पैदलयात्रीको सुरक्षालाई ध्यानमा राखेर काठमाडौंको वागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसको गेटअगाडि ट्राफिक लाइट सञ्चालनमा आएको छ।
पद्मकन्या बहुमुखी क्याम्पसको आग्रहमा काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरी कार्यालयको सहयोगमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो।
बुधबार बिहान आयोजित कार्यक्रममा क्याम्पस प्रमुख प्रा. डा. जयालक्ष्मी प्रधानले बटम दबाएर ट्राफिक लाइटको शुभारम्भ गरेकी हुन्। त्यस अवसरमा क्याम्पस प्रमुख प्रधानले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक लाइटको महत्वपूर्ण भूमिका रहने बताइन्।
पैदलयात्रीलाई हरियो बत्ती बलेका बेलामात्र बाटो काट्न सिकाउनका लागि दुई सातासम्म विद्यार्थीहरू खटाइने उनको भनाइ छ।
सडक दुर्घटना न्यूनीकरण गर्ने अभियानमा सहकार्य गरेकोमा काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरी कार्यालयलाई उनले धन्यवाद दिइन्।
काठमाडौं महानगरपालिकाका सडक सुरक्षा सल्लाहकार जगतमान श्रेष्ठले ट्राफिक लाइट सञ्चालनमा आएपछि सडक दुर्घटना न्यून हुने विश्वास व्यक्त गरे।
सडक दुर्घटनाका विषयमा विद्यावारिधि गरेकी पद्मकन्या बहुमुखी क्याम्पस जनसंख्या विभागका प्रमुख भगवती सेढाईले बागबजार क्षेत्रमा डेढ वर्षदेखि दुर्घटनाको तथ्यांक संकलन गरी क्याम्पसले महानगरलाई गरेको आग्रहपछि ट्राफिक लाइट सञ्चालनमा आएको बताइन्।
बागबजारको साँघुरो बाटोमा भएको गाडीको चापलाई ध्यानमा राख्दै गाडीको गति सीमित गर्न र पैदल यात्रुलाई पहिलो प्राथमिकता दिनका लागि ट्राफिक लाइट सञ्चलनमा ल्याइएको हो।