भारी मानवीय क्षति भएपछि रूसका लागि युक्रेनी सेनाको विरूद्ध लडिरहेका उत्तर कोरियाली सैनिकहरूलाई युद्धको अग्रपंक्तिबाट हटाइएको छ।
रूसका लागि लड्न आएका करिब ११ हजार सैनिक लगभग दुई हप्तादेखि युद्धको अग्रपंक्तिमा नदेखिएको भनेर युक्रेनी र अमेरिकी अधिकारीहरूलाई उदृत गर्दै द न्यू योर्क टाइम्सले लेखेको छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रो सम्बन्ध भएका नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव प्रचारका क्रममा आफूले जिते रूस-युक्रेन युद्ध २४ घण्टाभित्रै रोकिदिने घोषणा गरेका थिए। कसरी युद्ध रोक्ने भन्ने उनले विस्तृत रूपमा नखुलाए पनि सैन्य सहायता रोक्ने धम्की दिएर युक्रेनलाई पुटिनको सर्त मान्न दबाब दिने अनुमान गरिएको थियो।
हाल जुन-जुन ठाउँमा ज-जसले कब्जा गरेको छ ती ठाउँ तत्-तत् देशको नियन्त्रणमा रहने गरी शान्ति सम्झौता गर्न ट्रम्पले प्रस्ताव गर्ने मानिन्छ।
त्यसैले शान्तिका लागि वार्तामा बस्नुअघि रूस सकेसम्म धेरै भूमि कब्जा गर्न लागिपरेको छ भने युक्रेन पनि सकेसम्म रूसलाई रोक्ने प्रयास गरिरहेको छ।
वार्तामा बस्नुअघि युक्रेन बलियो अवस्थामा होस् भनेर ट्रम्पले चुनाव जित्ने बित्तिकै तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिएका थिए।
ट्रम्पले कार्यभार सम्हाल्नुअघि युक्रेनले कब्जा गरेको रूसको कुर्स्क क्षेत्रको भूमि फिर्ता गर्न पुटिनले उत्तर कोरियाली सैनिक परिचालन गर्ने भएपछि बाइडेनले युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिएका थिए।
कुर्स्क क्षेत्रको रूसी भूमि फिर्ता गर्नका लागि युक्रेनी भूमि कब्जा गर्न लडिरहेका रूसी सेना खटाउनु नपरोस् भनेर पुटिनले उत्तर कोरियाली सेनाको मद्दत लिएका हुन्।
तर केवल तीन महिनामा आधा भन्दा बढी उत्तर कोरियाली सैनिकको मृत्यु वा घाइते भएका कारण उनीहरूलाई अग्रपंक्तिबाट हटाइएको मानिन्छ।
युक्रेनी सैनिकहरूका अनुसार उत्तर कोरियालीहरू बहादुर लडाकु भएपनि खुला र सम्म मैदानमा लड्ने अनुभव नभएको, उनीहरूको परिचालनमा अव्यवस्था र रूसी इकाइहरूसँग सहकार्यको कमीका कारण उनीहरूले धेरै क्षति बेहोर्नु परेको छ।
उनीहरूलाई मर्नका लागि रूसले बख्तरबन्द गाडीहरूको मद्दत बेगर नै ठूलो संख्यामा अग्रपंक्तिमा खटाएको थियो।
उत्तर कोरियाको विशेष दस्ताका ती लडाकूलाई नेता किम जोङ-उनले कुनै पनि हालतमा पक्राउ नपर्नु भनेर निर्देशन दिएकाले धेरै जसो सैनिकहरूले युक्रेनको कब्जामा पर्नु अघि आफूलाई मार्ने गरेको भनेर युक्रेनले दावी गर्दै आइरहेको छ।
यसरी ठूलो संख्यामा हताहत भएपछि उत्तर कोरियाली सेनालाई हाललाई अग्रपंक्तिबाट हटाइएको हुनसक्छ। तर उनीहरूलाई स्थायी रूपमा हटाइएको नहुन पनि सक्ने अमेरिकी र युक्रेनी अधिकारीहरूले बताएका छन्।
थप प्रशिक्षण दिएर वा भारी मानवीय क्षति हुन नदिने उपाय अवलम्बन गरेर रूसले फेरि उत्तर कोरियाली सेना अग्रपंक्तिमा खटाउन पनि सक्ने उनीहरूको जिकिर छ।
चुनाव प्रचारका क्रममा युक्रेनलाई दिइरहेको सैन्य सहायता रोक्ने संकेत गरे पनि चुनाव जितपछि भने ट्रम्पले सहायता दिइरहेका छन्। ट्रम्पले पहिले २४ घण्टामा युद्ध रोक्ने दावी गरे पनि पछिल्ला दिनमा उनले युक्रेनका लागि विशेष दूत चुनेका किथ केलोगले भने सय दिनसम्म लाग्न सक्ने बताउन थालेका छन्।
हाल जुन जुन ठाउँमा ज-जसले कब्जा गरेको छ, ती ठाउँ तत् तत् देशको नियन्त्रणमा रहने गरी शान्ति सम्झौता गर्न ट्रम्पले प्रस्ताव गर्ने आकलन छ।
वार्तामा बस्नुअघि बलियो अवस्थामा होस् भनेर बाइडेनले युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिएका थिए। रूसलाई थप कमजोर पार्न हरेक महिना अर्बौं डलर नोक्सान हुने गरी रूसी तेलमा लगाएको प्रतिबन्ध थप कडा बनाइएको छ।
अहिले रूसको कब्जामा रहेको भूमि त्याग्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तयार भए पनि रूसले फेरि आक्रमण नगरोस् भन्ने ग्यारेन्टी खोजिरहेका छन्। त्यसका लागि उनले युक्रेनलाई नेटोको सदस्यता दिनुपर्ने माग राखेका छन्।
तर बाइडेन जस्तै ट्रम्पले पनि युक्रेनलाई नेटो सदस्य दिन मान्ने छैनन्। कतिपय युरोपेली देश पनि त्यसको पक्षमा छैनन्।
नेटो तत्कालीन सोभियत संघ विरूद्ध खोलिएको सैनिक गठबन्धन हो। यसमा अमेरिका लगायत अरू सदस्य राष्ट्रका सैनिक र हतियार रहन्छन्। त्यस्तै नेटो सन्धिको धारा ५ अनुसार कुनै पनि सदस्यमाथि गरिएको आक्रमण सबै सदस्यमाथि गरेको मानिन्छ। अथवा नेटो सदस्यसँग सानै भए पनि कसैको भिडन्त भएमा सन्धि अनुसार अमेरिका त्यहाँ युद्ध गर्न आउन बाध्य हुन्छ।
त्यसैले रूससँग युद्ध चलिरहेका बेला युक्रेनलाई नेटो सदस्यता दिन हुँदैन भन्ने धेरै अमेरिकी अधिकारीहरूको धारणा छ। केहीले शीत युद्धकालीन जर्मनीको उदाहरण दिँदै युक्रेनलाई त्यसरी नै सदस्यता दिनुपर्छ भने पनि सम्भव देखिँदैन।
पश्चिम जर्मनी सन् १९५५ मा नेटो सदस्य बन्दा पूर्वजर्मनी तत्कालीन सोभियत संघको नियन्त्रणमा थियो। त्यस्तोमा नेटो सन्धिको धारा ५ पश्चिम जर्मनीको भूमिमा मात्रै लागू हुन्थ्यो। त्यसै अनुसार शीत युद्ध अन्त्य नहुन्जेलसम्म पश्चिम जर्मनीलाई सोभियत संघबाट जोगाइयो। सोभियत संघ धेरै कमजोर भएर विखण्डन हुने बेलामा अन्ततः पूर्व र पश्चिम जर्मनी एकीकरण भए।
युक्रेनले नेटो सदस्यता पाएन भने फ्रान्स, बेलायत लगायत युरोपेली देशका सेना युक्रेनमा शान्ति सेनाका रूपमा रहने सर्तमा रूससँगको युद्धको सुलह हुन सक्छ। रूसले आक्रमण गरे ती सेनाले प्रतिरोध गर्नेछन् भनेर युक्रेनले मान्न सक्छ। शान्ति सेनाका नाममा युरोपेली सेना युक्रेनमा रहने भएकाले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि त्यो सर्त मान्न सजिलो हुन सक्छ।
अर्को तर्फ पुटिन भने अहिले नै वार्तामा बस्न तयार देखिँदैनन्। युद्ध मैदानमा उनको हात माथि परेको छ। त्यसैले युद्ध लम्बिए रूसलाई फाइदा हुने उनले सोचेका हुन सक्छन्। ट्रम्पले युक्रेनलाई सहायता रोके पूरै देश कब्जा गर्न सकिन्छ भन्ने लोभ पनि हुन सक्छ।
त्यस्तै, पुटिन वार्तामा नबसे ट्रम्प रिसाएर युक्रेनलाई झन् शक्तिशाली हतियार दिने धम्की दिइसकेका छन्। युक्रेनलाई सहायता दिइरहन मन नभए पनि रूसले जित्यो भने आफू कमजोर देखिनेबारे ट्रम्प सचेत छन्। आफ्नो 'बलियो नेता' को छवि बिग्रिने भएकाले उनले युक्रेनलाई सहयोग दिइरहने छन्। यस्तो भए, रूसी अर्थतन्त्रको ठूलो हिस्सा युद्धमा लगाइरहेका पुटिनलाई लामो समयसम्म धानिन अप्ठ्यारो पर्नेछ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)