बुटवलको चौराहमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८६ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु ९४ प ८५९४ को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार राजमार्ग चौराह चोकमा भएको उक्त दुर्घटनामा परी बुटवल १० कालिकानगरका ७० वर्षीय धनबहादुर पुनको मृत्यु भएको हो। दिउँसो चारबजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका पुनको तत्काल उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ।
ठक्कर दिएर घटनास्थलबाट भागेका चालक नवलपरासीका पूर्णबहादुर गुरौलाई तिलोत्तमा नगरपालिका ड्राइभरटोलबाट नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। उनलाई प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएको थियो।
घटनाबारे अनुसन्धान सुरू भएको प्रहरीले बताएको छ।