कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
गए राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाइ १९ वर्षीय यूसुब आलमलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी कृष्णबहादुर चन्दले जानकारी दिए।
बिआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा आइरहेका उनीहरूलाई चेकजाँचका लागि प्रहरीले रोक्दा गति बढाएर भागेका थिए। त्यसपछि प्रहरीले शंकास्पद मानेर चार राउन्ड हवाइ फायर गर्दा पनि नरोकि भागेका थिए। त्यसपछि प्रहरीले अन्जरको देब्रे घुँडामुनि एक राउन्ड गोली प्रहार गरेर दुवैलाई नियन्त्रणमा लिएको थियो।
खानतलासीको क्रममा उनीहरुको साथमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर प्लास्टिक सहित ३२ ग्राम ७५० मिलिग्राम र प्लास्टिकबाहेक ३० ग्राम ६९० मिलिग्राम बरामद भएको डिएसपी चन्दले जानकारी दिए।
घाइेत अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी चन्दले बताए।