संयुक्त राज्य अमेरिकाको दक्षिण पश्चिममा ग्र्यान्ड क्यान्यन भनिने एउटा प्रसिद्ध खोँच छ। एरिजोना राज्यमा अवस्थित यो खोँच ४४६ किलोमिटर लामो र २९ किलोमिटरसम्म चौडा छ। यसको गहिराइ १८०० मिटरभन्दा बढी छ।
एक नयाँ अध्ययनले धेरै वर्षपहिले एउटा खगोलीय पिण्डले चन्द्रमामा पनि लगभग ग्र्यान्ड क्यान्यन जत्रै दुइटा खोँच बनाएको पत्ता लगाएको छ। उक्त अध्ययनका अनुसार उपत्यका जस्ता देखिने ती विशाल खोँच आजभन्दा झण्डै ४ अर्ब वर्षअघि एउटा क्षुद्रग्रह चन्द्रमामा ठोक्किँदा बनेका थिए। ती खोँच चन्द्रमाको त्यो गोलार्द्धमा छन् जुन पृथ्वीबाट कहिल्यै देखिँदैन।
अमेरिकाको अन्तरिक्ष सम्बन्धी संस्था 'नासा' ले चन्द्रमाको दक्षिणी ध्रुवको अध्ययन गर्न सन् २००९ मा लुनार रिकनिसन्स अर्बिटर नामक अन्तरिक्षयान प्रक्षेपण गरेको थियो। उक्त यानले पठाएका तस्बिर र तथ्याकंको मद्दतले अमेरिका र बेलायतका वैज्ञानिकहरूले ती खोँच रहेको क्षेत्रको नक्सांकन गरे। क्षुद्रग्रह ठोक्किएपछि चन्द्रमाको सतहबाट चट्टान आदि कुन दिशा र गतिमा उछिट्टिए र खोँच बनाए भन्ने पनि उनीहरूले पत्ता लगाए।
उनीहरूको अध्ययनको प्रतिवेदन मंगलबार नेचर कम्युनिकेसन्स नामक जर्नलमा छापिएको थियो।
यस अध्ययनका अनुसार करिब ३ अर्ब ८० करोड वर्षपहिले एउटा उल्कापिण्ड चन्द्रमाको दक्षिणी ध्रुव नजिक ठोक्किँदा ३२० किलोमिटर चौडा विशाल क्रेटर (खाडल) बनेको थियो। त्यहाँबाट ठूला ठूला चट्टानहरू चन्द्रमाको दक्षिणी ध्रुवको विपरीत दिशातर्फ उछिट्टिएका थिए। ती चट्टान कति ठूला थिए भने, केहीको चौडाइ पाँच किलोमिटरभन्दा बढी थियो।
एक किलोमिटर प्रति सेकेन्डको गतिमा उडेका ती चट्टान सतहमा बजारिएपछि सिधा रेखामा दुई विशाल खोँच बनेका थिए। एउटा खोँच २७० किलोमिटर लामो, २० किलोमिटर चौडा र २.७ किलोमिटर गहिरो छ। अर्को त ८६० किलोमिटरसम्म फैलिएको छ।
अध्ययनका अनुसार यति ठूला भए पनि चन्द्रमामा ती दुइटा खोँच बन्न दस मिनेट मात्रै लागेको थियो।
जबकि पृथ्वीमा, एरिजोनाको ग्र्यान्ड क्यान्यनलाई भने आजको स्वरूपसम्म आइपुग्न दसौं लाख वर्ष लागेको थियो।
![Moon-Crater-2-1738759887.gif](https://www.setopati.com/uploads/posts/Moon-Crater-2-1738759887.gif)
ह्युस्टनस्थित लुनार एन्ड प्लानेटरी इन्स्टिच्युटका डेविड क्रिङले यो अध्ययनको नेतृत्व गरेका थिए।
अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले त्यस बेला चन्द्रमामा ठोक्किएको क्षुद्रग्रहको चौडाइ २५ किलोमिटर भएको अनुमान गरेका छन्। उनीहरूका अनुसार हाल संसारभरि रहेका आणविक हतियार विस्फोट हुँदा जति ऊर्जा उत्पन्न हुन्छ, ती दुई खोँच बनाउन त्यसको लगभग १३० गुणा ऊर्जा आवश्यक थियो।
अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेसका अनुसार ती खोँच पृथ्वीबाट नदेखिने भागमा हुनु वैज्ञानिकहरू र नासाका लागि राम्रो खबर हो।
अब प्रश्न आउँछ – किन र कसरी राम्रो खबर हो?
नासाले सन् १९७२ मा 'अपोलो-१७' मिसनमार्फत अन्तिमपटक चन्द्रमामा मानिस पठाएको थियो। त्यसपछि चन्द्रमामा मानिस पठाउने कार्यक्रम बन्द भएको थियो। अब भने नासाले फेरि चन्द्रमामा मानिस अवतरण गराउने योजना बनाएको छ।
नासाले यसलाई आर्टेमिस मिसन नाम दिएको छ। यस अन्तर्गत अर्को वर्ष चन्द्रमाको परिक्रमा गर्न मानव सहितको अन्तरिक्षयान पठाउने तयारी छ। त्यसको एक-दुई वर्षपछि चन्द्रमामा अन्तरिक्षयात्री समेत अवतरण गराउने उसको लक्ष्य छ। एबिसी न्यूजका अनुसार त्यसका लागि नासाले चन्द्रमाको दक्षिणी ध्रुव वरिपरि अवतरणका १३ विकल्प पहिचान गरेको छ।
अध्येता क्रिङका अनुसार क्षुद्रग्रह ठोक्किएपछि चट्टानहरू अर्कै दिशातिर उछिट्टिएकाले चन्द्रमाको दक्षिणी ध्रुवमा खासै असर परेन। त्यसैले त्यहाँ अझै पनि ४ अर्ब वर्षभन्दा पुराना चट्टान मौलिक अवस्थामै छन्। ती पुराना चट्टानले चन्द्रमाका साथै पृथ्वीको पनि उत्पत्तिका बारेमा प्रकाश पार्न मद्दत गर्न सक्छन्।
चन्द्रमाको दक्षिणी ध्रुव वरिपरि सधैं अन्धकार वा छायामा रहने क्रेटर पनि छन्। यिनीहरूमा उल्लेखनीय परिमाणमा बरफ रहेको विश्वास गरिन्छ। उक्त बरफबाट रकेटको इन्धन र भविष्यमा चन्द्रमा पुग्ने मानिसहरूका लागि खानेपानी बनाउन सकिने वैज्ञानिक तथा खगोलशास्त्रीहरूले बताएका छन्।
ती दुई खोँच भने सधैं छायामा रहने खालका हुन् कि होइनन् भन्ने चाहिँ प्रस्ट नभएको क्रिङले बताए।
जे भए पनि, यो नयाँ खोजबाट चन्द्रमा र पृथ्वी दुवैको बारेमा थप गहिरो र नवीन अध्ययन गर्न मद्दत पुग्ने विश्वास वैज्ञानिक तथा खगोलशास्त्रीको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)