काठमाडौंको न्यूनतम तापक्रम बुधबारको तुलनामा केही घटेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको छ।
बुधबार काठमाडौंको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन भएको थियो।
हिजोको तुलनामा काठमाडौंको आकाश खुला भएका कारण न्यूनतम तापक्रम केही घटेको महाशाखाले जनाएको छ।
अधिकतम तापक्रम भने बढ्दो क्रममा छ।
बुधबार काठमाडौंको अधिकतम तापक्रम २४.३ डिग्री सेल्सियस मापन भएको थियो। मंगलबार २२.१ डिग्री सेल्सियस थियो।
मौसमविद सञ्जिव अधिकारीले देशैभरि अधिकतम तापक्रम हल्का बढेको बताए।
'अब बिस्तारै बिस्तारै तापक्रम बढ्दै जाने नै समय हो। तत्काल कुनै प्रणाली विकसित नभएका कारण त्यो क्रम जारी रहनेछ,' उनले भने।
एक सातामा कति घटबढ भयो काठमाडौंको न्यूनतम तापक्रम?
एक साताअघि गत बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस मापन भएको थियो।
त्यसपछि शुक्रबार ६.२, शनिबार ५.८, आइतबार ४.५, सोमबार ४.८, मंगलबार ६.५ र बुधबार ८.६ डिग्री सेल्सियस मापन भएको थियो।