअघि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरेको थियो।
उनीविरूद्ध त्यतिबेला भ्रष्टाचारको मुद्दामा ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ र सम्पत्ति शुद्धीकरणको मुद्दामा १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम गरेको हो।
मेयर बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। भ्रष्टाचार मुद्दा लागेपछि उनी निलम्बनमा छन्।