दार्चुलामा भीरबाट खसेर एक प्रधानाध्यापकको मृत्यु भएको छ।
शुक्रबार दिउँसो चार बजेको समयमा अपिहिमाल गाउँपालिका–६ मा भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक ३५ वर्षीय दलवीर महराको भिरबाट लडेर मृत्यु भएको हो।
भवनी आधारभुत विद्यालयमा उनी विगत ८ वर्षदेखी काम गर्दै आएका थिए। त्यहाँ उनी डेरामा बस्दै आएका थिए। उनको घर भने दार्चुलाकै मार्मा गाउँपालिका–२ हो।
शुक्रबार दिउँसो विद्यालयबाट डेरा पुगेर बिहेको निम्तो आएपछि त्यहाँ जानेक्रममा उनी भीरबाट खसेका थिए।
अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरेका अनुसार भिरबाट करिब ५० मिटर तल खसेका कारण महराको घटनास्थलमै मृत्यु भएको हो।
‘यतातिर धेरै भरिलो अप्ठ्यारो बाटो छ, भीरबाटै खसेर यहाँ धेरैले ज्यान गुमाएका छन्, उहाँको पनि घटनास्थलमै मृत्यु भयो,’ उनले भने।
प्रधानाध्यापक महराको श्रीमती, दुई छोरा, दुई छोरीहरू छन्।