बाजुराको एक घरमा आगलागी भएको छ।
सोमबार बुढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई बडीमालिका नगरपालिका–८ मार्तडी बजारमा टिन र काठले बनेको एकतले कच्ची घर बनाई बस्दै आएका पशुपति थापाको घरमा आगलागी भएको हो।
थापाले आगलागीबाट तीन तोला सुन, नगद ४ लाख ८० हजार, ऊनको गलैंचा २० ओटा, ल्यापटप एक थान लगायतका सामान जलेको बताएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।
थापाको परिवार व्यापार व्यवसायको सिलसिलामा मार्तडी बजारमा बसिरहेको र भेंडा बेचेको नगद रकम आगलागीमा जल्न पुगेको बताएको बाजुरा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार खाना बनाउने क्रममा ग्यास लिक भई अचानक आगलागी भएको थियो।
प्रहरीको ३५ जनाको टोली खटिएर आगलागी नियन्त्रणका साथै उद्धार गरिएको जनाइएको छ।