पोखरा विश्वविद्यालयका रजिष्ट्रार दीपकबहादुर भण्डारी २०७२ वैशाख १२ गते भूकम्प जाँदा काठमाडौंको लैनचौरमा थिए।
भूकम्प आएपछि भागाभाग भयो। भण्डारी पनि भागेर बेलायती राजदूतावास अगाडिको चौरमा पुगे।
भूकम्पबाट जोगिन अरू पनि चौरमा भेला भइसकेका थिए। चौरमा गएर के काम गर्ने भन्नेबारे भण्डारीलाई थाहा भएन। त्यतिबेला केही विदेशी पर्यटक पनि भेला भए। उनीहरू चौरमै टेन्ट टाँगेर बस्न थाले।
भण्डारीले ती पर्यटकसँग कुराकानी गर्दा विपत्तिका बेला कसरी सुरक्षित भएर बस्ने भन्ने कुरा विश्वविद्यालयमा पढ्दा नै थाहा पाएको जानकारी गराए।
‘विदेशी पर्यटक बस्नका लागि बन्दोबस्त गरिसक्दा पनि हामीले केही गरेका थिएनौं, उनीहरू संकट आउँदा कसरी सुरक्षित हुने भनेर कलेजमै पढ्ने रहेछन्,’ उनले भने, ‘नेपालमा संकट व्यवस्थापनका विषयमा पढाइ नै नहुने रहेछ।’
नेपालमा भूकम्प मात्र होइन, आगलागी, सवारी र हवाई दुर्घटना, बाढी, पहिरो, हिमपहिरो जस्ता प्राकृतिक र मानवनिर्मित संकट आइरहेको भन्दै भण्डारीले विपद् संकट व्यवस्थापन गर्न विश्वविद्यालयमै पढाउन आवश्यक भइसकेको बताए।
भण्डारीले भनेझैं पोखरा विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले स्वास्थ्यकर्मीका लागि ‘डिजास्टर मेडिसिन’ विषय तयार पारेको छ।
स्नातकोत्तरका लागि तयार पारिएको उक्त विषय आगामी वर्षदेखि लागु गर्ने तयारी गरिएको पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन डाक्टर अमर नागिलाले जानकारी दिए।
‘पोखरा विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा हामीले आगामी वर्षदेखि डिजास्टर मेडिसिन विषय पढाउने तयारी गरेका छौं,’ उनले भने, ‘पाठ्यक्रमलाई अन्तिम रुप दिइसकेका छौं। यसमा विद्यार्थीले फेलोसिप पनि पाउनेछन्।’
उच्च शिक्षाका लागि क्षमता विकास कार्यक्रमअन्तर्गत युरोपियन युनियनको इरामस प्लसको सहयोगमा उक्त कार्यक्रम अघि बढेको नागिलाले बताए।
उनकाअनुसार युरोपियन युनियनले पोखरा विश्वविद्यालयमा डिजास्टर हब बनाउन प्राविधिक र आर्थिक सहायोग गर्ने जनाएको छ।
पाठ्यक्रम र फेलोसिप कार्यक्रम बनाउन पोखरामा ४ दिन छलफल तथा अन्तक्रिया शुक्रबार सकिएको छ। उक्त कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालयका शिक्षण अस्पतालमा प्रयोगात्मक प्रयोगशाला स्थापना गर्ने र उक्त प्रयोगशालाले विपद् जोखिमसँग सम्बन्धित सरकारी तथा गैरसरकारी सबै निकाय, स्वास्थ्य संस्था र नागरिक समाजसँग मिलेर काम गर्ने गरी तयारी गरिएको नागिलाले बताए।
‘प्राकृतिक र मानव सिर्जिन प्रकोपका बेला कसरी जनधनको क्षति कम गर्न सकिन्छ भनेर डिजास्टर मेडिसिन विषय तयार गरेका छौं,’ उनले भने, ‘यसअन्तर्गत नेपालमा विपद्का बेला काम गर्ने सबै सरकारी, गैरसरकारी, प्राज्ञिक संस्थाहरू, स्वास्थ्य क्षेत्र जस्ता संस्थाहरूसँग नेटवर्क बनाएर काम गर्ने तयारी गरेका छौं।’
उक्त कार्यक्रम सञ्चालन गर्न नेशनल युनिभर्सिटी अफ एथेन्स ग्रीस, युनिभर्सिटी अफ सेलारिनो इटाली र युनिभर्सिटी अफ फरमान्डो पेसोवा पोर्चुगलको सहकार्य रहेको छ। उक्त कार्यक्रम बंगलादेशको ढाका युनिभर्सिटी र इन्डेपेन्डेन्ड युनिभर्सिटीमा पनि लागु भएको छ।
बंगलादेशका यी दुई विश्वविद्यालयले पनि आफ्नो देशको विपद् जोखिम हेरेर पाठ्यक्रम तयार गरी अध्यनन अध्यापन अघि बढाउने तयारी गरेका छन्। उक्त कार्यक्रम अन्तर्गत विपद् जोखिमका बेला स्वास्थ्यकर्मीले गर्नुपर्ने पूर्वतयारीदेखि समुदायको परिचालन र उपचारका विधि अध्यापन गराइनेछ।
हिमालय क्षेत्रमा जलवायु परिर्वतका कारण हुने जोखिम न्यूनीकरण र जोखिमका बेला उपचार गर्न आवश्यक औषधी उपचार, उपकरण लगायतका व्यवस्था पनि गरिने नागिलाले बताए।
नेपालमा पाठ्यक्रम तयार गर्न भएको अन्तर्क्रियामा बोल्दै नेशनल युनिभर्सिटी अफ एथेन्सका प्रा.डा. एलेनी पानागियोटाले विद्यार्थी र प्राध्यापक आदान प्रदान गरेर डिजास्टर मेडिसिन विषय अध्यन अध्यापनमा सहकार्य गर्न आफ्नो विश्वविद्यालय तयार रहेको बताइन्।
युनिभर्सिटी अफ फरमान्डो पेसोवा पोर्चुगलकी प्रो रेक्टर प्रा.डा. भासिलिकी भिकी कारामागिवलीले आफ्नो विश्वविद्यालयमा डिजास्टर मेडिसिन अध्यनन अध्यापनका अनुभव आदान प्रदान गरेकी थिइन्। उनले पनि नेपालमा प्राकृतिक र मानवीय जोखिम न्यूनीकरण गर्न उक्त विषयको अध्यन अध्यापनले सहयोग गर्ने विश्वास व्यक्त गरिन्।
पोखरा विश्वविद्यालयको शिक्षण अस्पताल भ्रमण गरेर भासिलिकीले नेपालमा डिजास्टर मेडिसिन अध्यापनको तयारी गरेका पोखरा विश्वविद्यालयमा डेन्टल स्कुल स्थापना गर्न सहयोग गर्न सम्झौता गरिने बताइन्। पोखरामा चार दिन लामो छलफल गरेर गुणस्तरीय पाठ्यक्रम तयार पार्ने, प्राध्यापक र कर्मचारीलाई तालिम दिने लगायतका कार्यक्रम पनि समावेश गरिएको छ।
स्नातक उत्तिर्ण डाक्टर, नर्स र स्वास्थ्य सेवा अध्यन गरेका विद्यार्थीले एक वर्षको फेलोसिप र दुई बर्षे स्नातकोत्तर अध्ययन गर्न पाउने तयारी गरिएको छ।
पाठ्यक्रम तयार गर्न भएको छलफलमा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिसिनका डिन प्रा.डा. मनोज हुमागाइँले डिजास्टर मेडिसिन विषय अध्यापन गराउन काठमाडौं विश्वविद्यालय तयार रहेको बताए।
पोखरा विश्वविद्यालयसँग सहकार्य गरेर अघि बढ्ने भन्दै उनले उक्त विषय नेपालको परिवेशमा आवश्यक रहेको बताए। काठमाडौं विश्वविद्यालयको धुलिखेल अस्पतालका निर्देशक डा. विराजमान कर्माचार्यले प्राकृतिक र मानवीय जोखिम एवं विपत्तिका घटना बढेकाले स्वास्थ्यकर्मीका लागि डिजास्टर मेडिसिन अध्यापन गाराउन जोड दिएका थिए।
‘अहिले नेपालमा डिजास्टर मेडिसिन विषयको पढाई आवश्यक भइसकेको छ,’ उनले भने, ‘हामी विश्वविद्यालयहरूसँग सहकार्य गरेर यो विषय अध्ययन अध्यापन गराउन तयार छौं।’
पाठ्यक्रम तथा निर्माणका विषयमा शुक्रबार भएको कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा हुने प्राकृतिक प्रकोप, सरकारी स्तरबाट भइरहेका व्यवस्थापन लगायतका विषयमा जानकारी गराएका थिए।
यस्तै, मणिपाल शिक्षण अस्पतालकी नर्सिङ डाइरेक्टर वरुणा पौडेल र स्वेता महर्जनले नेपालमा अस्पतालहरुले प्राकृतिक प्रकोपको व्यवस्थापन कसरी गरिरहेको छ भन्नेबारे जानकारी गराएका थिए।
पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.बोधराज केसीले विपद् पूर्वजानकारी दिएर नआउने भन्दै पूर्वतयारी गरेर बस्नुपर्ने बताए।
‘विपत्ति कतिबेला आउँछ थाहा हुँदैन,’ उनले भने, ‘विपत्तिमा कसरी काम गर्ने भनेर समुदाय, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले पूर्वतयारी गर्नुपर्छ।’
उनले पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालमा बनाउन लागिएको डिजास्टर हबसँग सहकार्य गर्न सरकारी तथा गैररकारी निकायलाई आग्रह गरे। नेपाल प्राकृतिक र मानवीय जोखिम विपद्को जोखिममा पर्ने क्षेत्र भएको भन्दै उनले वातावरण र विपद् जोखिम न्युनिकरण गर्न राम्रो पाठ्यक्रम निर्माण भएको बताए।