बाँकेको डुडुवा गाउँपालिकाले आफ्नै नगर प्रहरी नियुक्त गरी परिचालन गरेको छ।
‘स्थानीय सरकार सञ्चानल ऐन २०७४’ अनुसार गाउँसभाले कार्यविधि बनाएर नगर प्रहरी नियुक्त गरेको हो।
स्थानीय तह अन्तर्गत विभिन्न सार्वजनिक सम्पत्तिको संरक्षण, गाउँ बस्तीको व्यवस्थापन तथा शान्ति सुरक्षा, नदीजन्य पदार्थको अवैध उत्खननको नियन्त्रण, दैवी प्रकोप व्यवस्थापन लगायतका कार्यमा खटाउन नगर प्रहरी भर्ना गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए।
स्थानीय सरकारका काम, कर्तव्य र अधिकार अन्तर्गत सरकारी संरचनाको संरक्षण तथा व्यस्थापनाका लागि आफ्नै प्रहरीको आवश्यकता महसुस गरी नगर प्रहरी नियुक्त गरिएको उनले जानकारी दिए।
‘नगर प्रहरीले डुडुवामा रहेका खोला तथा नदीजन्य पदार्थको अवैध उत्खननको नियन्त्रण, राजस्व संकलन, सरकारी जग्गाको अतिक्रमण रोक्न, विपद व्यवस्थापन, शान्ति सुरक्षा लगायतको कार्यमा सहयोग भूमिका खेल्ने छ,’ अध्यक्ष चौधरीले भने।
पूर्वप्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसी नगर प्रहरी निरीक्षक बनेका छन्। केसी नेतृत्वकोे टोलीमा नगर प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार र प्रहरी जवान छन्।
नगर प्रहरी भएका सबै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सेवामा काम गरेकाहरू हुन्। नयाँ भर्ना भएका नगर प्रहरीलाई एक हप्ता आन्तरिक तालिम प्रदान गरिएको थियो।
गाउँपालिकाले बुधबार कार्यक्रम गरी नवनियुक्त नगर प्रहरीलाई दज्र्यानी चिन्ह प्रदान गरेको छ।