वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
रौतहट चन्द्रपुर नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१३ छाउनी बस्ने ३३ वर्षीय दिपक आले मगर पक्राउ परेका हुन्।
उनलाई प्रहरीले बिहीबार साँझ साढे ६ बजे पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
मगरलाई काठमाडौं जिल्ला अदालतले शुक्रबार पाँच दिन हिरासतमा राख्न अनुमति समेत दिएको छ।
त्रिपाठीमाथि माघ २ गते जिल्ला अदालत बाहिर मगरसहितको समूहले कुटपिट गरेका थिए। काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनको मुद्दामा थुनछेक बहस गरेर फर्किंदै गरेका त्रिपाठीमाथि कुटपिट भएको हो।
यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिसकेको थियो। शुक्रबार नै तीन जनालाई पनि जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले धरौटीमा छाड्न आदेश दिएको छ।
दोलखा घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी, हुम्ला घर भई काठमाडौंको टोखा बस्ने ३२ वर्षीय महानन्द जैसी र झापा घर भई बानेश्वर बस्ने ५५ वर्षीया सितल राई भन्ने सीतादेवी राईविरूद्ध ज्यान मार्न नहुने कसुरमा मुद्दा दायर भएको थियो। उनीहरूसँग इजलासले जनही एक लाख धरौटी माग गरेको हो। जसमध्ये केसी र राईले धरौटी बुझाएका छन्। जैसीले भने धरौटी बुझाउन नसेपछि कारागार चलान भएका छन्।
यसैबीच पक्राउ परेका मगरमाथि पनि प्रहरीले अनुसन्धान गरी प्रतिवेदन बुझाउने तयारी गरेको छ। मगरले प्रहरीसँगको प्रारम्भिक बयानमा आफूले यत्तिकै कुटपिट गरेको बताएका छन्। उनले घटनाबारे स्वीकार्दै आफू सजाय भोग्न तयार रहेको पनि बताएका हुन्।
‘म बानेश्वरबाट हिँड्दै अदालत आउँदै गर्दा जेब्रा क्रसिङबाट सडक पार गर्नेक्रममा व्यक्तिहरूले हुलहुज्जत गरी आक्रमण गरी रहेको अवस्थामा म पनि सोही स्थानमा पुगेर हुलहुज्जत गर्न पुगेको हो,’ उनले प्रहरीसँग भनेको बयान उदृत गर्दै स्रोतले भन्यो, ‘उनलाई आक्रमण गर्छु भनेर त्यहाँ गएको हैन। म पुग्दा हुलहुज्जत भइरहेको थियो, मैले केही नबुझी त्रिपाठीलाई हातपात गर्न पुगेको हो। यसमा मेरो गल्ती भयो कानून बमोजिम सजाय भोग्न मन्जुर छु।’