क्यान्सर भन्ने रोग अलि जटिल किसिमकै हुने भएकाले क्यान्सर उत्पन्न भएको मुख्य ठाउँ र त्यो फैलिन सक्ने ठाउँलाई नियन्त्रण गर्नुपर्ने हुन्छ।
क्यान्सर उत्पन्न गराउने विभिन्न कोषहरू हुन्छन्। त्यसकै नियन्त्रणका लागि उपचार गर्नुपर्छ। क्यान्सरको उपचारको लागि एउटा मात्रै उपचार हुँदैन। क्यान्सरको कुन चरण छ, त्यसकै आधारमा उपचार हुन्छ।
धेरै क्यान्सरको हकमा जहाँ उत्पन्न भएको हो, त्यो ठाउँमा निर्मूल गर्नुपर्ने हुन्छ। त्यस्तै अन्यत्र फैलिएको अवस्थामा त्यसलाई पनि नियन्त्रण गर्नुपर्ने हुन्छ। जस्तो, स्तनमा क्यान्सर छ भने त्यही नियन्त्रण गर्नुपर्छ। त्यसपछि त्यो काखीतिर अन्त पनि फैलिएको छ भने त्यहाँ समेत नियन्त्रण गर्नुपर्छ।
क्यान्सरको उपचारलाई हामीले एउटा 'लोकल रिजनल ट्रिटमेन्ट' पनि भन्छौं। अर्थात् जहाँ उपचार गर्नुपर्ने हुन्छ, त्यहाँ केन्द्रित हुनुपर्छ। त्यसको लागि कि अपरेसन कि रेडियसन लगायतका उपचार पद्धति अपनाउनु पर्छ।
अर्को 'सिस्टमिक ट्रिटमेन्ट' हुन्छ। यो भनेको शरीरभरी गरिने उपचार हो। त्यसमा किमोथेरापी, इम्युनो थेरापी या टार्गेट थेरापी हुन्छन्। क्यान्सरको उपचारमा मुख्यगरी तीन किसिमका विधिहरू हुन्छन्। कुनै ठाउँमा मासुको डल्ला परेको छ भने त्यसलाई अपरेसन गरेर निकाल्ने या रेडियसन गरेर सुकाउने भन्ने हुन्छ। अथवा अपरेसन गरेर पनि पूर्ण रूपमा निकाल्न सकिएको छैन भने त्यसलाई रेडियसन गरेर थप उपचार गर्नुपर्छ।
अपरेसन अगाडि, पछाडि या सँगसँगै रेडियसन गर्न सकिन्छ। ब्लड क्यान्सर बाहेकका सबै क्यान्सरमा रेडियसनको प्रयोग हुन्छ। अर्थात् टाउकोदेखि खुट्टासम्मको क्यान्सर उपचारमा रेडियसन गरिन्छ। रेडियसन प्रविधि महिलाको पाठेघरको मुखको क्यान्सर, पुरूषको हकमा मुख, जिब्रो, घाँटीका क्यान्सरहरू अनि फोक्सोको क्यान्सर, ठूलो आन्द्राको क्यान्सरमा रेडियसनको प्रयोग हुन्छ। कतिपय अवस्थामा यो मात्रै उपचारको विकल्प समेत बनेको हुन्छ। यसले नै क्यान्सर निको पार्न मिल्नेगरी प्रयोग हुन्छ भने कतिपय ठाउँमा यसलाई अरू थप उपचारको लागि प्रयोग गरिन्छ।
रेडियसनको प्रयोग क्यान्सरको जुनसुकै चरणमा गर्न सकिन्छ। कुन तरिकाले उपचार गर्ने भन्ने कुरा क्यान्सर निको हुने अवस्थामा छ कि छैन भन्नेमा भर पर्छ। किमोले मात्र धेरै क्यान्सर निको नहुने भएकाले मुख्य ठाउँमा विशेष उपचार गर्नुपर्ने हुन्छ। त्यसैले रेडियसन थेरापी पहिलो चरणदेखि अन्तिम चरणसम्म प्रयोग गर्न सकिन्छ।
रेडियसनबारे बिरामीमा गलत बुझाइ समेत छ। बिरामीले यसलाई सेक्ने भन्छन्। यो भन्नु उचित छैन। यो विकिरणले गर्ने उपचार पद्धति हो। यो सेवा भक्तपुर अस्पतालमा धेरै लामो समयदेखि उपलब्ध छ। यसका लागि हामीसँग तीन वटा मेसिन छन्। बिरामीको चाप अनुसार हामीसँग मेसिनको अभाव छ। यहाँ अन्यत्रबाट समेत बिरामी रिफर भएर आउँछन्। हामीसँग कम्तीमा ५ वटा मेसिन चाहिन्छ। तर हामीसँग ३ वटा मात्र छ।
सेकाइ भन्नाले कतिपयले घरमै बसेर तातोले सेकाइरहेको समेत उदाहरण छन्। या विभिन्न खाले वैकल्पिक सेकाइका विधिहरू पनि गरिरहेका छन्। इँटा तताएर तातोपानीले सेक्ने गर्दा रोगलाई झन् बिगारेर आउने हुन्छ।हामीले राम्रोसँग बुझाउन नसकेको पनि हुनसक्छ या कतिपयले बुझ्न नचाहेका हुन्छन्। जसले गर्दा कतिले अस्पताल नआएरै रोग बिगारेका हुन्छन्। त्यसैले मेडिकल ट्रिटमेन्टको भाषा उचित तरिकाले बुझाउनु पर्छ। रेडियसन थेरापीलाई यही शब्द प्रयोग गर्नुपर्छ। बिरामीले यसलाई सेकाइ भनेर बुझ्दा धेरै समस्या आउन सक्छ। जबकि यो उपचार पद्धतिमा तातो चिसो या कुनै चिर्ने भन्ने हुँदैन। यसमा अदृश्य विकिरणले नियन्त्रण गर्ने हो। अनि यसको सहज उपलब्धता नभएकाले उपचार हुनसक्ने रोगको समेत उपचार भएको छैन।
भक्तपुर अस्पतालमा क्यान्सरका बिरामीको सुरूआती समस्या पत्ता लगाउनेदेखि अन्त्यसम्मका सबै सेवा छन्। ब्लड क्यान्सरका केही बाहेक सबै उपचार हुन्छन्। यहाँ सरकारको सहुलियत सेवा सबै उपलब्ध छन्। पेटको क्यान लगायतका सुविधा हामीले अझै सुरू गर्न सकेका छैनौं। विशेषज्ञ जनशक्ति अझै जरूरी छ। ब्रोनम्यारो ट्रान्सप्लानटेसनको उपचार सुरू गर्न पाएका छैनौं। रेडियसन थेरापीको समेत मेसिनहरू थप्नुपर्ने छ।
(क्यान्सरको उपचारमा प्रयोग हुने रेडियसन थेरापीबारे भक्तपुर क्यान्सर अस्पतालका कायममुकायम कार्यकारी निर्देशक एवम् वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.उज्वल चालिसेसँग हामीले भिडिओ कुराकानी गरेका छौं।)