कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा पाटेबाघ मृत फेला परेको छ।
आइतबार सडेगलेको अवस्थामा भाले पाटेबाघ मृत फेला परेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरूषोत्तम वाग्लेले जानकारी दिए।
उनका अनुसार मृत भेटिएको भाले बाघ करिब १३ वर्ष उमेरको छ।
'अनुसन्धान गर्दा बाघ बुढो भएकाले प्राकृतिक कारणले मरेको पाइएको छ,' उनले भने।
यस्तै, खरमा आगो लाग्दा बाघको शरिरको आधा भाग समेत जलेको उनले बताए।
झाडीमा बाघ मृत देखेपछि वन हेरालुले मध्यवर्ती समितिलाई जानकारी गराएको थियो। समितिले निकुञ्जलाई त्यसबारे खबर गरेको सूचना अधिकारी वाग्लेको भनाइ छ।