चैतमा फालेको मुढा माघमा काम लाग्छ — २०५० को दशकसम्म यो आहान खुब चल्तीमा थियो।
उसै त माघे ठिही, त्यसमाथि तीन-चार दिनसम्म आँखा झिमिक्क नगरी झरी परिरहने हुँदा मुढा बालेर ज्यान तातो पार्नुपर्ने भएपछि पाकाहरूले ओठ कपकपाउँदै यो आहान रचना गरेका होलान्!
तर समय सधैं उस्तै कहाँ रह्यो र!
यस वर्ष हिउँदमा एक झर पानी परेन। मुटु कमाउने जाडो अनुभव नै भएन। काठमाडौं आसपास नङसिरी लाग्ने ठिहिरो उठ्दै उठेन।
चन्द्रागिरि, फूलचोकी, शिवपुरीबाट हेर्दा काठमाडौं बिहान १० बजेसम्म हुस्सुभित्रै गुँडुल्किइरहेको हुन्थ्यो। अब त त्यो पनि मिथजस्तो भइसकेको छ। खोला किनारबाहेक कतै पनि त्यस्तो हुस्सु देख्नै पाइँदैन।
बितेका केही वर्षदेखि हामीले ताता हिउँद अनुभव गरिरहेका छौं। यसको प्रभावले हिउँदे झरी कम हुँदै गइरहेको मात्र होइन, खडेरीकै सामना गरिरहेका छौं।
हिउँदमा एक झर पानी नपर्दा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छैन। हिमालहरू काला चट्टान देखिन थालेका छन्।
मंसिर १६ देखि फागुन १६ सम्मको अवधिलाई हिउँद मानिन्छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी विश्लेषण शाखाअनुसार यो अवधिमा सरदर ६०.१ मिलिमिटर वर्षा हुन्छ। यसपालि भने मंसिर १६ देखि माघ १५ सम्म ५.५ मिलिमिटर मात्र वर्षा भयो।
गत वर्ष हिउँदमा १०.६ मिलिमिटर वर्षा भएको थियो। त्यसअघि २०७९ सालमा १२.९ मिलिमिटर वर्षा भएको हावापानी विश्लेषण शाखाको तथ्यांक छ।
यी तथ्यांकले हिउँदे झरी बर्सेनि घट्दै गइरहेको देखाउँछ। पछिल्ला केही वर्षमध्ये २०७८ सालमा मात्र औसतभन्दा बढी वर्षा भएको तथ्यांक छ। त्यस वर्ष हिउँदमा ७४.८ मिलिमिटर पानी परेको थियो।
त्यसो त अहिलेको हिउँदमा पनि पर्याप्त मात्रामा पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिएको थियो। यो पानी पार्ने मौसमी प्रणाली हो। तर उक्त प्रणालीले उल्लेख्य वर्षा गराउन नसकेको मौसमविद् विनोद पोखरेल बताउँछन्।
नेपाल छिरेको पश्चिमी न्यूनचापीय प्रणालीले पश्चिम नेपालका केही स्थानमा छिटपुट वर्षा गराए पनि त्यो प्रणाली मध्य नेपालसम्म आइपुग्दा शिथिल भइसक्ने अवस्था देखिएको उनको भनाइ छ।
'हिउँदमा पानी पार्ने मौसमी प्रणाली पश्चिमबाट पूर्वी नेपालतिर फैलिँदै जानुपर्नेमा तिब्बतको पठारतिर धकेलियो,' पोखरेलले भने, 'भूमध्य सागर क्षेत्रमा सुख्खापन बढेकाले त्यहाँबाट विकास भएर आउने पानी पार्ने प्रणालीमा पनि जलवाष्पको मात्रा कमजोर रह्यो। यसले हामीकहाँ हिउँदे झरी हुन पाएन।'
जलवायु तथा विपद व्यवस्थापनविद् धर्मराज उप्रेती भूमध्य सागरको तापक्रम औसतभन्दा कम रहेकाले त्यहाँबाट उच्च जलवाष्पयुक्त वायुसहितको पानी पार्ने प्रणाली बन्न नसकेको बताउँछन्।
भूमध्य सागरमा बन्ने पश्चिमी न्यूनचापीय प्रणाली इरान, अफगानिस्तान, पाकिस्तान, उत्तरपश्चिम भारत हुँदै नेपाल प्रवेश गर्छ। भूमध्य सागरमै कमजोर रूपमा बनेको प्रणाली अफगानिस्तान हुँदै पाकिस्तान आइपुग्दा-नपुग्दै क्षीण भइसक्ने अवस्था देखिएको उप्रेतीको भनाइ छ।
सामान्यतः मौसम दुई चक्रिय प्रणालीअन्तर्गत चल्छ। प्रशान्त महासागरमा एसियातिर र अमेरिकातिर दुई त्यस्ता ठाउँ छन् जहाँको पानी चिसो र तातो हुँदा विश्वको मौसम प्रणालीमै असर पर्छ। त्यसलाई एलनिनो र लानिना प्रणाली भनिन्छ।
केही समय अघिसम्म एलनिनो प्रणालीको प्रभाव थियो। एलनिनो प्रणालीमा समुद्री सतह तातो हुँदा पर्याप्त मात्रामा जलवाष्प बन्छ र मनग्गे वर्षा हुन्छ। तर अहिलेको मौसमी प्रणाली लानिनाउन्मुख छ। लानिना प्रणालीमा समुद्री सतहको तापक्रम औसतभन्दा कम हुन्छ।
'अहिले लानिनाउन्मुख मौसमी प्रणाली छ। एलनिनो प्रणालीमा पर्याप्त वाष्पीकरण हुने र वर्षा गराउने प्रणाली शक्तिशाली हुन्छ,' उनले भने, 'लानिनामा समुद्री सतहको पानी चिसो हुँदा वाष्पीकरण हुन पाउँदैन। वर्षा गराउने प्रणाली कमजोर हुन्छ। अहिले हिउँद याममा पानी नपर्नुको कारण यही हो।'
हिउँद याममा मनग्गे वर्षा नहुँदा वन, वनस्पति, ऊर्जा र जलाधारमा ठूलो असर पर्ने उप्रेती बताउँछन्।
यसको एउटा असर माघ लाग्नेबित्तिकै बढ्न थालेको डढेलो हो। केही दिनअघि काभ्रेपलाञ्चोकको महाभारत लेकमा लागेको डढेलो नियन्त्रणमा आउन झन्डै एक साता लाग्यो। हिउँदे वर्षा भएको भए आगो त्यसरी फैलिन पाउँदैनथ्यो।
'वन क्षेत्रभित्र महत्त्वपूर्ण जटिबुटी छन्, तिनलाई पानी चाहिन्छ। हिमाली क्षेत्रमा हिउँभित्र पाइने अनगिन्ती जुडिबुटी छन्। ती जटिबुटीका लागि हिउँ पर्नु अनिवार्य छ। त्यसबाहेक हिउँद याममा सुख्खा लाग्नेबित्तिकै हाम्रो जलाधार नै धराशायी हुन्छ,' उप्रेतीले भने, 'कुलेखानीको जलाशय घट्न थालेपछि त्यहाँबाट उत्पादन हुने बिजुली पनि घट्छ। बगिरहेका नदीमा आधारित जलविद्युत परियोजनामा असर पुग्छ।'
हिउँद याममा पानी नपर्दा हिउँदे बालीनालीमा पनि असर परेको छ। यसले कृषि उत्पादनमा गिरावट ल्याउने छ।
हिमाली र मध्यपहाडी क्षेत्रका अधिकांश खेतबारी हिउँदे वर्षामा निर्भर छन्। गहुँ, जौ, फापर, दलहन र तेलहन बालीनालीका लागि हिउँदे वर्षा अमृत सरह मानिन्छ। तर एक झर पानी नपरेकाले कुल गार्हस्थ्य उत्पादनमै असर पुग्ने कृषिविद्हरूको आकलन छ।
'जिडिपीमा कृषि क्षेत्रको २४ प्रतिशतमध्ये कम्तिमा पाँच प्रतिशत हिउँदे बालीको हिस्सा देखिन्छ। हिउँदमा पानी नपर्दा उत्पादन आधा घट्छ। यो भनेको २० अर्बभन्दा बढीको नोक्सान हो,' कृषिविद् केशव आचार्यले भने।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्वसचिव सुरज पोखरेल पनि हिउँदे वर्षा नहुँदा यो सिजनको उत्पादन ३५ प्रतिशतसम्म घट्ने बताउँछन्।