सल्यानको शारदा नगरपालिका वडा नम्बर १ श्रीनगरमा जारी जारी दोस्रो बृहत् सल्यान महोत्सव आगलागीबाट ध्वस्त भएको छ।
महोत्सवको आठौं दिन राति ११ बजेतिर आगलागी भएको र सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख डिएसपी केशव न्यौपानेले सेतोपाटीलाई जानकारी दिए।
डिएसपी न्यौपानले विद्युत् सर्ट भइ आगलागी भएको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको बताए।
‘अनुसन्धान हुँदैछ, तर, हाम्रो अनुमान विद्युत् सर्ट भई आगलागी भयो भन्ने छ,’ उनले भने ‘जे भए पनि मानवी कमजोरीका कारण आगलागी भएको हाम्रो प्रारम्भिक अनुमान छ।’
११ बजेदेखि लागेको आगो नियन्त्रणमा लिन झन्डै साढे तीन घन्टा लागेको डिएसपी न्यौपानेले बताए।
सल्यान महोत्सवमा झन्डै डेढ सय स्टलहरू रहेका थिए। स्टल राखेका व्यापारीहरू राति सुत्न बाहिर जाने गरेका थिए। रात्रिको समयमा रेखदेखको लागि मेलाका ठेकेदारका मानिसहरूका साथै प्रहरी पनि खटिँदै आएका थिए।
एक्कासि लागेको आगोबाट क्षतिको यकिन विवरण आइनसकेको डिएसपी न्यौपानेले बताए।
श्रीनगरमा माघ १८ गतेदेखि मेला जारी थियो। स्थानीयका अनुसार जारी मेला अवलोकनका लागि निकै कम दर्शकहरू जाने गरेका थिए।
तस्बिर सौजन्यः सरीता चलाउने





