महोत्तरीमा धारिलो हतियार प्रहार गरेर एक महिलाको हत्या भएको छ।
गौशाला नगरपालिका-८ बेलगाछीका अभिषेक यादवका श्रीमती १९ वर्षीया खुश्बु यादवको हत्या भएको प्रहरीले जनाएको छ।
उनको धारिलो हतियार प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) सन्तुलाल जैयसवारले जानकारी दिए।
उनका अनुसार गौशाला नगरपालिका-५ स्थित विद्युत् प्राधिकरण कार्यालयको ५ सय मिटर उत्तर सपेता रोपिएको खेतमा शव फेला परेको हो।
'शनिबार राति घरबाट निस्केकी खुश्बुको शव आइतबार बिहान भेटिएको हो,'डिएसपी जैयसवारले भने, 'स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।'
प्रहरीका अनुसार गएराति खुश्बुको घरमा श्रीमानसँग विवाद भएको थियो। घटनापछि उनको श्रीमान अभिषेक भने फरार छन्। यस घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।