पाठेघरको मुखको क्यान्सर के हो भनेर बुझ्नको लागि सुरूमा क्यान्सर भनेको के हो भनेर बुझ्न जरूरी छ।
हाम्रो शरीरमा भएका कोषिकाहरूको विभाजन अनियन्त्रित या असाधारण तरिकाले भयो भने नयाँ गाँठा गिर्खाहरू देखिन्छ। त्यसलाई हामीले क्यान्सर भन्छौं।
यदि पाठेघरको मुखको कोषिकाहरू अनियन्त्रित भएर विभाजन हुन लाग्यो र अन्य ठाउँमा गएर फैलिन थाल्यो भने यसलाई हामी पाठेघरको मुखको क्यान्सर भन्छौं।
कुनै पनि रोग लाग्नुभन्दा पहिला लक्षणहरू देखिन्छन्। त्यस्तै गरेर पाठेघरको मुखको क्यान्सर हुनुभन्दा पहिला या हुने बेलामा केही न केही लक्षणहरू देखिन्छन्। उदाहरणको लागि पाठेघरको मुखको वरिपरि अथवा पिसाब गर्ने ठाउँमा सेतो पानी बग्ने, रगत आउने, सानो घाउहरू हुने हुन्छ। अनि ती घाउहरू सामान्य उपचार गर्दा निको नहुने, त्यो वरिवरि सुन्निने अनि हामीले नचाहँदा नचाहँदै तौल घट्ने हुन्छ। त्यस्तै पिसाबको संक्रमण भइरहने लगायतका लक्षणहरू लामो समयसम्म देखियो भने पाठेघरको मुखको क्यान्सर भयो कि भनेर शंका गर्न जरूरी देखिन्छ।
पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक तत्व भनेको नै एक किसिमको भाइरसको संक्रमण हो। जसलाई हामीले ह्युमन प्यापलोमा भाइरस (एचपिभी) भन्छौं।
एचपिभी भाइरसको संक्रमण असुरक्षित यौन सम्पर्कबाट हुन्छ। त्यो बाहेक सानै उमेरमा विवाह गर्ने, पिसाब फेर्ने ठाउँमा सरसफाइको कमी, महिनावारी भइसकेपछि पनि सरसफाइमा ध्यान नदिने लगायतले संक्रमण हुन्छ। अर्को भनेको धेरै धुम्रपान गर्ने महिलाहरूलाई पनि पाठेघरको मुखको क्यान्सर देखिन सक्छ। मुख्य कारण भनेको ह्युमन प्यापलोमा भाइरस नै हो।
एक जना महिलाले धेरै पुरूष र एक पुरूषले धेरै महिलासँग शारीरिक सम्पर्क गर्ने, असुरक्षित यौन सम्पर्क, सरसफाइमा ध्यान नदिँदा पाठेघरको मुखको क्यान्सरको जोखिम हुने हो।
पाठेघरको मुखको क्यान्सरको उपचारभन्दा पहिला यसको रोकथाम कसरी गर्ने भनेर बुझ्न जरूरी छ। अर्को समयमा कसरी पहिचान गर्ने भन्ने हो। त्यसपछि उपचारको पाटो आउँछ। त्यस्तै अलि गम्भीर अवस्थामा कसरी उपचार गर्ने भन्ने हो।
एचपिभी भाइरसको संक्रमणबाट जोगिन भ्याक्सिन लगाउन सकिन्छ। सरकारले पनि माघ २२ गतेदेखि १० वर्षदेखि १४ वर्षमसम्मका नानीलाई लगाउने भनेर निर्णय गरिसकेको छ। त्यस्तै २१ वर्षदेखि ६५ वर्षका उमेरका महिलाले पाठेघरको मुखको पानीको परीक्षण गर्नुपर्छ। यो तीन वर्षमा एक पटक गर्न सकिन्छ।
दुर्गम क्षेत्रमा रहेका महिलाहरूको लागि भिआइए परीक्षण उपयुक्त हुन्छ। यो परीक्षणबाट कुनै शंका लागेमा थप परीक्षण गर्न सकिन्छ।
पाठेघरको मुखको क्यान्सर भइसकेपछि रोगको चरण अनुसार उपचार हुन्छ। त्यसका लागि औषधि,अपरेसन, किमो, रेडियसन लगायतका उपचार गर्न सकिन्छ। यी सबै उपचार सुविधा नेपालमा उपलब्ध छन्।
पाठेघरको मुखको क्यान्सर भएको थाहा पाउनसाथ यसको उपचारका लागि अस्पताल जान ढिलो गर्नु हुँदैन। सुरूआती स्टेजमा थाहा पाएमा पूर्ण रूपमा निको पार्न सकिन्छ भने अन्तिम स्टेजमा छ भने पनि क्यान्सरको फैलावट रोक्न सकिन्छ।
पाठेघरको मुखको क्यान्सरबाट निको भएका धेरै उदाहरण छन्। त्यसैले रोग लाग्दैमा अब सक्कियो भनेर सोच्न हुँदैन। यसो भन्दै गर्दा सुरूवाती चरणमै सचेतता भने अपनाउनै पर्छ।
पाठेघरको मुखको क्यान्सरबाट जोगिने केही उपाय छन्।
पहिलो-हामीले हाम्रो यौनाङ्गको सरसफाइमा ध्यान दिनुपर्छ।
दोस्रो-सानै उमेरमा बिहे गर्नु हुँदैन। २० वर्षपछि बिहे गर्ने भन्नुको वैज्ञानिक कारण पनि छ। १८-२० वर्षपछि मात्रै यौन क्रियाकलापका लागि अंगहरू परिपक्व भएका हुन्छन्, त्यसैले यस्तो भनिएको हो।
तेस्रो-धूमपान नगर्ने। धूमपान गर्ने महिलालाई पाठेघरको मुखको क्यान्सरको जोखिम भएको अध्ययनहरूले देखाइसकेका छन्।
चौथो-९ वर्षदेखि २६ वर्षका महिलाले एचपिभी खोप लगाउनुपर्छ। यसका लागि धेरै सोच्ने होइन। अहिले १० देखि १४ का किशोरीलाई सरकारले खोप दिने भएको छ। आफ्ना छोरीहरूलाई यो खोप लगाउनका लागि म सबै अभिभावकलाई हार्दिक अनुरोध गर्दछु। अब सरकारले ९ देखि २६ वर्षकै उमेर समूहलाई एचपिभी खोप दिनुपर्छ। यसका लागि म सरकारसँग अनुरोध गर्न चाहन्छु। विस्तारै यो खोप पुरूषलाई समेत दिनुपर्छ।
पाँचौं-कुनै पनि कारणले खोप लगाउन सकिएन भने प्रत्येक तीन वर्षमा पाठेघरको पानीको परीक्षण गर्नुपर्छ। यस्तो गर्न सकियो भने एचपिभी भाइरसको जोखिमबाट बच्न सकिन्छ। जसले गर्दा पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ।
(क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाही पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नर्भिक अस्पतालमा कार्यरत छन्।)