पृथ्वीराजमार्गअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार यात्रुवाहक बस दुर्घटना भयो। अनियन्त्रित भई सडकमा बस पल्टिँदा एक जनाको मृत्यु भयो भने १३ जना घाइते भए।
पृथ्वी राजमार्गकै व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिबार राति ग्याँस बोकेको बुलेट ट्याङ्कर दुर्घटना हुँदा चालकको मृत्यु भयो।
यी केही उदाहरण मात्रै हुन्, जिल्लामा पछिल्लो छ महिनामा सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् । मुग्लिन –पोखरा सडकखण्ड विस्तारसँगै फराकिलो सडकमा तीव्र गतिका कारण दुर्घटना बढेको हो।
गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा जिल्लामा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो । जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी दुर्घटनामा परेका छन् । मोटरसाइकल र स्कूटर बढी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए।
पृथ्वीराज मार्गअन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थानहरु हुन् । विगतमा सडकको दुरावस्थाले सवारी दुर्घटना हुने गरे पनि हाल सडक विस्तारले गर्दा झनै दुर्घटना बढाएको प्रहरीको अनुमान छ ।
दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विद्यालय, समुदायस्तरमा पुगेर सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । आव २०७९/८० मा सवारी दुर्घटनामा परी २९ जनाको मृत्यु भएको थियो ।
त्यस्तै आव २०७८/७९ मा दुर्घटनामा परी ४९ जना, २०७७/७८ मा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । त्यसैगरी आव ०७६/७७ मा ४४ र ०७५/७६ मा ६० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको जिल्ला प्रहरीको तथ्यांकमा उल्लेख छ ।