बुटवलमा करिब साढे चार करोड रुपैयाँ खर्चेर 'हाइमास्ट लाइट' जडान सुरू गरिएको छ।
बुटवल उपमहानगरपालिकाको एक करोड ३० लाख र संघीय सरकारबाट समपूरक अनुदानबाट प्राप्त ३ करोड ५१ लाख गरी चार करोड ८१ लाख रुपैयाँको लागतमा २६ वटा हाइमास्ट लाइट जडान गर्न थालिएको हो।
निर्माण कम्पनीले हाइमास्ट लाइट जडानका लागि ४ करोड ४३ लाखमा ठेक्का सम्झौता गरी जडानको काम अगाडि बढाएको छ। त्यस्तै यसअघि जडान गरिएका पाँचवटा लाइटलाई अन्यत्र स्थानान्तरण गरिने छ।
उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेका अनुसार नगरका विभिन्न स्थानमा १६ मिटर अग्ला र १६ वटा र १० मिटर अग्ला १० वटा लाइट जडान हुने छन्।
नगरप्रमुख पाण्डेले मुख्य राजमार्गमा १६ मिटर र भित्री सडकका चोकहरूमा १० मिटर अग्ला हाइमास्ट लाइट जडान गरिने जानकारी दिए।
त्यस्तै, ट्राफिकचोक, अस्पताल लाइन, मैनाबगर चोक, मिलनचोक र बुद्धनगरमा हाल रहेका १० मिटर अग्ला लाइटलाई अन्यत्र स्थानान्तरण गरी ती स्थानमा १६ मिटर अग्ला हाइमास्ट लाइन राखिने छ।
उज्यालो सहरको नारा दिएर यसअघि पनि बुटवलका विभिन्न स्थानमा हाइमास्ट लाइट जडान गरिएको र यसपछि पनि थप १७ स्थानमा लाइट जडान गर्ने उपमहानगरपालिकाको योजना रहेको पाण्डेले बताए।
हाइमास्ट लाइट जडानका लागि त्रिसन्ध्या सेफ स्टिल्सले ४ करोड ४३ लाखमा ठेक्का सम्झौता गरी काम अगाडि बढाएको छ। सम्झौता अनुसार त्रिसन्ध्या सेफ स्टिल्सले आगामी जेठ ३० गतेभित्र लाइट जडानको काम पूरा गर्नुपर्ने छ।
नगरप्रमुख पाण्डेले अब बुटवलको सौन्दर्यकरण र रात्रीको समयमासमेत उज्यालो सडक बनाउने अभियान सुरू भएको बताए। बुटवलको सौन्दर्यकरण र व्यवस्थित सहकरीकरणका लागि सबैको साथ रहेको उनले बताए।
नगरप्रमुख पाण्डेका अनुसार सार्वजनिक शौचालय, सिसिटिभी क्यामराको जडान, प्रतिक्षालय र फुटपाथ सहितको व्यवस्थित सडक निर्माण गर्ने उपमहानगरपालिकाको योजना छ।
उपमहानगरपालिकाले बुटवलका विभिन्न १२५ स्थानमा सिसिटिभी क्यामेरा जडान गर्दैछ।
त्यस्तै उपमहानगर क्षेत्रभित्र पर्ने सिद्धार्थ राजमार्गको चारकिलोमिटर क्षेत्रमा योगिकुटी, राजमार्ग चौराह, अस्पताललाइन र गोलपार्कमा गरी ४ स्थानमा ट्राफिक लाइट जडान गर्ने प्रक्रिया समेत अगाडि बढाएको छ।
सर्वसाधारणको व्यापक गुनासोपछि विभिन्न तीन स्थानमा सार्वजनिक शौचालय निर्माण गरी संचालनमा ल्याइएको नगरप्रमुख पाण्डेले जानकारी दिए।