बुटवलमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ। आज बिहान १० बजेतिर बुटवलको नेपालगन्ज रोडमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु २ ख ३३३६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु १ प १५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको स्थानीयले बताएका छन्।
ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई घटनास्थलदेखि नजिकै रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा लगेकोमा अस्पतालले मृत घोषणा गरेको थियो। मृतकको भने अझै पहिचान खुल्न सकेको छैन।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालयका अनुसार ठक्कर दिने टिपर र चालक तिलोत्तमा नगरपालिका वडा नम्बर १० का ४७ वर्षीय किसमन थारुलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ।