प्रहरीले संगठित रूपमा क्रिप्टो करेन्सीको कारोबार गर्ने र ठगी गर्ने समूहका सात जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यसमा संलग्न सात जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सुधिरराज शाहीले जानकारी दिए।
प्रहरीले एक जना मास्टर एजेन्टलाई पनि पक्राउ गरेको छ। कैलाली बर्दगोरिया गाउँपालिका-६ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८ गैरीगाउँ बस्ने २२ वर्षीय माइकल डंगौरालाई पक्राउ गरेको हो। उनी मास्टर एजेन्ट रहेको एसपी शाहीले बताए।
त्यस्तै, बर्दगोरियाकै २६ वर्षीय अनिल विश्वकर्मा, बूढानीलकण्ठ बस्ने २१ वर्षीय पियुष श्रेष्ठ, कागेश्वरी मनोहरा बस्ने १९ वर्षीय आश्विन चौलागाईं, बानेश्वर बस्ने २२ वर्षीय सत्यमकुमार सहनी, भारत घर भई काठमाडौं बस्ने २७ वर्षीय रोशन कुमार र भारतकै ३६ वर्षीय मुन्ना कुमार पक्राउ परेका हुन्।
उनीहरूले नेपालमा संगठित रूपमै क्रिप्टोको कारोबार र अनलाइन ठगी सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूबाट दुई वटा सुपर कम्प्युटर, १३ वटा मोबाइल फोन, १९ वटा चेक र साढे ५ लाख नगद बरामद गरेको छ।
उनीहरूले बैंक तथा वालेटहरूको आधिकारिक व्यक्ति भनेर ओटिपी/पिन मागेर अनधिकृत रूपमा पहुँच पुर्याउँथे।
ह्वाट्स एप, टेलिग्राम, फेसबुकहरूमा अनलाइन जब, घरैमा बसेर धेरै रकम कमाउन सकिने, अनलाइन जुवा आदिको आकर्षक विज्ञापन राखेर लिंक पठाउने गरेका थिए। त्यसरी साइबर फिसिङ गरी बैंक तथा वालेटमा समेत पहुँच पुर्याएर रकम अन्यत्र खातामा पठाउने गरेको एसपी शाहीले बताए।
त्यसरी निकालिएको रकमलाई थोरै समयमा नै विभिन्न बैंक तथा डिजिटल वालेटमा ट्रान्सफर गर्ने गर्थे। कतिपयलाई त कामकै प्रलोभनमा पारेर उनीहरूको नागरिकता, फोन नम्बर लगायतको प्रयोग गरी डिजिटल वालेट खोलेको समेत भेटिएको छ। त्यसरी खाता बनाएर रकम दिइएको पनि अनुसन्धानमा देखिएको छ।
विभिन्न प्रकारबाट ठगी गरी प्राप्त भएको रकमलाई क्रिप्टोकरेन्सी खरिद गर्ने र हुण्डी कारोबार गर्ने गरेको एसपी शाहीले बताए।
विदेशबाट आफन्तलाई बैंकिङ माध्यमबाट रकम पठाउँदा कर लाग्ने हुँदा कर शुल्क तिर्नु नपर्ने प्रलोभनमा आपराधिक समूहबाटै रकम पठाउने गरेको पनि भेटिएको एसपी शाही बताउँछन्।
सिआइबीले गरेको डिजिटल फरेन्सिक रिपोर्टमा मात्रै यो समूहले यसरी तीन अर्बभन्दा बढी ठगी गरेको देखिएको हो।
सिआइबीले यस समूहमाथि थप अनुसन्धान अघि बढाएको छ।