दाङको घोराहीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ भिमसेन टोलमा डेरा गरी बस्ने रोल्पा नगरपालिका–३ का १९ वर्षीय टेकराज गुरूङ र घोराही–१५ का २५ वर्षीय तनुज श्रेष्ठ छन्।
प्रतिबन्धित लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनका आधारमा मंगलबार बेलुकी आठ बजे गुरूङको कोठा खान तलासी गर्न प्रहरी टोली पुगेको थियो।
कोठा तथा उनीहरूको शरीर खानतलासी गर्ने क्रममा श्रेष्ठको साथबाट ब्राउन सुगर बाँधेर राखेका १५ वटा पुडिया फेला परेको प्रहरीले जानकारी दिएको छ।
बरामद ब्राउन सुगर तौल गर्दा १ ग्राम ८४० मिलीग्राम भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।