आगलागीबाट क्षति भएको सिंहदरबारभित्र रहेको खानेपानी मन्त्रालयको कार्यकक्षको मर्मत कार्य आजदेखि सुरू गरिएको छ।
सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आजैदेखि नै मर्मत कार्य सुरू गरेको सहरी विकास मन्त्रालयले जनाएको छ।
शनिबार बिहान पौने ९ बजेतिर मन्त्रालयको चौथो तलामा आगलागी भएको थियो। मन्त्री प्रदीप यादवकै कार्यकक्षमा आगलागी भएको हो। आगलागी आधा घण्टापछि नियन्त्रणमा आएको थियो।
घटनापछि उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको नेतृत्वमा टोली उक्त कार्यकक्ष अवलोकनको लागि गएको थियो। अवलोकनपश्चात मन्त्री सिंहले तत्काल मर्मत कार्य सुरू गर्न निर्देशन दिएका थिए।