ललितपुरको पुल्चोक क्याम्पसमा केमिकल इन्जिनियरिङ क्षेत्रबारे तीन दिने सम्मेलन तथा प्रदर्शनी हुने भएको छ।
पुल्चोक क्याम्पसका केमिकल इञ्जिनियरिङ विद्यार्थीहरूको नेतृत्वमा स्थापित संस्था केमिकल इन्जिनियरिङ विद्यार्थी समाज (सोच) को आयोजनामा यही माघ २८, २९ र ३० गते सम्मेलन तथा प्रदर्शनी हुन लागेको हो।
सोचकी अध्यक्ष एलिसा बुढाका अनुसार सम्मेलन तथा प्रदर्शनीले रासायनिक इन्जिनियरिङ क्षेत्रमा नवप्रवर्तन र सिर्जनशीलतालाई प्रवर्द्धन गर्न काम गर्छ।
‘यो कार्यक्रम विद्यार्थी, अनुसन्धानकर्ता र उद्योगका पेसेवरहरूको लागि आफ्नो विचार साझा गर्ने उत्कृष्ट मञ्च हो,’ उनले भनिन्, ‘यो सम्मेलनले दिगो विकासका सिद्धान्तहरूलाई आत्मसात गर्दै रासायनिक इन्जिनियरिङका चुनौतीहरूको समाधानका लागि नवीन समाधान खोज्न प्रेरित गर्दछ। नवप्रवर्तनलाई प्रवर्द्धन गर्नु र विद्यार्थीहरूलाई प्राविधिक तथा व्यावसायिक क्षमतामा सशक्त बनाउनु र औद्योगिक सहकार्यलाई प्रोत्साहित गर्नु हो सम्मेलनको उद्देश्य हो।’
सोचले केमिकल इञ्जिनियरिङसँग सम्बन्धित विभिन्न गतिविधि र कार्यक्रमहरूको आयोजना गर्ने गरेको छ। यसमा प्राविधिक सेमिनार, प्रशिक्षण कार्यक्रम र वार्षिक प्रदर्शनी छन् । यी कार्यक्रमहरूले विद्यार्थीहरूलाई नवीन विचारहरू उत्पन्न गर्न प्रेरित गर्दै तिनलाई व्यावसायिक रुपमा परिचित गराउन मद्दत गर्ने उनले बताइन्।
‘प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरी विद्यार्थीहरूको प्रतिभा र क्षमतालाई थप प्रखर बनाउने प्रयास गर्दछ। यस संस्थाले अनुसन्धान तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने मात्र नभई दिगो विकास, वातावरणीय संरक्षण र औद्योगिक समस्याहरूको समाधानको क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुऱ्याएको छ। दिगो र समाजोपयोगी परियोजनाहरूमा केन्द्रित विद्यार्थीहरूको सहभागिता सुनिश्चित गर्दै सोचले शिक्षा र व्यवहारिक ज्ञानको बीचको खाडललाई पूर्ति गर्ने काम गरेको छ,’ उनले भनिन्।
नेपालमा केमिकल इञ्जिनियरिङ शिक्षाको प्रगतिमा सोचले महत्त्वपूर्ण भूमिका खेलेको उनको दाबी छ।
उनकाअनुसार ‘वृत्तीय अर्थतन्त्रको लागि नवप्रवर्तन’ भन्ने मुख्य नाराका साथ सम्मेलन हुँदैछ।
‘इनोकेम सम्मेलनमा प्लस टु प्रोजेक्ट, विषयगत र गैर विषयगत प्रतिस्पर्धा पनि सञ्चालन गरिने छ। सम्मेलनमा सहभागी भएर आफ्ना नवीन विचार र परियोजना प्रस्तुत गर्न, विभिन्न प्रतिस्पर्धामा भाग लिएर सिर्जनशीलता र प्राविधिक क्षमताको प्रदर्शन गर्न सकिन्छ,’ उनले भनिन्, ‘यो सम्मेलनले विभिन्न शैक्षिक सत्र र अन्तक्रियात्मक गतिविधिहरूबाट नयाँ ज्ञान आर्जन गर्ने अवसर प्रदान गर्दछ।’