कञ्चनपुरको भीमदत्तनगरकी १७ वर्षीया किशोरी हिमा (नाम परिवर्तन गरिएको) 'साथी' शब्दसँग डराउँछिन्। स्कुलमा पनि एक्लै बस्छिन्। साथीहरूसँग बोल्न, खेल्न र सँगै बसेर खाजा खान मन गर्दिनन्।
आजकाल आफ्नो साथी भन्नु उनी आफै हुन्।
स्कुलमा पहिले उनकी साथी थिइन् रिमा (नाम परिवर्तन गरिएको)। हिमा र रिमाको खुब मिल्ती थियो। दुवै जना १० कक्षामा पढ्थे।
केही समययता रिमाले आफू भारतको खटिमा घुम्न गएको कुरा सुनाउँथिन्। खटिमा घुम्दाको रमाइलो र त्यहाँका अनेक दृश्यको बयान गर्थिन्। एकपटक खटिमा घुम्न जाऔं भन्थिन् तर हिमाले वास्ता गरेकी थिइनन्।
एक महिनाअघिको कुरा हो।
एक दिन बिहान हिमा र रिमा स्कुलमा ट्युसन पढेर घर फर्किँदै थिए। बाटोमा रिमाले एकपटक भारततिर घुम्न जाऔं, रमाइलो हुन्छ, केही सामान पनि किनौंला भन्ने कुरा गरिन्। फेरि पनि हिमाले आफू यति बेला घुम्न जान इच्छुक नरहेको बताइन्। आमाले गाली गर्छिन् भनेर टार्ने प्रयास गरिन्।
रिमाले ढिपी छाडिनन्। खटिमा घुम्दा हुने रमाइलोको बयान गरिन्। बिहान गएर बेलुका फर्किहालिन्छ, गएकै दिने फर्किने भएपछि आमाले किन गाली गर्थिन् भनेर सहमत गराउने प्रयास गरिन्।
साथीको मन न हो! धेरै ढिपी गरेर बेलुका फर्किहालिन्छ भनेपछि हिमा खटिमा जान सहमत भइन्। उनी आफ्नो घर नगई सिधै रिमाको घर गइन्। रिमाकै लुगा लगाएर खटिमा जान तयार भइन्।
दुवै जना बाटो लागे। महेन्द्रनगरको गड्डाचौकी नाका पुगे। त्यहाँ सुरक्षाकर्मीले सोधखोज गरे। रिमाले 'किनमेलका लागि खटिमा जान लागेका हौं, आजै फर्किहाल्छौं' भनिन्। उनीहरूले भारत जाने अनुमति पाए।
त्यहाँबाट अघि बढेपछि टनकपुरसम्म पुगेको हिमालाई थाहा छ। त्यसपछि थाहा पाउँदा उनी एउटा कोठामा थिइन्। दिन भोलिपल्ट भइसकेको थियो। उनले आफू दिल्ली आइपुगेको थाहा पाइन्।
उनको सातो गयो। डरले लुगलुग काम छुट्यो।
उनले रिमालाई सोधिन्, 'तिमीले मलाई कसरी यहाँ ल्यायौ? किन ल्यायौ? किन ढाँट्यौ? किन यसरी धोका दियौ?'
रिमा निर्धक्क देखिइन्।
उनले हिमालाई भनिन्, 'तिम्रो घरमा खानलाउन समस्या छ। यहाँ मैले तिम्रा लागि राम्रो केटो खोजेकी छु। अब यहीँ बिहे गर।'
हिमाको होसहवास उड्यो।
उनले रिमालाई भनिन्, 'तिमीले मलाई धोका दियौ। मलाई छाडिदेऊ, म घर जान्छु।'
रिमाको मन पग्लिएन!
उनले त 'म घर जान्छु, तिमी बिहे गरेर दिल्लीमै बस' भनिन्।
अर्को दिन रिमाले हिमालाई कोठामा बन्द गरिदिइन्। आफू घर जान्छु भनेर हिँडिन्। हिमा एक्लै भइन्। आफूले विश्वास गरेकी साथीले दिएको धोकाबाट हुनसम्म पीडित भइन्।
यता महेन्द्रनगरमा बाआमाले हिमाको खोजी गरे। रिमालाई भटेर सोधखोज गरे। उनले 'मलाई थाहा छैन' भनिछन्। चार दिनसम्म पनि नभेटिएपछि र कुनै खबर समेत नपाएपछि आतेस भयो। हिमाका आमाबुबालाई रिमामाथि शंका थियो। उनीहरूले प्रहरीमा खबर गरे। रिमा र उनका अभिभावकको नाम किटान गरेर प्रहरीमा उजुरी गरे। प्रहरीले रिमाका बुबालाई पक्राउ गर्यो।
त्यसपछि रिमाले हिमा महेन्द्रनगर फर्किने प्रबन्ध मिलाइन्। अर्को दिन उनी आइपुगिन्। त्यसै दिन रिमा पनि पक्राउ परिन्। बेचबिखनको उद्देश्यले हिमालाई फकाइ–फुल्याइ सिमाना कटाएर दिल्ली पुर्याएको थाहा भयो।
दिल्लीमा हिमालाई लैजाने मान्छेसँग कुरा मिल्न ढिलो हुँदा उनी कोठामै रहिन्। मान्छे आउन ढिला भएपछि उनको उद्धार सजिलो भयो। उनी घर फर्किन पाइन्।
हिमा फर्केपछि र घटनाको रहस्य पत्ता लगाएपछि रिमालाई पनि प्रहरीले रिहा गरेको छ।
घटनामा पैसाको प्रलोभनमा पारेर रिमालाई परिचालन गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ। बेचबिखनमा संलग्न भएको आरोपमा अन्य केहीलाई पनि प्रहरीले पक्राउ गरेको छ। छिटो उजुरी परेको र हिमा कोठामै थुनिएका कारणले उनको उद्धार हुन सकेको प्रहरीको भनाइ छ।
हिमा फेरि स्कुल जान थालेकी छन् तर साथीहरूसँग घुलमिल हुन सकेकी छैनन्।
'मेरो त यो दोस्रो जिन्दगी हो। बाँचेर आएँ। आफ्नै साथीले त्यस्तो नराम्रो गर्ने कुरा सोचेकै थिइनँ,' उनले सेतोपाटीसँग भनिन्, 'कसैको भर गर्नु हुँदैन, अरूले दिएको खानु हुँदैन भन्ने सिकेकी छु।'
उनी नेपाली सेनामा प्रवेश गरेर देशको सेवा गर्न चाहिन्छन्। हिमा घरकी जेठी छोरी हुन्। उनका चार जना बहिनी छन्। आमाबुबा खेतीपातीको काम गर्छन्। मजदुरी पनि गर्छन्।
कञ्चनपुरमा बालिका, किशोरी र महिला बेपत्ता हुने घटना फाटफुट हुने गरेको छ। बेपत्ता भएकाहरू फर्केको तथ्यांक प्रहरीसँग छैन। चालु आर्थिक वर्षको हालसम्ममा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले सीमानाकाबाट ३७ जना किशोरीको उद्धार गरेको छ। ती किशोरी १६ देखि १८ वर्ष उमेरका छन्।
प्रहरीका अनुसार दलालहरूले प्रेम गर्ने र राम्रो जागिर लगाइदिने प्रलोभनमा पारेर किशोरीहरूलाई सीमापार गराउने प्रयास गर्छन्। सीमानाकामा चेलीबेटी बेचबिखनविरूद्ध जनचेतना फैलाउन प्रहरी र विभिन्न संघसंस्थाले प्रयास जारी राखेका छन्। यस्तो प्रयासकै बीच पनि दलालहरू सक्रिय छन् र अक्सर सफल हुने गरेका छन्।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी निरीक्षक डम्बर भट्टका अनुसार प्रहरीले मुख्य नाकामा सधैं निगरानी गरेको हुन्छ। बढी भिडभाड हुने समयमा निगरानी बढाइएको हुन्छ। सादा पोसाकका प्रहरी पनि खटाइएका हुन्छन्। भारतीय प्रहरीसँग समन्वय गरेर पनि बेचबिखन रोक्ने प्रयास भइरहेको हुन्छ।
चेलीबेटी बेचबिखनका घटना न्यूनीकरणका लागि विद्यालय र अभिभावक पनि सजग हुनुपर्ने प्रहरी निरीक्षक भट्टको भनाइ छ।
'किशोरीहरूको सुरक्षाका लागि शिक्षक र अभिभावकले चासो राख्नुपर्छ। निगरानी बढाउनुपर्छ,' उनी भन्छन्, 'सामाजिक सञ्जालमा कस्तो संवाद गर्छन्, कस्ता मान्छेसँग सम्पर्क भइरहेको छ भन्ने थाहा पाउनुपर्छ। कुनै शंका लाग्नासाथ घटना रोक्न सक्रिय भइहाल्नुपर्छ।'