बाराका फिरोज आलम गार्मेन्ट व्यवसाय गर्छन्।
२०७९ साल हिउँदको एक दिन उनको भेट जितपुर नगरपालिका–३ का ३५ वर्षीय दिलीपकुमार सिंहसँग भयो।
दिलीपले बाँकेको डुडुवा गाउँपालिका–५ को १५१ र १५२ कित्ता नम्बरको ३३ कट्ठा जग्गा बैंकबाट लिलाम हुन लागेको कुरा फिरोजलाई सुनाए। उक्त जग्गा जुम्लाको चन्दननाथ नगरपालिका–८ की रेश्मा श्रेष्ठको थियो।
जग्गा लिलाम हुने कुरासँगै तत्कालै ६० लाख रूपैयाँ रेश्मालाई ऋण दिए डेढ करोड रूपैयाँको जग्गा फिरोजको नाममा पास हुने भनेर दिलीपले लोभ देखाए।
३६ वर्ष हाराहारी उमेरका फिरोज लोभिए — ६० लाख ऋण रेश्माले नचुकाए डेढ करोड रूपैयाँको जग्गा आफ्नो हातमा पर्थ्यो।
दिलीपसँगै काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१ का २२ वर्षीय गौरव कार्की पनि थिए। दिलीप र गौरवले सल्लाह गरेर फिरोजलाई चिठ्ठा जसरी लाखौं कमाइ हुने भन्दै हौस्याए। फिरोज हौसिए।
गौरव र दिलीप समूहको मालपोत कार्यालयका कर्मचारीसँग मिलेमतो थियो। उनीहरू लामो समयदेखि कारोबार नभएको जग्गा कहाँ छ भनेर खोजी गर्थे। र त्यही जग्गाको आधारमा अरूलाई फसाउँथे।
सोही योजना अनुरूप उनीहरूले फिरोजलाई बाँकेको डुडुवा गाउँपालिका–५ मा आकर्षक जग्गा देखाए। जग्गाधनीका रूपमा रेश्मा श्रेष्ठ भनेर एक महिला पनि सँगै आइन्। ती महिलाले एक बैंकबाट लिएको ऋण तिर्न नसकेकाले जमिन लिलाम हुन लागेको भन्दै सहयोगको याचना गरिन्। आफ्नो डेढ करोडभन्दा बढीको जग्गा बैंकले आधाभन्दा कम मूल्यमा लिलाम गर्न लागेको बताइन्। त्यसैले उक्त अवसरको फाइदा उठाउन समेत फिरोजलाई आग्रह गरिन्।
दोब्बर फाइदा हुने सोचेर फिरोज रेश्मालाई ६० लाख रूपैयाँ दिन राजी भए। सबै कुरा मिल्यो।
बाँकेको मालपोत कार्यालय र जमिन धितो रहेको भनिएको बैंकका केही कर्मचारीलाई समेत दिलीप र गौरवले प्रलोभनमा पारेका थिए। उनीहरूको योजना अनुसार डुडुवा–५ को १५१ र १५२ कित्ता नम्बरको ३३ कट्ठा जमिनको नक्कली लालपुर्जा फिरोजका नाममा तयार भयो। २०७९ फागुन १५ गते जुम्लाको चन्दननाथ नगरपालिका–८ की रेश्मा श्रेष्ठको नामको जग्गा बाराका फिरोज आलमको नाममा पास भयो।
बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार उनीहरूले सबै किर्ते काम मालपोत कार्यालय बाहिर चउरमा बसेर गरेको पाइएको छ। मालपोतका कर्मचारीकै संलग्नतामा सक्कली लालपुर्जा हेरेर नक्कली जग्गा लालपुर्जा बनाइएको उनी बताउँछन्।
'मालपोत कार्यालय नगई काम बन्छ भनेर उनीहरूले सहीछाप, ल्याप्चे लगाउने जस्ता सबै काम कार्यालय बाहिर चौरमा बसेर गरेको पाइएको छ,' उनले भने।
फिरोजको नाममा जग्गा आएपछि २०८० जेठ ३० गते मालपोत कार्यालयले जमिन धितो रहेको बैंकको नाममा धितो बन्धक पास भएको प्रमाण दियो। ती सबै कागजात फर्जी रूपमा तयार पारिएको प्रहरीले बताएको छ।
बैंकबाट जग्गा निरीक्षण तथा धितो मूल्यांकनका लागि प्रतिनिधिका रूपमा उनीहरूले डुडुवा–१ कै एक पुरूषलाई खटाएका थिए। धितो बन्धक पास भएपछि फिरोजले बैंकको काठमाडौं लगनटोलस्थित शाखाबाट एक करोड २० लाख रूपैयाँको कर्जा स्वीकृत गराए। नक्कली पुर्जाबाटै उनले कर्जा निकाले। फिरोजको काठमाडौंमा पनि गार्मेन्ट पसल छ।
सो रकममध्ये ८४ लाख रूपैयाँ गौरवले आफ्नो बुबाको श्रीकृष्णको खातामा पठाएको र फिरोजले ३६ लाख लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका असई मणि लामिछानेले बताए।
'श्रीकृष्णको खाताबाट ८४ लाख रूपैयाँमध्ये ५० लाख उनकी श्रीमती ईश्वरी माया रोकालाई पठाएका छन्। ईश्वरीले छोरा गौरव कार्कीलाई ३१ लाख रूपैयाँ पठाएकी छन्,' उनले भने, 'फिरोज आलमले ३६ लाख रूपैयाँमध्ये साढे ६ लाख दिलीपकुमार सिंहलाई चेकमार्फत् दिएका रहेछन्।'
फिरोजले बैंकबाट फेरि ऋणको सीमा बढाउन चाहे। दुई पक्षबीच सुरूमै ऋणको सीमा बढाउन पाउने सहमति थियो। गत असारमा मालपोत कार्यालय गएर जमिनको विवरण खोज्छन् तर आफ्नो नाममा जग्गा नै फेला परेन।
उनी छाँगाबाट खसेझैं भए। ठगिएको बल्ल चाल पाए।
फिरोज मालपोतबाट निस्के। तर कर्मचारीहरूले सो बदमासीबारे बाँकेका प्रमुख जिल्ला अधिकारीलाई भेटेर जानकारी थराए। मालपोतले दिएको आधार र बयानका आधारमा सिडिओ कार्यालय हुँदै मुद्दा जिल्ला प्रहरी कार्यालयमा पुग्यो। त्यो मुद्दापछि, सात महिनाअघि, बाँके प्रहरीले फिरोजलाई खोजेर घटना अनुसन्धान अघि बढायो।
त्यतिखेर अदालतले फिरोजलाई धरौटीमा छोड्न आदेश दिएको सई मणि लामिछानेले बताए।
मालपोत कार्यालयमा सो जमिन सक्कली धनी चन्दननाथ–८ की रेश्मा श्रेष्ठकै नाममा छ। यसबीच उनले आफ्नो जग्गा केही व्यक्तिलाई बिक्री समेत गरिसकेकाले कित्ताकाट समेत भइसकेको छ।
घटना अनुसन्धानमा खटिएका प्रहरीका अनुसार दिलीप र गौरवसहितको यो ठगी गर्ने समूहले कास्की, पोखरामा पनि यसैगरी ठगेको खबर आएको छ। त्यस्तै बैंकका कर्मचारीको मिलेमतोको आशंका छ।
'अरू केही कर्मचारीलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिन सक्ने अवस्था आउन सक्छ,' सई लामिछानेले भने।
नक्कली पुर्जा खडा गरी आपसी मिलेमतोमा ठगी गर्ने काम भएकाले घटनामा संलग्न सबैलाई पक्राउ गरिने उनले बताए।
यो ठगी मुद्दामा गौरव, उनकी आमा ईश्वरी र दिलीप माघ ८ गते पक्राउ परेका थिए। बाँकेबाट खटिएको प्रहरीले काठमाडौं प्रहरीको सहयोगमा उनीहरूलाई बुद्धनगर र कोटेश्वरबाट पक्राउ गरेको हो। उनीहरूलाई बाँके ल्याएर घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।