सडक डिभिजन कार्यालय दाङले मनपरी रूपमा सडकहरूमा राखिएका होर्डिङ बोर्डहरू हटाउन सुरू गरेको छ।
कार्यालयले झन्डै दुई हप्ता अगाडि विभिन्न आधा दर्जन बढी सडक क्षेत्रका होर्डिङ बोर्ड हटाउन सार्वजनिक सूचना जारी गरेको थियो।
महेन्द्र राजमार्ग अन्तगर्गत धानखोलादेखि बाँकेको सिमाना शिवखोला, मदन भण्डारी राजमार्ग अन्तरगतको सल्यानको शितलपाटी– खलंगा– बालुवासंग्रही सडक खण्ड, मुर्कुटी–घोराही– तुलसीपुर – काल्चे सडक खण्ड, कोइलाबास अन्तगतको भालुवाङ – गनाहा सडक खण्ड, शहिद मार्ग अन्तगरको घोराही सडक खण्ड , राप्ती राजमार्ग अन्तर्गतको अमेलिया–तुलसीपुर–सितलपाटी– खौलाबास सडक खण्ड, रारा राजमार्ग अन्र्तगरको सल्यान थारमारे चौरजहारी सडक खण्डमा आफूखुसी राखिएका होर्डिङ बोर्डहरू हटाउन थालिएको हो।
सडक डिभिजन प्रमुख इञ्जिनियर दिपेन्द्रबहादुर विष्टका अनुसार व्यवसायी वा विभिन्न संघ संस्थाले आफूखुसी वन जंगल क्षेत्र वा सडक किनारमा राखेका होर्डिङ बोर्डहरू हटाउन थालिएको बताए।
उल्लेखित सडक खण्डमा सडक सिमानाभित्र अनधिकृत रूपमा होर्डिङ बोर्ड राख्नाले चालकको ध्यान तान्ने र त्यसले दुर्घटनाको जोखिम बढ्ने हुँदा होर्डिङ बोर्डहरू हटाउन थालिएको बिष्टले जानकारी दिए।
ठाउँ-ठाउँमा सडक पेटीमा राखिएका विज्ञापन बोर्डहरूका साथै जहाँ पायो त्यही मनपरी सवारी साधन पार्किङ गर्ने, सवारी साधन मर्मत गर्ने ग्यारेजहरू बनाउने, टायर हाउस निर्माण गर्ने, गाडी धुने वासिङ सेन्टरहरू स्थापना गर्ने, अटो स्ट्याण्ड गर्ने, अस्थायी तारबार गर्ने, हाट बजार, फलफूल पसल थाप्ने, कृषि उपज जस्तै बिस्कुन सुकाउने, परालको थुप्रो आदि सडक सिमानाभित्र अनधिकृत रूपमा नराख्न सचेत तुल्याएको थियो।
सडक डिभिजनका सूचना अधिकारी इञ्जिनियर अमिर सुवेदीले कानुनले निषेध गरेका गतिविधि सडक सीमाभित्र नगर्न पहिलो पटक सचेत तुल्याएको बताए।
सार्वजनिक सूचनापछि केहीले आफ्ना कानुन विपरीतका कार्यहरू गर्न छोडेको, कतिपयले होर्डिङ बोर्डहरू हटाएको भए पनि केहीले अटेर गरेको हुँदा कार्यालय आफैले हटाउन थालेको सुवेदीले जानकारी दिए।
‘हामीले लमही भालुबाङ र घोराही क्षेत्र लगायत अमेलिया तुलसीपुर क्षेत्रमा केही होर्डिङ बोर्डहरू हटाइसकेका छौं,’ उनले भने, ‘सचेत गराइए अनुसार मनपरी अनधिकृत रूपमा राखिएका होर्डिङ बोर्डहरू नहटाए कार्यालयले आफै कारबाहीको प्रक्रिया अगाडि बढाउँदै जानेछ।’
त्यस्ता विज्ञापन वा होर्डिङ बोर्डहरूले चालकको ध्यान डाइभर्ट गरी दिने हुँदा दुर्घटनाको जोखिम रहने भन्दै ती हटाउनका लागि पहिलो पटक सार्वजनिक सूचना जारी भएको सूचना अधिकारी सुवेदीले बताए।
सुन्दर वन र घुम्ती क्षेत्रमा व्यक्तिले व्यक्तिगत लाभका लागि राखिएका त्यस्तो विज्ञापन बोर्डहरूले चालकको ध्यान डाइभर्ट गर्नुका साथै प्राकृतिक वातावरणलाई कुरूप बनाउने हुँदा हटाउन थालिएको उनले बताए।