प्यूठानमा एक जना ६८ वर्षीय पुरूषको हत्या भएको छ।
जिल्लाको गौमुखी गाउँपालिका–५ का ६८ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले सेतोपाटीलाई बताए।
उपाध्यायको अनुहारमा गहिरो घाउ खत देखिएको हुँदा उनीमाथि घरेलु हतियार प्रहार भएको हुन सक्ने डिएसपी बस्यालले बताए।
उपाध्यक्षको शव शुक्रबार बिहान ९ बजेतिर खुमबाट नारीकोट जाने कवलपति वनको भित्री बाटोमा शव फेला परेको थियो। उपाध्याय सामान्य खेती किसानी गर्ने व्यक्ति थिए।
उनको हत्याको आशंकामा सोधपुछका लागि तीन चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
‘हामी हत्यामा संलग्न व्यक्तिको नजिक पुगेका छौं,’ डिएसपी बस्यालले भने, ‘हत्या आरोपी उम्कन सक्ने अवस्था छैन।’
घटनास्थल जिल्ला प्रहरी कार्यालय खलंगाबाट ४६ किलोमिटर टाढा पर्छ।